Friday, June 19, 2026
Homeअर्थ र ब्यापारकाठमाडौं महानगरको बजेट: बहाल कर घटाइयो, महानगर अस्पताल बनाउन ४ करोड विनियोजन

काठमाडौं महानगरको बजेट: बहाल कर घटाइयो, महानगर अस्पताल बनाउन ४ करोड विनियोजन

काठमाडौँ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बहाल करको दर संशोधन गर्दै आवासीय प्रयोजनका घरबहालमा कर घटाउने घोषणा गरेको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलले बिहीबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै बहाल करको नयाँ व्यवस्था सार्वजनिक गरेकी हुन्।

नयाँ व्यवस्थाअनुसार आवासीय प्रयोजनका लागि बहालमा लगाइएका घरजग्गाबाट वार्षिक २ लाख ४० हजार रुपैयाँभन्दा कम आम्दानी हुनेमा ५ प्रतिशत बहाल कर लाग्नेछ। सोभन्दा बढी आम्दानी हुने आवासीय घरबहालमा भने हालको १० प्रतिशत कर घटाएर ७ प्रतिशत कायम गरिएको छ।

महानगरले करको दायरामा नआएका करदातालाई समेट्न असोज मसान्तभित्र कर बुझाउनेलाई १० प्रतिशत छुट दिने तथा सोही अवधिभित्र बक्यौता कर तिर्नेलाई जरिवाना मिनाहा गर्ने योजना पनि अघि सारेको छ।

कर प्रणालीप्रति विश्वास बढाउन केही शीर्षकका सिफारिस दस्तुर निःशुल्क गरिएको छ। साथै, कर विश्लेषण र करको दायरा विस्तारका लागि विज्ञ तथा सरोकारवाला निकायसँग सहकार्य गर्ने तथा करदातालाई विभिन्न वस्तुगत संघसंस्थासँग आबद्ध गराउने नीति लिइएको छ।

महानगर अस्पताल निर्माण सुरु हुने

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि आफ्नै महानगर अस्पताल निर्माण सुरु गर्ने भएको छ। बहुवर्षीय योजनाअन्तर्गत अस्पताल निर्माणको पहिलो चरणका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

बजेटमा टोलटोलमा योगाभ्यास कार्यक्रम सञ्चालन, ज्येष्ठ नागरिकका लागि निमोनिया खोप कार्यक्रमका लागि १ करोड रुपैयाँ, क्यान्सरजस्ता असाध्य रोगको पहिचान र उपचार सहयोगका विशेष कार्यक्रम तथा एकीकृत स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र स्थापनाका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको उल्लेख छ।

त्यस्तै, निःशुल्क एम्बुलेन्स सेवा कार्यक्रमलाई निरन्तरता दिइएको छ भने स्वनिगः विश्वविद्यालय स्थापना प्रक्रियाका लागि कानुनी तथा व्यवस्थापकीय तयारी गर्न ५० लाख रुपैयाँ छुट्याइएको छ। पोषण भत्ता कार्यक्रमका लागि १६ करोड रुपैयाँ विनियोजन गरिएको छ।

छात्रवृत्तिका लागि पुनः अनलाइन आवेदन खुला

यसैबीच, काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८३/८४ का लागि कक्षा ११ र १२ को छात्रवृत्ति कार्यक्रममा अन्तिम मनोनयन (र्यापअप) का लागि पुनः अनलाइन आवेदन खुला गरेको छ।

शिक्षा अधिकारी नमराज ढकालका अनुसार पहिलो र दोस्रो मनोनयन सूचीमा नपरेका तथा अन्तिम मनोनयनमा सहभागी हुन चाहने विद्यार्थीले विषय र शिक्षण संस्थाको प्राथमिकता छनोट गरी अनलाइन आवेदन दिन सक्नेछन्।

महानगरले १४५ शिक्षण संस्थामा कुल ४ हजार ८५७ छात्रवृत्ति कोटा निर्धारण गरेको थियो। पहिलो र दोस्रो मनोनयन सूचीमार्फत ३ हजार २८१ विद्यार्थी भर्ना भइसकेकाले बाँकी १ हजार ५७६ सिटका लागि पुनः आवेदन खुला गरिएको हो।

आवेदन प्रक्रिया बिहीबार बिहान १० बजेदेखि सुरु भइसकेको छ भने असार ८ गते साँझ ५ बजेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। अन्तिम मनोनयन समग्र योग्यताक्रम (ओभरअल मेरिट) का आधारमा गरिने महानगरले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका