काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण, नवीकरण तथा नयाँ सदस्यताको विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्ने म्याद आगामी साउन ३ गतेसम्म थप गरेको छ।
पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा आइतबार ललितपुरस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले सदस्यतासम्बन्धी सम्पूर्ण प्रक्रिया सम्पन्न गर्न थप समय दिने निर्णय गरेको हो।
यसअघि सदस्यता विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्ने अन्तिम म्याद असार २० गतेसम्म तोकिएको थियो। तर वर्षायामका कारण वडा, पालिका र क्षेत्रीय तहमा सदस्यता वितरण तथा नवीकरणको काम प्रभावित भएको र सदस्यता विस्तार अभियान अझै जारी रहेकाले केन्द्रीय प्रतिनिधिहरूको सुझावका आधारमा म्याद थपिएको पार्टीले जनाएको छ।
बैठकले सदस्यता वितरण वा अद्यावधिकका क्रममा कुनै विवाद वा समस्या उत्पन्न भए सम्बन्धित जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले सदस्यता व्यवस्थापन केन्द्रीय समितिमा सिफारिस गर्न सक्ने व्यवस्था पनि गरेको छ।
उक्त सिफारिसका आधारमा समितिले आवश्यक छानबिन गरी सदस्यता अद्यावधिक तथा विवाद समाधानका लागि आवश्यक निर्णय गर्ने कांग्रेसले जनाएको छ।


