अमेरिका । प्रशान्त महासागरमा विकसित भएको शक्तिशाली ‘बावी’ आँधीका कारण अमेरिकी भूभाग गुआम र उत्तरी मारियाना टापुहरूमा उच्च सतर्कता अपनाइएको छ। अत्यन्त खतरनाक मानिएको आँधीको जोखिमबाट बच्न स्थानीय बासिन्दा आइतबारदेखि नै आपतकालीन उद्धार केन्द्रहरूमा जान थालेका छन्।
मौसमविद्हरूका अनुसार ‘बावी’ आँधी सोमबार बिहान स्थानीय समयअनुसार करिब १० बजे गुआम र उत्तरी मारियाना क्षेत्र नजिकबाट पश्चिमतर्फ अघि बढ्ने अनुमान गरिएको छ। आँधीको अधिकतम हावाको गति प्रतिघण्टा २६० किलोमिटर पुग्न सक्ने बताइएको छ, जुन पाँचौँ श्रेणीको शक्तिशाली हुरिकेनसरह मानिन्छ।
अमेरिकी राष्ट्रिय मौसम सेवा (NWS) ले आँधीलाई ‘अत्यन्त खतरनाक’ श्रेणीमा राख्दै विनाशकारी हावाहुरी, मुसलधारे वर्षा, बाढी तथा तटीय क्षेत्रमा ठूलो क्षति हुन सक्ने चेतावनी दिएको छ।
पूर्वानुमानअनुसार समुद्रमा ३५ फिट (करिब १०.७ मिटर) सम्म अग्ला छाल उठ्न सक्ने भएकाले तटीय क्षेत्र अत्यधिक जोखिममा रहनेछन्। भारी वर्षासँगै डुबान र बाढीको खतरा पनि उच्च रहेको जनाइएको छ।
आँधीको प्रभाव सुरु भएसँगै गुआममा भारी वर्षा र तीव्र हावा चल्न थालेको छ। सडकमा सवारीसाधनको चहलपहल न्यून भएको छ भने स्थानीय बासिन्दा तथा पर्यटक सुरक्षित स्थानको खोजीमा छन्।
गुआममा रेस्टुरेन्ट सञ्चालन गर्दै आएकी पिन्की कुबाकुबले आँधीबाट आफ्नो व्यवसाय जोगाउन झ्यालढोका मजबुत बनाउन करिब ५०० अमेरिकी डलर खर्चेर प्लाइउड जडान गरेको बताइन्। अर्की स्थानीय अरबेला पाउलिनोले आफ्नो घर बलियो भएकाले सुरक्षित रहने आशा व्यक्त गरेकी छन्।
उडान रद्द भएपछि गुआममै रोकिएकी जापानी पर्यटक मिकु सकुराईले होटलमै बस्नुपर्दा त्रासपूर्ण अवस्था रहेको बताएकी छन्। यद्यपि, जोखिमपूर्ण मौसमका बीच केही साहसी सर्फर भने गुआमको तालोफोफो बेमा विशाल छालसँग खेलिरहेका देखिएका छन्।
करिब १ लाख ७० हजार जनसंख्या रहेको गुआम र ४० हजार जनसंख्या भएको उत्तरी मारियानाले पछिल्ला वर्षहरूमा पनि शक्तिशाली आँधीको सामना गरिसकेका छन्। सन् २०२३ मा आएको ‘मावर’ आँधी र त्यसपछि आएको ‘सिन्लाकु’ चक्रवातले व्यापक भौतिक क्षति पुर्याउनुका साथै लामो समयसम्म विद्युत् र खानेपानी सेवा प्रभावित बनाएका थिए।
सम्भावित विपद्को सामना गर्न संघीय आपतकालीन व्यवस्थापन निकाय (FEMA) को टोली गुआममा परिचालन गरिएको छ। राहत वितरणका लागि ११ लाख लिटर खानेपानी, १२ लाख जनाका लागि तयारी खाना, ६ हजार ७०० ओछ्यान र ९० वटा जेनेरेटर तयारी अवस्थामा राखिएको छ।
गुआम प्रशासनले कमजोर संरचनामा बस्ने नागरिकका लागि विद्यालयहरूमा पाँच वटा आपतकालीन आश्रय केन्द्र सञ्चालनमा ल्याएको छ, जहाँ करिब १ हजार ९०० जनालाई सुरक्षित रूपमा राख्न सकिने व्यवस्था गरिएको छ।
यसैबीच, युरोपेली सङ्घको कोपरनिकस मरिन सर्भिसले विश्वका महासागरको तापक्रम रेकर्ड स्तरमा पुगेको जनाएको छ। बढ्दो समुद्री तापक्रमले उष्णकटिबन्धीय आँधीलाई थप शक्तिशाली बनाउने र भारी वर्षाको सम्भावना बढाउने वैज्ञानिकहरूको भनाइ छ।
त्यस्तै, विश्व मौसम सङ्गठन (WMO) ले प्रशान्त क्षेत्रमा एल निनो सक्रिय भइसकेको र आगामी महिनाहरूमा यसको प्रभाव अझ तीव्र हुन सक्ने चेतावनी दिएको छ। वैज्ञानिकहरूका अनुसार एल निनोका कारण विश्वभर वर्षा, तापक्रम र मौसमीय प्रणालीमा व्यापक परिवर्तन देखिन सक्छ।


