Wednesday, August 5, 2026
Homeमनोरन्जनसहायक भूमिकादेखि मुख्य अभिनेत्रीको यात्राः ‘लज्जावती’बाट १० वर्षपछि मेनुका माझीको सपना पूरा

सहायक भूमिकादेखि मुख्य अभिनेत्रीको यात्राः ‘लज्जावती’बाट १० वर्षपछि मेनुका माझीको सपना पूरा

काठमाडौं । अभिनेत्री **मेनुका माझी**का लागि आगामी नेपाली फिल्म लज्जावती केवल अर्को फिल्म होइन, बरु एक दशक लामो संघर्षपछि मुख्य अभिनेत्री बन्ने सपना साकार भएको अवसर हो। यही कारण उनी ‘लज्जावती’लाई आफ्नो वास्तविक डेब्यु फिल्मका रूपमा लिन्छिन्।

यद्यपि मेनुकाले यसअघि ‘क्वीन’, ‘बिहे पास’, ‘कृष्णलीला’‘हाम्रो स्वर्ग’ लगायत आधा दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन्। ती सबैमा उनी सहायक भूमिकामा देखिएकी थिइन् भने ‘लज्जावती’मा पहिलो पटक मुख्य भूमिकामा प्रस्तुत हुँदैछिन्।

निर्देशक **राजबहादुर साने**को निर्देशनमा बनेको फिल्ममा मेनुकाले ‘लज्जावती’ नामकै पात्र निर्वाह गरेकी छन्। फिल्ममा उनी धनी परिवारकी अनाथ युवतीको भूमिकामा देखिन्छिन्, जसको जीवनमा आउने संघर्ष, रहस्य र भावनात्मक उतारचढाव कथाको मुख्य आधार बनेको छ।

मेनुकाका अनुसार बाहिरबाट शान्त र सरल देखिने उनको पात्रभित्र अनेक रहस्य र सस्पेन्स लुकेको छ। उनका शब्दमा, ‘लज्जावती केवल प्रेमकथा मात्र होइन, एउटी महिलाको जीवनका विभिन्न संघर्षहरूको कथा पनि हो।’

फिल्ममा उनको जोडी अभिनेता **कृष्ण निरौला**सँग बाँधिएको छ। पर्दामा आफूहरूको केमेस्ट्री दर्शकले रुचाउने विश्वास उनले व्यक्त गरेकी छन्।

मोरङकी स्थायी बासिन्दा मेनुकाको कला यात्रा विद्यालय जीवनदेखि नै नृत्यबाट सुरु भएको हो। विराटनगरलगायत पूर्वी नेपालका विभिन्न मञ्चमा नृत्य प्रस्तुत गरेपछि उनले मैथिली र भोजपुरी म्युजिक भिडियोमा अवसर पाइन्। हालसम्म उनले यी दुई भाषाका १०० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन्।

म्युजिक भिडियोमा सफलता पाएपछि उनी फिल्म अभिनयको सपना लिएर काठमाडौं आएकी थिइन्। सुरुआती चरणमा मुख्य भूमिका नपाए पनि ‘क्वीन’मा इन्स्पेक्टरको भूमिका र ‘बिहे पास’मा अभिनेता **बुद्धि तामाङ**की पत्नीको भूमिकाले उनलाई दर्शकमाझ चिनायो। उनी भन्छिन्, साना भूमिकाबाट प्राप्त अनुभवले नै आज मुख्य अभिनेत्री बन्ने अवसर दिलाएको हो।

माझी समुदायकी मेनुका आफ्नो समुदायको पहिचान र संस्कृतिलाई पनि अभिनयमार्फत अघि बढाउन चाहन्छिन्। उनी आफ्नो समुदायबाट पाएको माया र समर्थनलाई आफ्नो सबैभन्दा ठूलो प्रेरणा मान्छिन्।

हाल करिअरलाई पहिलो प्राथमिकतामा राखेकी मेनुका व्यक्तिगत जीवनमा आफू अझै अविवाहित रहेको बताउँछिन्। ‘अहिलेलाई मेरो पहिलो प्रेम अभिनय नै हो,’ उनी मुस्कुराउँदै भन्छिन्।

भविष्यमा अभिनेत्री **रेखा थापा**सँग एउटै पर्दामा अभिनय गर्ने सपना रहेको बताउँदै उनले रेखाको साहस, व्यक्तित्व र अभिनय शैली आफूका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गरिन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका