काठमाडौँ: चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्क (CPI) मा आधारित मुद्रास्फीति ३.७५ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको आठ महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ३.३४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति ४.८२ प्रतिशत थियो।
विदेश व्यापार र विप्रेषणमा उल्लेखनीय वृद्धि
उक्त अवधिमा वैदेशिक व्यापारतर्फ आयात ११.२ प्रतिशतले र निर्यात ५७.२ प्रतिशतले बढेको देखिएको छ। विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ९.४ प्रतिशत र अमेरिकी डलरमा ६.९ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ। चालु आवको आठ महिनामा शोधनान्तर स्थिति ३१० अर्ब ३७ करोड रुपैयाँ बचतमा रहेको छ। हाल कुल विदेशी मुद्रा सञ्चिति १७ अर्ब २७ करोड अमेरिकी डलर पुगेको छ।
राजस्व र खर्चको अवस्था
नेपाल सरकारको कुल खर्च रु ८३९ अर्ब ३६ करोड पुगेको छ भने राजस्व संकलन रु ७२० अर्ब ३५ करोड रहेको छ।
मुद्राप्रदाय र बैंकिङ सूचकहरू
उक्त अवधिमा विस्तृत मुद्राप्रदाय (broad money) ४.८ प्रतिशतले वृद्धि भएको छ भने वार्षिक विन्दुगत आधारमा यो वृद्धिदर ९.९ प्रतिशत रहेको छ। बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन ४.३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ६ प्रतिशतले वृद्धि भएको छ। वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.५ प्रतिशत र कर्जाको वृद्धिदर ७.७ प्रतिशत मापन गरिएको छ।


