Monday, April 20, 2026
Homeमनोरन्जनपहाड’बाट पञ्चमी घिमिरेको डेब्यु: विरासत, संघर्ष र आत्मविश्वासको कथा

पहाड’बाट पञ्चमी घिमिरेको डेब्यु: विरासत, संघर्ष र आत्मविश्वासको कथा

काठमाडौं । नेपाली फिल्म क्षेत्रमा ‘स्टार किड्स’को लहरबीच पञ्चमी घिमिरेले फिल्म ‘पहाड’बाट रजतपटमा डेब्यु गरेकी छन्। वरिष्ठ निर्देशक तुलसी घिमिरेकी कान्छी छोरी पञ्चमीले नयाँ वर्षको अवसरमा वैशाख १ गतेदेखि प्रदर्शनमा आएको यस फिल्ममार्फत दर्शकमाझ आफ्नो उपस्थिति जनाएकी हुन्।

फिल्मलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। हल–हल पुगेर प्रतिक्रिया बुझिरहेकी पञ्चमी दर्शकको माया र प्रशंसाबाट उत्साहित देखिन्छिन्। उनका अनुसार दर्शकले फिल्मको भावनात्मक गहिराइलाई विशेष रूपमा रुचाएका छन्, यद्यपि प्रचार–प्रसार कम भएकाले धेरैले पछि मात्र फिल्मबारे थाहा पाएको गुनासो पनि गरेका छन्।

फिल्म रिलिजअघि भने उनीमा उत्साहभन्दा बढी डर थियो। दर्शकले आफ्नो अभिनयलाई कसरी लिने भन्ने चिन्ता भए पनि अहिले सकारात्मक प्रतिक्रियाले उनको आत्मविश्वास बढाएको छ।

सानैदेखि अभिनयप्रति रुचि भए पनि पारिवारिक अवस्था र फिल्म क्षेत्रको अनिश्चितताका कारण उनले सुरुमा यो क्षेत्रमा प्रवेश गर्ने निर्णय गरेकी थिइनन्। कक्षा ११–१२ मा विज्ञान पढेकी पञ्चमी डाक्टर बन्ने लक्ष्यमा थिइन्। तर पछि परिवारकै साथ र प्रोत्साहनमा मुम्बई गएर आमसञ्चार अध्ययन गरेपछि अभिनयतर्फ फर्किने निर्णय लिइन्।

‘पहाड’भन्दा अघि पनि केही प्रस्ताव आए पनि आत्मविश्वासको कमीका कारण उनले स्वीकार गरेकी थिइनन्। मुम्बईको अनुभवले भने उनलाई आत्मविश्वासी बनायो। फिल्ममा उनले ‘तारा’ नामक निर्भीक पात्र निभाएकी छन्, जसका लागि भाषा, लवज र अभिनयमा विशेष मेहनत गरेको उनले बताइन्।

फिल्ममा उनले निर्देशक बाबु तुलसी घिमिरेसँगै अभिनेता विपिन कार्कीसँग काम गर्ने अवसर पाएकी छन्। विपिनको कार्यशैली र समर्पणबाट आफूले धेरै सिकेको पञ्चमी बताउँछिन्।

आगामी दिनमा पनि अभिनयलाई निरन्तरता दिने योजना रहेको उनले स्पष्ट पारिन्। नेपाली फिल्मप्रति परिवारको गहिरो लगावका कारण यही क्षेत्रमा केही गर्ने उद्देश्यसहित आफू अघि बढिरहेको उनको भनाइ छ।

नेपोटिज्मको बहसबारे बोल्दै पञ्चमीले आफूले अवसरसँगै ठूलो जिम्मेवारी पनि बोकेको बताइन्। दर्शकको अपेक्षा उच्च हुने भएकाले आफूले अझ धेरै मेहनत गर्नुपर्ने उनको धारणा छ। उनले यो अवसरलाई आशीर्वादका रूपमा लिँदै दर्शकको विश्वास जित्ने लक्ष्य राखेकी छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका