काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमा नेपालका प्रमुख वामपन्थी नेता तथा चार पूर्वप्रधानमन्त्री एउटै मञ्चमा उभिँदै वामपन्थी शक्तिहरूबीच कार्यगत सहकार्य र सिद्धान्तनिष्ठ एकताको आवश्यकता औंल्याएका छन्।
मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा पुरस्कार वितरण कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले बदलिँदो राजनीतिक परिस्थितिमा वाम आन्दोलनलाई बलियो बनाउन साझा पहल आवश्यक रहेको धारणा व्यक्त गरे।
एमाले लडेको हो, मरेको होइन : ओली
एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा पार्टीले धक्का बेहोरे पनि समाप्त नभएको दाबी गर्दै एमाले पुनः सशक्त रूपमा उठ्ने बताए।
एमालेविरुद्ध योजनाबद्ध रूपमा झुटा प्रचार र अफवाह फैलाइएको आरोप लगाउँदै उनले भने, “हामी अहिले लडेका छौँ, तर मरेका होइनौँ। हाम्रो विजय अवश्यंभावी छ।”
सोभियत संघको विघटन र पूर्वी युरोपमा कम्युनिस्ट आन्दोलन संकटमा परेका बेला जननेता मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) ले नेपाली कम्युनिस्ट आन्दोलनलाई सही दिशामा अघि बढाएको उनको भनाइ थियो।
ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नै समाजवादको व्यावहारिक स्वरूप भएको दाबी गर्दै वर्तमान सरकार लोकतान्त्रिक तथा वाम शक्तिलाई कमजोर पार्ने उद्देश्यका साथ बनेको प्रतिगमनको परिणाम भएको आरोप लगाए।
कार्यगत सहकार्य आजैबाट सुरु गरौँ : प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु देशकै लागि महँगो पर्ने चेतावनी दिए।
उनले पार्टी एकता तत्काल सम्भव नभए पनि कार्यगत सहकार्य भने तुरुन्तै सुरु गर्नुपर्नेमा जोड दिँदै भने, “पार्टी एकता आजको भोलि नै नहोला, तर कार्यगत सहकार्यका लागि आजै, भरे वा भोलि नै तयार हुनुपर्छ।”
प्रचण्डले मदन भण्डारीको ‘जबज’ ले कठिन समयमा नेपाली कम्युनिस्ट आन्दोलनलाई जीवन्त राख्न महत्त्वपूर्ण भूमिका खेलेको स्वीकार गरे। साथै, मार्क्सवादी दर्शन परिवर्तनशील भएकाले कुनै पनि विचारलाई स्थिर मान्न नहुने र समयअनुसार विकास गर्दै लैजानुपर्ने धारणा व्यक्त गरे।
उनले २०७४ सालको निर्वाचनअघि भएको वाम सहकार्यको स्मरण गर्दै वर्तमान सरकारले संविधानका आधारभूत मूल्य र उत्पीडित समुदायका अधिकारमाथि प्रहार गरिरहेको आरोप लगाए।
आत्मसमीक्षाबिना एकता सम्भव छैन : माधव नेपाल
सह–संयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलन कमजोर हुनुका कारणबारे सबै पक्षले इमानदार आत्मसमीक्षा गर्नुपर्ने बताए।
व्यक्तिवाद, भ्रष्टाचार, जनतासँग बढ्दो दूरी र संगठनभित्र देखिएका विकृतिहरू अन्त्य नगरेसम्म आन्दोलन सुदृढ हुन नसक्ने उनको भनाइ थियो।
मदन भण्डारीको ‘कुराले चिउरा भिज्दैन’ भन्ने भनाइ उद्धृत गर्दै उनले नाराले मात्र होइन, साझा मुद्दा, व्यवहार र पारस्परिक विश्वासका आधारमा मात्रै दिगो एकता सम्भव हुने बताए।
साथै, नेपालको राष्ट्रियता चुनौतीपूर्ण अवस्थामा रहेको र विदेशी शक्तिको बढ्दो प्रभावप्रति सरकार पर्याप्त संवेदनशील नरहेको आरोप पनि उनले लगाए।
वाम विभाजनले संकट निम्त्यायो : झलनाथ खनाल
सम्मानित नेता झलनाथ खनालले वाम शक्तिहरू विभाजित भएकै कारण मुलुक अहिलेको राजनीतिक जटिलतामा पुगेको दाबी गरे।
निर्वाचनअघि नै वाम दलहरूबीच कार्यगत एकता भएको भए राजनीतिक अवस्था फरक हुने उल्लेख गर्दै उनले भने, “यदि निर्वाचनअघि कार्यगत एकता भएको भए वामपन्थीहरूको बलियो उपस्थिति हुन्थ्यो र मुलुकमा तानाशाही परिस्थिति देख्नुपर्ने थिएन।”
खनालले मदन भण्डारीको मृत्युलाई कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने षड्यन्त्रको रूपमा व्याख्या गर्दै देशलाई संकटबाट मुक्त गर्न वाम शक्तिहरू नयाँ नीति, नयाँ कार्यदिशा र साझा उद्देश्यका साथ अघि बढ्नुपर्ने बताए।
‘श्वेतशार्दूल’ का लागि रमेश रुछेन राई सम्मानित
पूर्वराष्ट्रपति तथा मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ लेखक तथा अध्येता रमेश रुछेन राई लाई प्रदान गरिएको छ।
मदन भण्डारीको जीवन र योगदानमाथि आधारित अनुसन्धानमूलक कृति ‘श्वेतशार्दूल’ का लागि उनलाई नगद दुई लाख रुपैयाँ र सम्मानपत्रसहित पुरस्कृत गरिएको हो।
लामो समयपछि चार पूर्वप्रधानमन्त्री एउटै मञ्चमा उपस्थित भई वाम एकता र सहकार्यको आवश्यकता सार्वजनिक रूपमा व्यक्त गरेपछि उक्त कार्यक्रमलाई नेपाली राजनीतिमा अर्थपूर्ण राजनीतिक सन्देशका रूपमा हेरिएको छ।


