Sunday, June 28, 2026
Homeअन्तराष्ट्रियफ्रान्समा उष्ण लहरको कहर: अत्यधिक गर्मीका कारण थप करिब एक हजार जनाको...

फ्रान्समा उष्ण लहरको कहर: अत्यधिक गर्मीका कारण थप करिब एक हजार जनाको मृत्यु

पेरिस । पश्चिमी युरोपमा फैलिएको भीषण उष्ण लहरका कारण फ्रान्समा अपेक्षा गरिएभन्दा थप करिब एक हजार जनाको मृत्यु भएको प्रारम्भिक सरकारी तथ्यांकले देखाएको छ।

फ्रान्सको राष्ट्रिय स्वास्थ्य निकाय पब्लिक हेल्थ फ्रान्स का अनुसार जुन २४ देखि सुरु भएको अत्यधिक गर्मीका कारण अघिल्ला महिनाहरूको तुलनामा अनुमानित एक हजार अतिरिक्त मृत्यु दर्ता भएका छन्।

स्वास्थ्य निकायले उच्च जोखिमको ‘रेड अलर्ट’ जारी गरिएका क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएको जनाएको छ। गर्मीका कारण ज्यान गुमाउनेमध्ये करिब ८५ प्रतिशत ६५ वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिक रहेका छन्।

विशेषगरी राजधानी पेरिस र यसका उपनगरहरू समेटिएको इल–दे–फ्रान्स क्षेत्रमा अत्यधिक गर्मीका कारण धेरै व्यक्तिको मृत्यु आफ्नै घरभित्र भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

पब्लिक हेल्थ फ्रान्सले यस घटनाले सहरी क्षेत्रमा एक्लै बस्ने तथा सामाजिक रूपमा एकान्तमा रहेका नागरिकहरूको संरक्षणका लागि राज्य र समुदाय दुवैले थप प्रभावकारी सहयोग र समन्वय गर्नुपर्ने आवश्यकता पुनः उजागर गरेको जनाएको छ।

स्वास्थ्य निकायले सार्वजनिक गरेको तथ्यांक प्रारम्भिक भएकाले अत्यधिक गर्मीका कारण मृत्यु हुनेहरूको वास्तविक संख्या अझ बढी हुन सक्ने अनुमान गरिएको छ।

हालैका दिनहरूमा फ्रान्सका धेरै क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो। यद्यपि आइतबारदेखि देशभर औसत तापक्रम केही घट्न थालेपछि उष्ण लहरको तीव्रता केही कम भएको जनाइएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका