Sunday, July 5, 2026
Homeसामाचारसाउन १ देखि काठमाडौंमा महिलाका लागि निःशुल्क ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने...

साउन १ देखि काठमाडौंमा महिलाका लागि निःशुल्क ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौं । महिलाको सुरक्षित र सहज सार्वजनिक यातायात पहुँच सुनिश्चित गर्ने उद्देश्यले सरकारले आगामी साउन १ गतेदेखि काठमाडौं उपत्यकामा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी गरेको छ।

सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची अन्तर्गत महिलाका लागि निःशुल्क सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने योजनाअनुसार पहिलो चरणमा काठमाडौं उपत्यकाबाट यो सेवा सुरु गर्न लागिएको हो।

पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलका अनुसार पहिलो चरणमा २५ वटा ‘ब्लू बस’ सञ्चालन गर्ने लक्ष्य राखिएको छ। प्रारम्भिक रूपमा आठ वटा बस सञ्चालनमा ल्याइने तयारी भइरहेको छ।

सेवा सञ्चालनका लागि साझा यातायातले आवश्यक राय, परामर्श तथा वित्तीय सहमतिका लागि अर्थ मन्त्रालयसँग समन्वय गरिसकेको छ। मन्त्रालयबाट अन्तिम बजेट स्वीकृति प्राप्त हुनासाथ साउन १ गतेदेखि बस सञ्चालन गरिने जनाइएको छ।

सरकारका अनुसार सार्वजनिक सवारीसाधनमा महिलामाथि हुने दुर्व्यवहार न्यूनीकरण गर्दै सुरक्षित, मर्यादित र सहज यात्रा सुनिश्चित गर्न ‘ब्लू बस’ अवधारणा ल्याइएको हो।

पहिलो चरणमा यात्रुको चाप बढी हुने प्रमुख रुटमा बस सञ्चालन गरिनेछ। लगनखेल–बुढानीलकण्ठ रुटमा दुई वटा, थानकोट–नागढुंगा–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रुटमा दुई वटा तथा चक्रपथ (रिङरोड) क्षेत्रमा चार वटा बस सञ्चालन गरिनेछ। रिङरोडमा दुई वटा बस घडीको दिशामा (क्लकवाइज) र दुई वटा विपरीत दिशामा (एन्टिक्लकवाइज) सञ्चालन हुनेछन्।

यो सेवा पूर्ण रूपमा निःशुल्क हुने भएकाले विशेषगरी कामकाजी महिला, विद्यार्थी तथा दैनिक रूपमा सार्वजनिक यातायात प्रयोग गर्ने महिलाले प्रत्यक्ष लाभ लिन सक्ने सरकारको अपेक्षा छ।

सरकारले काठमाडौं उपत्यकामा सेवाको प्रभावकारिता मूल्यांकन गरेपछि क्रमशः देशका अन्य प्रमुख सहर तथा सातै प्रदेशका प्रादेशिक केन्द्रमा पनि ‘ब्लू बस’ सेवा विस्तार गर्ने योजना बनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका