अभिनेत्री पूजा शर्मा चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रिमियरमा चलचित्र हेरेपछि आफू बसेको सिटमै रोइन् । उनलाई केही चलचित्रकर्मीले सम्झाए ।
हलबाट बाहिर निस्कने क्रममा अभिनेत्री निरुता सिंह र निर्देशक दीपाश्री निरौलाको अगाडि फेरि पूजाको आँशु रोकिएन । उनले भनिन्, ‘सधैं हामीमाथि नै यस्तो बज्रपात किन पर्छ ? के सोच्यो के हुन्छ ? दुःख गरेर चलचित्र बनायो, रिलिज हुने क्रममा जहिले यस्तै ?’
पूजाले अगाडि भनिन्, ‘चलचित्र रिलिजको पहिलो मिति तोक्ने बित्तिकै कोरोना महामारी आयो । सोचियो ठिकै छ । यसपछि माघ १९ गतेलाई प्रदर्शन मिति तोक्यौं । फेरि हल बन्द भए । यसपटक पनि यस्तै रहेछ भनेर सोच्यौं ।’
फागुन १३ गते चलचित्र रिलिज हुने दिन नजिकिंदा अर्को बज्रपात भएको पूजाले बताइन् । उनले भनिन्, ‘यो मितिमा छुट्टै उमंग छाएको थियो । तर उमंग छाउँदा छाउँदै खै कसको आँखा लाग्यो थाहा छैन । तर पनि एउटा राम्रो चलचित्र बनाएका छौं, साथ दिनुहोला । मन परेन भने गाली गरिदिनुहोला । तर एकचोटी चलचित्र भने हेरिदिनुहोला ।’
पूजाको आँखाबाट आँशु झरिहँदा निर्देशक सुदर्शन थापाको पीडा पनि कम थिएन । उनले चलचित्रले बारम्बार समस्या भोगेको र रिलिजको मुखमा पनि ठूलो पीडा भएको बताए । तर पनि राम्रो चलचित्र बनाएकाले दर्शकको साथ पाउनेमा उनी विश्वस्त देखिन्थे ।
करिब तीन वर्षअघि गोरखाको मनकामनामा शुभसाइत गर्दै छायांकन सुरु गरेको यो चलचित्रको निर्माण टिमले रिलिजको क्रममा थुप्रै समस्या भोगेको छ । साढे दुई करोडको बजेटमा बनेको यो चलचित्रले व्यापारिक रुपमा सफलता हात पारेन भने नेपाली चलचित्रको आगामी दिनको बाटो पनि सहज नहुने आम चलचित्रकर्मीको विश्लेषण छ ।


