Friday, June 19, 2026
Home Blog Page 633

उमेश श्रेष्ठ बने कांग्रेसको केन्द्रीय कोषाध्यक्ष

0

काठमाडौँ: नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनयन हुनुभएको छ ।

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्य श्रेष्ठलाई पार्टीको केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गर्नुभएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

ललितपुरको ऐतिहासिक अदालत पुनःनिर्माण सुरु

0

ललितपुर: जिल्लाको पाटनस्थित विश्व सम्पदा क्षेत्रमा रहेको ऐतिहासिक अदालतको भवन पुनः निर्माण सुरु भएको छ । सम्पदा क्षेत्रभित्र अवस्थित जीर्ण अवस्थामा रहेको उक्त अदालत दसैँलगत्तै पुनः निर्माण सुरु भएको हो ।

पुनःनिर्माण सरु भएको ऐतिहासिक अदालतको भवन विसं १९९० को भूकम्प अगाडि तीन तलाको थियो । पुरानै स्वरूपमा भवन निर्माण गर्न नक्शा पास भएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ ।

भारतीय दूतावासको सहयोगमा काम सुरु भएको एतिहासिक अदालत भवनको पुनःनिर्माणको पतली भैरव निर्माण व्यवसायी कम्पनीले १८ महिनामा सम्पन्न गर्नेगरी जिम्मा लिएको कम्पनीका इञ्जिनियर किसन कुटाभारले जानकारी दिनुभयो ।

रु अठार करोडमा पुरानै संरचनामा निर्माण हुन लागेको अदालतमा पाटन दरबार सङ्ग्रहालयको कार्यालय रहनसक्ने दरबार सङ्ग्रहालयका प्रमुख सुरेशमान लाखेले राससलाई जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “लामो समयको प्रतिक्षापछि जीर्ण अवस्थामा रहेको अदालत भवन पुनः निर्माण सुरु भएको छ । पूरानै शैलीमा निर्माण भएपछि पाटन दरबार क्षेत्रको स्वरूप अझ आकर्षक देखिने छ ।”

जीर्ण भवनभित्र रहेका सामान सुरक्षितसाथ अर्को ठाउँमा सारिएको ललितपुरस्थित स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयकी सूचना अधिकारी पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार ऐतिहासिक अदालत भवनलगायत पाटनदरबार क्षेत्रका अन्य ऐतिहासिक सम्पदा केही पुनःनिर्माण हुँदैछन् भने केही पुनःनिर्माणको प्रक्रियामा छन् ।

जाडो मौसम सुरु भएसँगै जम्न थाले मनाङका नदी र ताल

0

मनाङ: जाडो मौसम सुरु भएसँगै यहाँका नदी, खोला र ताल जम्न थालेका छन् । यहाँका नदी, खोला र तालतलैया जमेर चट्टान बनेका छन् । उचाइअनुसार नै यस क्षेत्रका नदी, ताल, खोलाको पानी चिसोले जम्ने गरेका छन् । तीन हजार मिटरमाथिका अधिकांश नदी, खोला, हिमताल जम्दै गएका हुन् ।

मनाङका खोलासहित आधा दर्जन हिमताल जमेर चट्टानझैं भएको मनाङ ङिस्याङ गाउँपालिका–६ का वडाध्यक्ष सोनाम गुरुङले बताउनुभयो । उहाँका अनुसार चार हजार ९१९ मिटरमा उचाईमा अवस्थित तिलिचो, भ्राकामा पर्ने चार हजार ६०० मिटरमा रहेको केंचो ताल (आइसलेक), धारापानीको नाचैमा पर्ने डोना ताल र थोंचेमा पर्ने पोङकर लगायतका हिमताल यतिबेला जमेका छन् ।

चिसो बढेसँगै खानेपानीको मुहानसमेत जम्दै गएका छन् । चिसोले मनाङको तापक्रम दिउँसो पनि माइनसमा र साँझ–बिहान माइनस छदेखि माइनस १० डिग्री सेल्सियससम्म पुग्ने गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास खड्काले बताउनुभयो । उहाँका अनुसार तिमाङदेखि थान्चोक, चामे हुँदै माथिल्लो क्षेत्रमा पाइपको पानीसमेत जमेको छ ।

मनाङमा मङ्सिर–पुसदेखि फागुनसम्म हिमतालका पानी जमेर चट्टान भएका हुन्छन् । अत्याधिक चिसोले बगिरहेका नदी, खोला, हिमताल जम्न थालेका छन् । सशस्त्र प्रहरी बल नेपाल मनाङका अनुसार राति जमेको पानी दिउँसो भएपछि मात्रै बग्ने गर्छ । चिसो बढेसँगै धारामा पानीसमेत जम्ने गरेको छ । चिसो बढेसँगै केही मात्रामा मनाङ पुगेका आन्तरिक तथा बाह्य पर्यटक भने जमेको तालमाथि हिँडेर नौलो अनुभव लिने गरेका स्थानीय बताउँछन् । चिसोका बावजुत पनि मनाङका ताल हेर्न पर्यटक आउने क्रम जारी छ ।

हिमताल भएको स्थान भएकाले पनि मनाङ बाह्य तथा आन्तरिक पर्यटकको केन्द्र बनेकोे छ । चिसो समयमा जम्ने, हिउँ परेपछि अझ ती तालतलैया हिँउले ढाकिने र गर्मीयाममा पग्लिएपछि हिमाली छायाँ देखिने दृश्यले पर्यटक लोभिने गरेका छन् । पर्यटन व्यवसायी समितिका अध्यक्ष विनोद गुरुङका अनुसार मनाङका ताल जमेका बेला सफा नीलो, वर्षायाममा सेतो र हिउँदमा जम्ने विशेषता नै हुन् । पर्यटकहरु चिसोले नदी, खोला, तालतलैयाका जमेका चट्टानमा खेल्न रुचाउने गरेका पाइएको छ ।

चिकित्सा शिक्षा आयोगको बैठक : पिजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन

0

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजमा आवासीय चिकित्सक–स्नातकोत्तर तह (पिजी) को सुविधासम्बन्धी विवाद आपसी छलफलबाट मिलाउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको चिकित्सा शिक्षा आयोगको १५औँ बैठकमा आयोगका अध्यक्ष प्रधानमन्त्री ओलीले निजी र सरकारी दुवै क्षेत्रका सरोकारवाला पक्षलाई सामेल गरेर समाधान खोज्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल र आयोगका उपाध्यक्ष प्रा डा अञ्जनीकुमार झालगायतलाई सो निर्देशन दिनुुभएको हो ।

निजी कलेजका आवासीय चिकित्सकलाई पनि आठौँ तहको सरकारी सरह मासिक रु ४८ हजार सुविधा कायमका लागि सहजीकरण गरिदिन भनी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पत्रका आधारमा यही मङ्सिर ११ गतेभित्र स्वमूल्याङ्कन फाराम भर्न आयोगले सूचना प्रकाशन गरेको थियो । प्रधानमन्त्री ओलीले हाल आवासीय चिकित्सकलाई जति सुविधा दिन सकिन्छ त्यति उल्लेख गरेर आयोगमा स्वमूल्याङ्कन फाराम आग्रह गर्दै समझदारीका साथ निचोडमा पुुग्दा निजी मेडिकल कलेजको घाटा नाफाको पनि अध्ययन गर्न आग्रह गर्नुभयो ।

बैठकमा एशोसिएसन अफ मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डा ज्ञानेन्द्रमानसिंह कार्कीले पिजीका विद्यार्थीलाई सरकारी मेडिकल अधिकृतको तलबसरह निर्वाह भत्ता उपलब्ध गराउन भनेर आयोगले एकपक्षीय निर्णय गर्न नसक्ने भन्दै निकास दिन प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभएको थियो ।

आयोगको जारी बैठकमा गत आर्थिक वर्षको प्रगति विवरण, चालुु आर्थिक वर्षको बजेट र कार्यक्रममा नीतिगत संशोधन, प्राविधिक तथा व्यावसायिक शिक्षातर्फको आशयपत्र र सम्बन्धन, स्वामित्व हस्तान्तरण, छात्रवृत्तिलगायत कार्यसूची रहेका छन् ।

चित्रलेखा यादव अष्ट्रेलियाको राजदूतमा नियुक्त

0

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले चित्रलेखा यादवलाई अष्ट्रेलियाका लागि नेपाली राजदूतमा  नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई आइतबार नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ ।

कम्बोडियाबाट सीके राउतले गरे प्रधानमन्त्री ओलीको आलोचना

0

काठमाडौँ: एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप)को १२औँ साधारण सभामा भाग लिन कम्बोडिया पुगेका जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले नेपालको प्रधानमन्त्रीसँग भेट्न कठिन भएको गुनासो गरेका छन्।

शनिबार, कम्बोडियाका प्रधानमन्त्री हुन सेनसँग भेटपछि अध्यक्ष राउतले आफ्नो सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा लेखे, “कम्बोडियाका प्रधानमन्त्री सामदेक टेचोसँग भेटवार्ता, बरू नेपालकै प्रधानमन्त्री भेट्न साह्रै गाह्रो।”

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सत्ता गठबन्धनमा जनमत पार्टी पनि सहभागी छ। यो पार्टीले संघ सरकारलाई समर्थन जनाउनुका साथै मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेको छ। तर अध्यक्ष राउतले देशकै प्रधानमन्त्रीलाई भेट्न गाह्रो भएको गुनासो सार्वजनिक रूपमा व्यक्त गर्नु, त्यो पनि कम्बोडियामा, व्यापक चर्चा र आलोचनाको विषय बनेको छ।

यसअघि पनि अध्यक्ष राउतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा यस्तै गुनासो गरेका थिए। उनले सञ्चारमाध्यममार्फत प्रधानमन्त्रीसँग भेट्न नपाएको भन्दै असन्तोष व्यक्त गरेका थिए।

हालै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गरेको विषयमा राउतले ओली नेतृत्वको सरकारको आलोचना गरेका थिए। यस घटनापछि प्रधानमन्त्री ओलीले राउतलाई बोलाएर स्पष्टीकरण मागेका थिए, जसले गठबन्धनभित्रको सम्बन्धलाई थप जटिल बनाएको थियो।

अध्यक्ष राउतको यस प्रकारको सार्वजनिक टिप्पणीले सत्ता गठबन्धनभित्रको अन्तरद्वन्द्वलाई झल्काएको विश्लेषण गरिएको छ।

झापाको बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी पूरा

0
झापा:राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त झापाको बीएण्डसी मेडिकल कलेजले चिकित्सा शास्त्रअन्तर्गत एमबिबीएस (स्नातक तह) पठनपाठनका लागि सम्पूर्ण तयारी पूरा गरेको छ।

गत २०८० चैत १३ गते सर्वोच्च अदालतले बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन परमादेश जारी गरेपछि काठमाडौँ विश्वविद्यालयले सम्बन्धन प्रदान गरेको हो। चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि कलेजलाई ५० विद्यार्थी भर्ना गर्न सिट तोकेको छ। कलेजले नियमानुसार विद्यार्थी भर्ना प्रक्रिया सञ्चालन गरिरहेको छ भनी जनसम्पर्क अधिकृत प्रमेश गिरीले जानकारी दिनुभयो।

कलेजले पहिलो वर्षका लागि ५० विद्यार्थीलाई अध्यापन गराउन आवश्यक जनशक्ति, भौतिक पूर्वाधार, र शैक्षिक सामग्रीको व्यवस्थापन पूरा गरेको जनाएको छ। मेचीनगर नगरपालिका–१२ धाइजनमा पाँचतले ‘बेसिक साइन्स ब्लक’ निर्माण गरिएको छ भने ‘क्लिनिकल साइन्स’का लागि विर्तामोड नगरपालिका–५ स्थित बीएण्डसी हस्पिटलमा व्यवस्था मिलाइएको छ।

“एमबिबीएस पठनपाठनका लागि धेरै वर्षअघिदेखि तयारी अवस्थामा थियौँ,” जनसम्पर्क अधिकृत गिरीले भन्नुभयो। “धाइजनमा सुविधासम्पन्न साइन्स ब्लक तयार छ। विद्यार्थीले अभ्यासका लागि बीएण्डसी अस्पताल नै प्रयोग गर्न पाउनेछन्।”

कलेजले एकै समयमा १५० विद्यार्थीलाई सहज रूपमा पठनपाठन गराउन सक्ने पूर्वाधार तयार पारेको जनाएको छ।

महिला फुटबल प्रतियोगिता : प्रगतिशील सेवा समाज विजयी

0

खोटाङ: हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको खुला महिला फुटबल प्रतियोगितामा हलेसी तुवाचुङ नगरपालिका र प्रगतिशील सेवा समाज बाहुनीडाँडा विजयी भएका छन् ।
त्रिधार्मिकस्थल हलेसीस्थित बशाहाथान खेलमैदानमा भएको पहिलो खेलमा हलेसी तुवाचुङले साकेला सिली समूह सल्लेलाई एकका विरुद्ध दुई गोलले पराजित गरेको हो । हलेसी तुवाचुङका लागि रिम्स मगरले दुई गोल गरिन् । साकेला सिलीका लागि खेलको पहिलो हाफमा वीणा राईले गोल गरिन् । मध्यान्तरपछिको खेलमा साकेला सिलीले गोल गर्न सकेन ।

यस्तै त्रिधार्मिकस्थल हलेसीस्थित बशाहाथान खेलमैदानमै भएको अर्को खेलमा कात्तिके युवा क्लब (केवाइसी) हलेसीलाई शून्यका विरुद्ध तीन गोल गर्दै प्रगतिशील सेवा समाज बाहुनीडाँडा विजयी भएको हो । बाहुनीडाँडाका लागि चाहना राईले दुई तथा विपना राईले एक गोल गरेकी थिइन् । हारसँगै हलेसी प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतियोगिताअन्तर्गत आइतबार सरस्वती माध्यमिक विद्यालय अर्खौले र पद्मा स्पोर्टस् क्लब ओखलढुङ्गा तथा हलेसी तुवाचुङ नगरपालिका र रिनेबल फुटबल क्लब ओखलढुङ्गाबीच खेल हुने छ । लैङ्गिक हिङ्साविरूद्धको १६ दिने अभियानका अवसरमा आयोजना गरिएको उक्त प्रतियोगितामा विभिन्न जिल्लाका १६ टोलीले सहभागिता जनाएका छन् ।

‘मेरो गोल, लैङ्गिक हिंसाविरूद्धको बोल’ नारासहित आयोजना गरिएको खुला महिला फुटबल प्रतियोगिताको उद्घाटन कोशी प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका भौतिक पूर्वाधार एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले गर्नुभएको थियो । यही मङ्सिर १० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको विजेता टोलीले रु एक लाख १० हजार एक सय ११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेताले रु ५५ हजार पाँच सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राईले जानकारी दिनुभयो ।

भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा

0

इनरुवा (सुनसरी): देवानगञ्ज गाउँपालिका–३ का अजय मण्डलले तीन कठ्ठा जमिनमा बन्दागोभी खेती गर्न रु ५० हजार लगानी गर्नुभएको छ। मजदुरको अभाव, समयमा मलखाद नपाइने समस्या, र बाढीको चुनौतीका बाबजुद पनि उहाँले तरकारी उत्पादन गर्न सफल हुनुभयो। तर, मण्डलजस्ता किसान उचित मूल्य पाउन संघर्षरत छन्।

नेपाली बजारमा भारतबाट सस्तोमा आयात हुने तरकारीका कारण स्थानीय किसानले उत्पादन गरेको तरकारी उचित मूल्यमा बिक्री गर्न कठिन भएको छ। नेपालमा उत्पादन लागत बढी पर्ने भएकाले नेपाली तरकारी महँगो हुन्छ, जसले गर्दा भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न कठिन भएको स्थानीय किसान गुलाबचन मेहताले बताउनुभयो।

“नेपालमा मलखाद, बीउबिजनदेखि सिँचाइका सामग्री महँगो पर्छन्, जसका कारण हामी भारतीय किसानसँग प्रतिस्पर्धा गर्न सक्दैनौँ,” उहाँले भन्नुभयो।

इनरुवा–४ का किसान रामदेव मेहताका अनुसार दैनिकरूपमा भारतबाट भित्रिने सस्तो तरकारीका कारण स्थानीय उत्पादन बजारमा खपत हुन सकेको छैन। भारतमा बीउबिजन र मलखाद सस्तोमा उपलब्ध हुने भएकाले उत्पादन लागत कम पर्छ। यसले नेपाली किसानलाई घाटा बेहोर्न बाध्य बनाएको छ।

हाल भारतबाट आउने बन्दागोभी प्रतिकिलो रु २० देखि रु ३० मा बिक्री भइरहेको छ। यही मूल्यमा बिक्री गर्नुपर्दा उत्पादन लागतसमेत असुल गर्न कठिन भएको किसान चन्दन मेहताले बताउनुभयो। देवानगञ्ज बजारमा भारतीय तरकारीको आयात बढेसँगै स्थानीय तरकारीको मूल्य घटेको छ।

भारतबाट आलु, प्याज, गोलभेँडा, काउली, बोडी, भण्टा र सागपात जस्ता तरकारी सस्तोमा भित्रिँदा स्थानीय उत्पादन बिक्री गर्न किसानलाई झन् समस्या भइरहेको छ। मूल्य नपाउँदा किसानको लगानी डुब्ने अवस्था सिर्जना भएको छ भने तरकारी खेतीलाई निरन्तरता दिन कठिन भइरहेको किसानहरूको गुनासो छ।

स्थानीय तहले भारतबाट आयात हुने तरकारीमा कडाइ गरी नेपाली उत्पादनलाई प्रोत्साहन गर्न पहल गर्नुपर्ने किसानहरूको माग छ। उत्पादनलाई बजारसम्म सहज पहुँच पुर्‍याउन र मूल्य सुनिश्चित गर्न नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा किसानले जोड दिएका छन्।

‘मुसा मसाला ओपन लिड क्लाइम्बिङ’ प्रतियोगिताको उपाधि रनक र राचेललाई

0

काठमाडौँ: ‘मुसा मसाला ओपन लिड क्लाइम्बिङ प्रतियोगिता–२०२४’ को उपाधि पुरुषतर्फ नेपाली पर्वतारोही रनक उप्रेती र महिलातर्फ अमेरिकी पर्वतारोही राचेल डेभिडसनले जितेका छन् ।

काठमाडौँ स्पोर्ट्स क्लाइम्बिङ सेन्टरमा आयोजित प्रतियोगिताको तेस्रो संस्करणमा पुरुषतर्फ उपविजेता अमेरिकी पर्वतारोही भिन्सेन्ट सबलिच भए भने पेम्बाछिरिङ शेर्पाले तेस्रो स्थान प्राप्त गरे । महिलातर्फको उपविजेता स्वस्तिका चौधरी भइन् भने नेदरल्यान्ड्सकी अन्ने माइ बन तेस्रो भइन् । प्रतियोगितामा स्वदेशी र विदेशी गरी ३२ प्रतियोगी सहभागी थिए ।

प्रतियोगिताका विजेता, उपविजेता र तस्रो हुनेले क्रमशः रु ३५ हजार, रु २५ हजार र रु १५ हजारसहित विभिन्न उपहार प्राप्त गरे । अन्तर्राष्ट्रिय आरोहण महासङ्घको नियमानुसार गराइएको सो प्रतिस्पर्धा नेपाल आरोहण खेलकुद सङ्घबाट मान्यताप्राप्त प्रतियोगिता रहेको आयोजक संस्था वोङछु पिक प्रमोशनकी प्रबन्ध निर्देशक लाक्पा शेर्पाले बताइन् । प्रतियोगितामा प्राविधिक सहयोग नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक सङ्घले गरेको हो । प्रतियोगिताको मुख्य प्रायोजक अमेरिकी संस्था मुसा मसाला रहेको आयोजकले जनाएको छ । अन्य व्यावसायिक कम्पनीहरू सहप्रायोजकका रूपमा रहेका थिए ।

साहसिक खेलकुदको माध्यमबाट पर्यटनको विकास तथा प्रवर्द्वन गर्ने उद्देश्यले तीन वर्षदेखि निरन्तर रूपमा प्रतियोगिता हुँदै आएको आयोजकले जनाएको छ ।