इनरुवा (सुनसरी): देवानगञ्ज गाउँपालिका–३ का अजय मण्डलले तीन कठ्ठा जमिनमा बन्दागोभी खेती गर्न रु ५० हजार लगानी गर्नुभएको छ। मजदुरको अभाव, समयमा मलखाद नपाइने समस्या, र बाढीको चुनौतीका बाबजुद पनि उहाँले तरकारी उत्पादन गर्न सफल हुनुभयो। तर, मण्डलजस्ता किसान उचित मूल्य पाउन संघर्षरत छन्।
नेपाली बजारमा भारतबाट सस्तोमा आयात हुने तरकारीका कारण स्थानीय किसानले उत्पादन गरेको तरकारी उचित मूल्यमा बिक्री गर्न कठिन भएको छ। नेपालमा उत्पादन लागत बढी पर्ने भएकाले नेपाली तरकारी महँगो हुन्छ, जसले गर्दा भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न कठिन भएको स्थानीय किसान गुलाबचन मेहताले बताउनुभयो।
“नेपालमा मलखाद, बीउबिजनदेखि सिँचाइका सामग्री महँगो पर्छन्, जसका कारण हामी भारतीय किसानसँग प्रतिस्पर्धा गर्न सक्दैनौँ,” उहाँले भन्नुभयो।
इनरुवा–४ का किसान रामदेव मेहताका अनुसार दैनिकरूपमा भारतबाट भित्रिने सस्तो तरकारीका कारण स्थानीय उत्पादन बजारमा खपत हुन सकेको छैन। भारतमा बीउबिजन र मलखाद सस्तोमा उपलब्ध हुने भएकाले उत्पादन लागत कम पर्छ। यसले नेपाली किसानलाई घाटा बेहोर्न बाध्य बनाएको छ।
हाल भारतबाट आउने बन्दागोभी प्रतिकिलो रु २० देखि रु ३० मा बिक्री भइरहेको छ। यही मूल्यमा बिक्री गर्नुपर्दा उत्पादन लागतसमेत असुल गर्न कठिन भएको किसान चन्दन मेहताले बताउनुभयो। देवानगञ्ज बजारमा भारतीय तरकारीको आयात बढेसँगै स्थानीय तरकारीको मूल्य घटेको छ।
भारतबाट आलु, प्याज, गोलभेँडा, काउली, बोडी, भण्टा र सागपात जस्ता तरकारी सस्तोमा भित्रिँदा स्थानीय उत्पादन बिक्री गर्न किसानलाई झन् समस्या भइरहेको छ। मूल्य नपाउँदा किसानको लगानी डुब्ने अवस्था सिर्जना भएको छ भने तरकारी खेतीलाई निरन्तरता दिन कठिन भइरहेको किसानहरूको गुनासो छ।
स्थानीय तहले भारतबाट आयात हुने तरकारीमा कडाइ गरी नेपाली उत्पादनलाई प्रोत्साहन गर्न पहल गर्नुपर्ने किसानहरूको माग छ। उत्पादनलाई बजारसम्म सहज पहुँच पुर्याउन र मूल्य सुनिश्चित गर्न नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा किसानले जोड दिएका छन्।


