काठमाडौं । चीनमा श्रीमानको ज्यान बचाउने प्रयास गर्दा एक महिला आफैं गम्भीर बिरामी परेको हृदयविदारक घटना सार्वजनिक भएको छ। विषालु कोब्रा सर्पले टोकेका श्रीमानको शरीरबाट विष निकाल्न मुखले चुस्ने प्रयास गरेपछि उनी आफैं विषको असरबाट अचेत भई आइसीयूमा भर्ना भएकी छन्।
चिनियाँ सञ्चारमाध्यमका अनुसार यो घटना चीनको एक ग्रामीण क्षेत्रमा भएको हो। घरायसी कामका क्रममा श्रीमानलाई अत्यन्त विषालु कोब्रा सर्पले हातमा टोकेको थियो। अवस्था बिग्रिन थालेपछि आत्तिएकी श्रीमतीले घरेलु उपाय अपनाउँदै घाउबाट विष मुखले चुस्दै बाहिर थुक्न थालेकी थिइन्।
तर चिकित्सकका अनुसार मुखभित्र स-साना घाउ, गिजाबाट रगत बग्ने समस्या वा मुखको श्लेष्मा झिल्लीमार्फत सर्पको विष सजिलै शरीरभित्र प्रवेश गर्न सक्छ। यही कारण विष चुस्ने क्रममा कोब्राको न्युरोटोक्सिक विष महिलाको शरीरमा फैलिएको थियो।
केही मिनेटमै उनी बेहोस भइन् र सास फेर्नसमेत कठिन हुन थालेपछि छिमेकीहरूले दुवैलाई तत्काल अस्पताल पुर्याएका थिए।
अस्पतालका चिकित्सकका अनुसार समयमै एन्टि–भेनम (सर्पदंशविरुद्धको औषधि) दिइएकाले श्रीमानको ज्यान जोगिएको छ। तर श्रीमतीको अवस्था अझै पनि गम्भीर रहेकाले उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ।
यस घटनापछि चिकित्सकहरूले सर्पले टोकेपछि मुखले विष चुस्ने वा घरेलु उपचार गर्ने प्रयास नगर्न आग्रह गरेका छन्। उनीहरूका अनुसार यस्तो उपाय वैज्ञानिक रूपमा प्रभावकारी छैन, बरु विष चुस्ने व्यक्तिको ज्यानसमेत जोखिममा पर्न सक्छ।
सर्पले टोकेको अवस्थामा प्रभावित अंगलाई सकेसम्म स्थिर राखी बिरामीलाई तत्काल नजिकको स्वास्थ्य संस्थामा पुर्याएर एन्टि–भेनम उपचार गराउनु नै सबैभन्दा सुरक्षित र प्रभावकारी उपाय भएको चिकित्सकहरूको सुझाव छ।


