काठमाडौँ । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय भेलाको समापन सत्रमा धर्मसम्बन्धी विषयलाई लिएर शीर्ष नेताहरूबीच सार्वजनिक रूपमै विवाद देखिएको छ।
सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा भइरहेको समापन समारोहमा भेलाबाट पारित निर्णयहरू वाचन गर्ने क्रममा पूर्वउपसभापति विमलेन्द्र निधि र निवर्तमान प्रवक्ता डा. प्रकाशशरण महतबीच भनाभन भएको हो। विवादका क्रममा निर्णय लेखिएको कागजसमेत दुवै नेताले एकअर्काबाट खोसाखोस गरेका थिए।
विवादको मुख्य विषय भेलाको निर्णयमा समेटिएको धर्मसम्बन्धी शब्दावली थियो। डा. महतले तयार पारेको मस्यौदामा ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबैलाई स्वतन्त्र हुने’ भन्ने वाक्य समावेश गरिएको थियो। तर निधिले उक्त शब्दावलीप्रति असहमति जनाउँदै त्यसको सट्टा ‘धार्मिक स्वतन्त्रता’ मात्र उल्लेख गर्नुपर्ने अडान लिएका थिए।
यही विषयमा कुरा नमिलेपछि कार्यक्रम प्रत्यक्ष प्रसारण भइरहेकै समयमा दुवै नेताबीच केहीबेर विवाद भएको थियो। मञ्चमै विवाद र कागज खोसाखोस भएपछि निवर्तमान सभापति शेरबहादुर देउवाले हस्तक्षेप गरेका थिए।
देउवाको हस्तक्षेपपछि अन्ततः डा. महतले तयार पारेको ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबै स्वतन्त्र हुने’ भन्ने बुँदा नै वाचन गरिएको थियो।
यसअघि समापन समारोहलाई सम्बोधन गर्दै देउवाले आफू व्यक्तिगत रूपमा हिन्दु भएको र सनातन धर्म मान्ने भए पनि सबै धर्मलाई सम्मान गर्ने धारणा व्यक्त गरेका थिए। उनले पछि आफ्नो भनाइबारे थप स्पष्टीकरणसमेत दिएका थिए।


