Monday, May 4, 2026
Homeमनोरन्जनसलमानलाई जोगाए, रिया चक्रवर्तीलाई जमानत दिलाए, अब वकिल सतिश मानशिन्देले आर्यनलाई बचाउन...

सलमानलाई जोगाए, रिया चक्रवर्तीलाई जमानत दिलाए, अब वकिल सतिश मानशिन्देले आर्यनलाई बचाउन सक्लान् ?

बलिउडमा जब कुनै ठूलो विवाद हुन्छ तब सतिश मानेशिन्देको नाम धेरै नै सुन्न पाइन्छ,  किनभने यी वरिष्ठ वकिल बलिउडका लागि अपरिचित नाम होइनन् । कुनै हाई–प्रोफाइल मामिलालाई सम्हाल्नमा उनको सफलतापछि उनी थुप्रै सेलिब्रिटीका लागि चर्चित वकिल बनेका छन् । आर्यन खानको मुद्दादेखि रिया चक्रवर्ती ड्रग्स मामिला र सलमान खानले रक्सी पिएर गाडी चलाएको मामिलासम्म, यहाँ केही बलिउड सेलिब्रिटी छन् जसको पक्षमा उनी उभिएका छन् । मिडिया रिपोर्टका अनुसार सतिश सबैभन्दा महँगा वकिल हुन् । उनी एक दिनको १५–२० लाख भारुसम्म पारिश्रमिक लिन्छन् । सतिशले आफ्नो करियरको सुरुवात सन् १९८३ मा देशका चर्चित दिवंगत वकिल राम जेठमलानी सँगसँगै गरेका थिए ।

आर्यन खान ड्रग्स मामिलाः

नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) द्वारा २ अक्टोबरमा क्रुज ड्रग्स छापामारीका क्रममा आर्यन खानलाई पक्राउ गरेपछि शाहरुख खानले आफ्नो छोराको मुद्दा लड्ने जिम्मेवारी सतिश मानेशिन्देलाई दिएका छन् । सतिशका अनुसार आर्यन खानलाई एक पाहुनाको रुपमा क्रुजको कार्यक्रममा निमन्त्रणा गरिएको थियो र उनीबाट कुनै प्रतिबन्धित पदार्थ भेटिएको थिएन । ड्रग्स मामिलामा आर्यन र अन्य आरोपीलाई ७ अक्टोबरसम्म हिरासतमा राख्न भनिएको छ । अब सतिशले आर्यन खानलाई जमानत दिलाउन सक्लान्, नसक्लान्, त्यो भने समयले बताउनेछ ।

सलमान खान हिट एण्ड रन केसः

सन् २००२ मा सलमान खानले नशामा गाडी चलाएको मुद्दा लडेपछि सतिश मानशिन्दे चर्चामा आएका थिए । सतिशले सलमानको बचाउ गर्दै उनलाई सफलतापूर्वक जमानत हासिल गराएका थिए । पछि उनलाई अदालतले सफाई दिएको थियो । यतिमात्रै होइन, वकिलले सन् १९९८ को कालो हरिण शिकार मामिलामा पनि सलमानको बचाउ गरेका थिए ।

रिया चक्रवर्ती र शोविक चक्रवर्ती ड्रग्स मामिलाः

अघिल्लो वर्ष पनि मानेशिन्दे चर्चामा आएका थिए । दिवंगत अभिनेता सुशान्त सिंह राजपूतका पिताले छोराको निधनपछि आपराधिक षड्यन्त्र रचेको र कथित रुपमा पैसाको हिनामिना गरेको भन्दै नायिका रिया चक्रवर्तीविरुद्ध मुद्दा दर्ता गरेका थिए । त्यतिबेला मानशिन्देले यो मामिलामा नायिका तथा उनका भाइ शोविक चक्रवर्तीको पक्ष अदालतमा पेश गरेका थिए । पछि उनले दुबैलाई जमानत दिलाउन सफल भएका थिए ।

सञ्जय दत्तको बम्बे बिस्फोट मामिलाः

सन् १९९३ मा मानेशिन्देले बम्बे बम बिस्फोट मामिलामा सञ्जय दत्तको प्रतिनिधित्व गरेका थिए । उनी कथित रुपमा सन् २००७ को आर्म्स एक्ट मामिलामा उनको बचाउ गर्ने कानूनी टिमको वकिलका हिस्सा पनि रहे । उनी त्यतिबेला दत्तका लागि जमानत हासिल गर्न सफल भए । यद्यपि, अभिनेताले गम्भीर आरोपको सामना गर्नुपर्यो ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका