Thursday, April 16, 2026
Homeअपराध र घटनादुबई पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा हवारी पक्राउ

दुबई पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा हवारी पक्राउ

काठमाडौँ: क्यानडा पठाइदिन्छु भनी दुबई पुर्‍याएर मानवबेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका–३ ठेगाना भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–१ बस्ने फिरोज खाँन भन्ने २६ वर्षीय फरमान हवारी रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार टिकटकको माध्यमबाट चिनजान भएका हवारीले धेरै मानिसहरुलाई क्यानडा पठाइसकेको भनी प्रलोभन देखाउँदै पीडितलाई दुबई पुर्याई बन्धक बनाई राखेको अवस्थामा पीडितको आफन्तको सहयोगमा नेपाल फिर्ता हुन सफल भएका थिए ।

घटनामा संलग्न रही फरार रहेका हवारीलाई मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनसँगको समन्वयमा काठमाडौँ नयाँ बानेश्वरबाट पक्राउ गरेको प्रवक्ता ढकालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हवारीले क्यानडा जानका लागि रु ३० लाख लाग्ने बताएको, पीडितलाई बिहे गर्नेसम्म प्रलोभन देखाई नेपालमै पटक–पटक यौन शोषण गरेको र विभिन्न समयमा रु ११ लाख २८ हजार रकम समेत ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।”

पक्राउ परेका हवारीउपर मानवबेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरुको समेत प्रहरीले खोजी गरिरहेको प्रवक्ता ढकालको भनाइ छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका