Wednesday, June 24, 2026
Home Blog Page 560

डोटीमा आठ करोडको सुन्तला उत्पादन

0

दिपायल (डोटी):डोटी जिल्लामा एक वर्षको अवधिमा रु आठ करोड मूल्यको सुन्तला उत्पादन भएको छ। यहाँ उत्पादित अधिकांश सुन्तला अन्य जिल्लामा निर्यात गरिएको छ। कृषि ज्ञान केन्द्रका अनुसार, आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा तीन हजार चार सय आठ दशमलव ६२ मेट्रिक टन सुन्तला उत्पादन भएको छ।

यस उत्पादनबाट कृषकहरूले रु आठ करोड आम्दानी गरेका छन्, केन्द्रका प्रमुख गङ्गादत्त अवस्थीले जानकारी दिनुभएको छ। यस वर्ष दुई सय ६२ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको थियो। वर्ष २०७८/७९ मा २,९३२ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो भने २०७९/८० मा उत्पादन बढेर ३,२४० मेट्रिक टन पुगेको अवस्थीले बताउनुभयो।

सुन्तलाखेतीको विस्तार सम्भावना जेरायल गाउँपालिका–५ र ६, बोगटान गाउँपालिका–१, २, ७ र बडीकेदार गाउँपालिका–१, पातल मुडा रजेडा, वडा नं २ को छेडा, कोटक्यान्या, वडा नं ४ को खेताली टिमुट्ट, रनुकाँडा, पुन्तडा र वडा नं ५ को लानाका बस्तीहरूमा रहेको केन्द्रले जनाएको छ।

डोटीमा उत्पादित अधिकांश सुन्तला अत्तरिया, धनगढी, महेन्द्रनगर, नेपालगञ्जका व्यापारीहरूले खरिद गर्छन्। किसानहरूले सुन्तला बेच्नका लागि व्यापारीहरूलाई बगैँचासम्म ल्याउने गर्दछन्।

कृषकलाई प्रोत्साहन गर्न र सुन्तला उत्पादन बढाउन कृषि ज्ञान केन्द्रले विभिन्न सामग्री जस्तै सिडी, क्रेट, कैँची लगायतका सामग्रीहरू उपलब्ध गराउँदै आएको छ। आगामी दिनमा कृषि उपजको ‘ब्रान्डिङ’ गरी बाहिर निर्यात गर्न आवश्यक कार्यक्रमहरू सञ्चालन गर्ने योजना केन्द्रका प्रमुख अवस्थीले उल्लेख गर्नुभएको छ।

सुन्तला उत्पादनको हिसाबले डोटीका बडीकेदार, बोगटान फुड्सिल र जेरायल गाउँपालिकाहरू प्रमुख मानिन्छन्, तर अन्य स्थानहरूमा पनि सुन्तला उत्पादन हुँदै आएको ज्ञान केन्द्रले जनाएको छ।

डोटीका कृषकहरूले सामान्यत: एक जनाले रु ४० हजारदेखि १५ लाखसम्मको सुन्तला बिक्री गर्दै आएका छन्। केन्द्रका प्रमुख अवस्थीका अनुसार, पछिल्लो समय कृषि उपज सङ्कलनका लागि व्यापारीहरूले किसानको घरसम्म पुग्ने गरेका छन्, जसले बजारीकरणको समस्या कम गरेको छ। सुदूरपश्चिमका प्रमुख सहरहरूमा सुन्तलाको मूल्य प्रतिकिलो रु १०० मा बिक्री हुने गरेको छ भने किसानहरूले तुलनात्मक रूपमा रु ५० देखि ६१ प्रति किलोका दरमा बारीमा बिक्री गर्दै आएका छन्।

ट्रम्पको २५ प्रतिशत ट्यारिफ मेक्सिको र क्यानाडामाथि, चीनलाई थप १० प्रतिशत कर

0

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानाडामा आयात हुने वस्तुहरूमाथि २५ प्रतिशत ट्यारिफ लगाउने निर्णय गरेका छन्। ह्वाइट हाउसले यसलाई पुष्टि गरेको छ।

यसैबिच, ट्रम्पले चीनमाथि १० प्रतिशत थप कर लगाएका छन्, तर क्यानाडाबाट आयात हुने विद्युतमा भने १० प्रतिशत कम ट्यारिफ लाग्ने जनाइएको छ। ह्वाइट हाउसले यो निर्णय अमेरिकामा फेन्टेनाइल संकटसँग जुझ्नका लागि गरिएको बताएको छ। क्यानाडाली वस्तुहरूमाथिको ट्यारिफ आगामी मंगलबारदेखि लागू हुने छ।

यसको प्रतिक्रिया स्वरूप क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले एक घोषणा गर्न तयारी गरेका छन्, जबकि मेक्सिकोका राष्ट्रपति क्लाउडिया शिनबामले अमेरिकाबाट ट्यारिफ थोपर्ने कदमलाई ‘चिसो दिमाग’का साथ सामना गर्ने बताएका छन्।”

नेपालमा प्रविधि र पुँजी भित्र्याउन महासचिव पोखरेलको प्रवासी नेपालीलाई आग्रह

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले जापानमा रहेका नेपाली प्रवासीलाई मुलुकमा प्रविधि र पुँजी भित्र्याउँदै कृषि र पर्यटन क्षेत्रको विकासमा लगानी गर्न आग्रह गर्नुभएको छ।

प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी जापानले नागोयामा आयोजना गरेको ‘देशको समसामयिक परिवेश तथा नेपालको आर्थिक विकासमा प्रवासी नेपालीहरूको लगानीका अवसर र चुनौतीहरू’ विषयक कार्यक्रममा महासचिव पोखरेलले नेपालमा लगानीका सम्भावनाहरूलाई उपयोग गर्न आग्रह गर्नुभयो।

उहाँले पुराना, बीचका र नयाँ पुस्ताबीचको समन्वयले मात्रै राजनीतिलाई जीवन्त राख्न सकिने धारणा राख्नुभएको स्वकीय सचिव सरोज रेग्मीले जानकारी दिनुभयो।

महासचिव पोखरेलले पार्टीको कार्यशैलीमा सकारात्मक सुधार भएको दाबी गर्दै कार्यकर्ताको सहभागिता उल्लेखनीय रहेको तर जनतासँग जीवन्त सम्बन्ध कायम गर्न नसक्नु कमजोरी भएको बताउनुभयो। उहाँले अभियानका क्रममा जनतासँग संवाद गर्दै मुलुकको विकास र समृद्धिको मार्गमा आत्मविश्वासका साथ अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो।

उहाँले जापानको हिरोसिमा पिस मेमोरियल पार्कको अवलोकन पनि गर्नुभएको स्वकीय सचिव रेग्मीले जानकारी दिनुभयो। प्रवासी नेपाली मञ्चको कार्यक्रममा सहभागी हुन महासचिव पोखरेलसहित एमालेका केन्द्रीय सदस्य सूर्य पाठक माघ १५ गते जापान जानुभएको थियो। उहाँ यही माघ २३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

जलवायुको असर र अतिक्रमणको मारमा सिमसार

0

काठमाडौँ: विश्वमा प्रत्येक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने विश्व सिमसार दिवस यस वर्ष ‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको नाराले सिमसार क्षेत्र र मानव जीवनबीच भविष्यको अन्तरसम्बन्धमा जोड दिएको छ ।

सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ । ताल, तलैया, पोखरी, नदी, खोला, झरना, धानखेत आदि सिमसार क्षेत्रअन्तर्गत पर्छन् । जैविक विविधताको दृष्टिले महत्त्वपूर्ण प्राकृतिक स्थलका रूपमा रहेको सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्नाका साथै मानिसलाई जीवनयापनका स्रोत प्रदान गर्छ ।

सिमसार क्षेत्रको संरक्षण र संवद्र्धन गर्ने हेतुले यो दिवस मनाइने गरेको छ । यद्यपि नेपालमा पछिल्लोपटक जलवायु परिवर्तनका असरले मौसममा देखिएको परिवर्तन र मानवीय गतिविधिको अतिक्रमणले सिमसार क्षेत्र सीमित हुँदै गएको देखिन्छ । तिनको क्षेत्रफल र गुणस्तर दिनानुदिन घट्दै गइरहेको छ । केही स्थानका सिमसार लोपसमेत भइसकेका छन् ।

यसबाहेक सिमसार क्षेत्रमा बढ्दो जनसङ्ख्या र बसाइँसराइ, नदीखोला तथा आसपासमा फोहरमैला विसर्जन, गरिबी र बेरोजगारी, परम्परागत कृषि प्रणालीमा भएको रूपान्तरण, सिमसारजन्य स्रोतको अधिक दोहन, बाह्य मिचाहा प्रजातिको अतिक्रमण, रासायनिक मल र विषादीको मिसावट, जथाभावी पूर्वाधार निर्माणलगायत चुनौती थपिएका
छन् ।

जनचेतनाको कमी र सूचनाको अभावका कारण मानवीय गतिविधिले सिमसारको अतिक्रमण बढ्दो छ । वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दिवसका अवसरमा वन परिसर प्रवेशद्वारमा रहेको होर्डिङ बोर्डमा नारा अङ्कित ब्यानर अनावरण गर्ने गरेको छ । यसबाहेक प्रदेशका वन मन्त्रालय, संरक्षित क्षेत्र र डिभिजन वन कार्यालयले आ–आफ्नो स्तरमा दिवसका विभिन्न कार्यक्रम गरी दिवस मनाउने गरिएको विभागका उपमहानिर्देशक वेदकुमार ढकालले राससलाई जानकारी दिनुभयो ।

विश्वव्यापी रूपमा सिमसार क्षेत्रको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले सिमसार महासन्धि (रामसार महासन्धि) सन् १९७१ मा इरानको रामसार सहरमा भएको थियो । रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन फेब्रुअरी २ तारिखलाई स्मरण गर्दै विश्व सिमसार दिवस मनाउन सुरु गरिएको हो ।

“जलवायुको असरका कारण वर्षा पनि कम हुँदै गएको छ । सिमसार क्षेत्रमा पछिल्लो समय पानीका स्रोत घट्दै गएका छन् । नदीको उपयोगमा सबैको जोड छ तर संरक्षणको दायित्व कसको भन्नेमा द्विविधा देखिन्छ”, उपमहानिर्देशक ढकालले भन्नुभयो, “कतिपय पालिकाका नदी खोलामै डम्पिङ छन्, यसमा तीनै तहका सरकारको ध्यान जान आवश्यक छ । सिमसार जोगाउनका लागि ‘वाटर हार्बेस्टिङ’मा लगानी गर्नु आवश्यक छ ।” सिमसार संरक्षणका लागि विभागले विद्यमान पोखरीको संरक्षण र नयाँ पोखरीसमेत निर्माण गरिरहेको उहाँले जानकारी गराउनुभयो ।

रामसार महासन्धिले अन्तर्राष्ट्रिय महत्व बोकेका तथा अति संवेदनशील सङ्कटापन्न र खतरापूर्ण जैविक प्रजाति वा पारिस्थितिकीय समुदायलाई आश्रय प्रदान गर्ने सिमसारलाई रामसारको सूचीमा सूचीकृत गर्ने गर्छ । हालसम्म यसमा आबद्ध देशको सङ्ख्या एक सय ७२ पुगेको छ । साथै दुई हजार चार सय २२ सिमसार रामसारको सूचीमा सूचीकृत छन् । सन् १९८७ डिसेम्बर १७ मा कोशीटप्पु वन्यजन्तु आरक्षलाई रामसार क्षेत्रमा सूचीकृत गरेर नेपाल सन् १९८८ अप्रिल १७ देखि रामसार महासन्धिको पक्ष राष्ट्र बनेको हो ।

रामसार सूचीमा हाल नेपालका कोशीटप्पु, घोडाघोडी ताल क्षेत्र, जगदीशपुर जलाशय, बिसहजारी तथा आसपासका ताल, राराताल, फोक्सुन्डो ताल, गोसाइँकुण्ड तथा आसपासका ताल, गोक्यो तथा आसपासका ताल, माईपोखरी र पोखरा उपत्यका विभिन्न ताल सूचीकृत छन् । यी सिमसार क्षेत्रले ओगटेको कुल क्षेत्रफल ६० हजार पाँच सय ६१ हेक्टर छ । सिमसार संसारको सबैभन्दा जैविक विविधता भएको बासस्थानमध्ये एक हो र धेरै लोपोन्मुख प्रजातिको बासस्थान पनि हो । विश्वको ४० प्रतिशत वनस्पति र वन्यजन्तु प्रजाति सिमसारमा बस्छन् वा प्रजनन गर्छन् ।

सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर, कीटपतङ्ग र बोटबिरुवाका लागि महत्त्वपूर्ण बासस्थान हो । यस्तै नेपालमा पाइने एक सय ७२ लोपोन्मुख प्रजातिका वनस्पति र प्राणी सिमसारमा आश्रित छन् । नेपालमा पाइने आठ सय ७८ प्रजातिका चरामध्ये सिमसारमा एक सय ९३ प्रजातिका चरा, २० प्रजातिका मेरुदण्ड भएका जीवमध्ये १७ प्रजातिका जीव र सात हजार प्रजातिका वनस्पतिमध्ये २५ प्रतिशत सिमसारमा आश्रित रहेको विभागको तथ्याङ्क
छ । त्यस्तै दुई सय ४६ रैथाने फुल्ने प्रजातिका वनस्पति सिमसारमा आश्रित छन् ।

जलवायुको असर र अतिक्रमणको मारमा सिमसार

विश्वमा पछिल्लो समय जलवायुका असर तीव्र रूपमा देखापरेका छन् । अझ नेपालजस्ता संवदेनशील भूबनोट र पर्वतीय मुलुकमा त जलवायुको असर झन् प्रत्यक्ष र विकराल बन्दै गएको छ । विगत केही समय यतादेखि जलवायु परिवर्तनसँगै नेपालमा सिमसार क्षेत्रका रूपमा रहेका ताल, तलैया, घोल, नदी, चिस्यान क्षेत्रमा व्यापक परिवर्तन आएको छ । समग्रतामा वर्षाको मात्रामा देखिएको कमीले सुक्खा क्षेत्र वृद्धि हुनु, मिचाहा प्रजातिका वनस्पतिको वृद्धिलगायत कारण पनि सिमसार क्षेत्र सङ्कुचन भएको वा गुणस्तरमा कमी आएको यस क्षेत्रका जानकारहरूको भनाइ छ ।

मन्त्रालयको वातावरण विभागका उपसचिव मधु घिमिरेका अनुसार जलवायुको असरका साथै प्राकृतिक स्रोतको अधिकतम् दोहनले गर्दा सिमसार क्षेत्रमा पानीको कमी भएर सुक्खा क्षेत्रको वृद्धिले चुनौती थपिएको छ । “सिमसारको अत्यधिक दोहन, भूमि अतिक्रमण, प्रदूषण, जथाभावी पूर्वाधार निर्माण, पानीका मुहान तथा दलदल क्षेत्रको मर्मतसम्भार नहुँदा सिमसारको संरक्षण र व्यवस्थापनमा चुनौती देखिएको छ”, उहाँले भन्नुभयो ।

विश्वको करिब नौ प्रतिशत र नेपालको करिब पाँच प्रतिशत भूभाग सिमसार क्षेत्रले ओगटेको छ । नेपालका तराई, पहाड र हिमाली क्षेत्रमा अन्तर्राष्ट्रिय महत्व बोकेका सिमसार क्षेत्र छन् । विश्व संरक्षण सङ्घ नेपालको अभिलेखअनुसार नेपालमा एक सय ६३ सिमसार तराईमा छन्भने ७९ सिमसार हिमाली तथा पहाडी क्षेत्रमा छन् ।

सिमसारले जलवायु परिवर्तन तथा भूविनाशको असरलाई न्यूनीकरण गर्दै पर्यावरणीय सुरक्षा कवचसमेत प्रदान गर्दछ । पछिल्लो समय पर्यापर्यटनको गन्तव्य बन्दै गएको सिमसार क्षेत्रमा पाइने चराचुरुङ्गी, वन्यजन्तुको अवलोकनलगायत प्राकृतिक सौन्दर्यको अनुभव पनि यसले उपलब्ध गराएको छ ।

वन मन्त्रालयले सिमसार क्षेत्रका चुनौतीलाई मध्यनजर गरी प्रदेश र स्थानीय तहसँगको समन्वयमा सिमसार क्षेत्र संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम तथा नीति अघि बढाएको वन तथा भू–संरक्षण विभागका महानिर्देशक बद्रीराज ढुङ्गानाले जानकारी दिनुभयो । सिमसारमा जल र जमिनको क्रिया र प्रतिक्रियाबाट जल परिचालन र शुद्धीकरणको प्रक्रिया चलिरहने हुनाले सिमसारलाई प्रकृतिको मिर्गाैला पनि भन्ने गरिन्छ ।

“सिमसारले वस्तु र सेवा प्रदान गर्नुका साथै पानीका स्रोत संरक्षण गर्छ । पानीको गुणस्तर कायम राख्न, जलचक्र र जलवायुलाई नियमित गर्न तथा तापमानलाई सन्तुलन गर्न पनि सिमसारको महत्व छ । तसर्थ यसको संरक्षणमा सबैको हातेमालो आवश्यक छ”, महानिर्देशक ढुङ्गानाले भन्नुभयो ।

सरकारले सिमसार क्षेत्रको संरक्षणका लागि विभिन्न कानुनी र नीतिगत व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो । नेपालले संविधान, जलस्रोत संरक्षण ऐन– २०४९, स्थानीय सरकार सञ्चालन ऐन– २०७४, वातावरण संरक्षण ऐन– २०७६, जलचर संरक्षण ऐन– २०१७, राष्ट्रिय सिमसार नीति– २०६९ एवं आवधिक योजनाहरू तथा राष्ट्रिय रामसार रणनीति तथा कार्ययोजना (सन् २०१८–२४)लगायत नीति र कानुनमार्फत सिमसारको संरक्षण, संवर्द्धन र व्यवस्थापनमा वन मन्त्रालयले प्रतिबद्धता जनाउँदै आएको जनाएको छ ।

आजको मौसम : पश्चिमी वायुको सामान्य प्रभाव

0

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

बुलेटिनका अनुसार तराईका धेरै स्थानमा कुहिरो लाग्ने छभने कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

आगामी २४ घण्टामा देशका तराई तथा उपत्यकाका केही स्थानमा बिहानको समयमा कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

लुम्बिनी प्रदेशका सहकारीको वर्गीकरण गरिँदै

0

तुलसीपुर (दाङ): लुम्बिनी प्रदेश सरकारले सहकारी संस्थाहरूलाई वर्गीकरण गर्ने प्रक्रिया सुरु गरेको छ। लुम्बिनी प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष टीकाराम पोख्रेलका अनुसार सहकारीलाई पाँच भागमा वर्गीकरण गरिने छ।

उपाध्यक्ष पोख्रेलले सहकारीको गुणस्तरलाई ध्यानमा राखेर वर्गीकरण गर्न लागिएको बताए। “राम्रा र कमजोर सहकारीलाई एउटै वर्गमा राख्न मिल्दैन,” उनले भने, “त्यसैले वर्गीकरण प्रणाली लागू गर्न लागिएको हो।”

५२ सूचकका आधारमा वर्गीकरण
सहकारी संस्थाहरूलाई वर्गीकरण गर्न ५२ सूचकको आधार अपनाइनेछ। जसमा प्राल्स अनुगमन प्रणालीका १४, एमसीआईसम्बन्धी तीन, र सुशासनसँग सम्बन्धित ३५ सूचक समावेश छन्।

मुख्य आधारहरूमा निम्न विषयहरू समावेश छन्:

ऋण सुरक्षणको अवस्था
भाका नाघेको ऋण
वार्षिक साधारणसभा
लेखापरीक्षण र आन्तरिक लेखापरीक्षण
सम्पत्ति शुद्धीकरण निवारण
सेवा, बचत र सदस्य अनुपात
पुँजी संरचना
वर्गीकरण प्रक्रिया र कर्मचारी परिचालन
वर्गीकरणका लागि सबै सहकारी संस्थालाई पत्राचार गरिएको छ। प्रदेशका १२ वटै जिल्लामा ५० जना कर्मचारीलाई तालिम दिएर परिचालन गरिएको छ।

लुम्बिनी प्रदेशमा हाल ८४८ सहकारी संस्था प्रदेश मातहतमा छन्। पहिलो चरणमा प्रदेशस्तरीय सहकारीहरूको वर्गीकरण गरिनेछ भने दोस्रो चरणमा स्थानीयस्तरका सहकारीहरूको वर्गीकरण गरिने उपाध्यक्ष पोख्रेलले बताए।

लुम्बिनीमा हाल चार हजारभन्दा बढी सहकारी संस्था रहेका छन्। यस वर्गीकरणले सहकारीहरूको पारदर्शिता र प्रभावकारितामा सुधार ल्याउने अपेक्षा गरिएको छ।

ताप्लेजुङको टिप्ताला भञ्ज्याङसम्म पहिलोपटक मोटरसाइकल यात्रा सफल

0

फुङ्लिङ (ताप्लेजुङ): समुद्री सतहबाट ५,१०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्ज्याङसम्म पहिलोपटक मोटरसाइकल यात्रा गरिएको छ। गत बुधबार चन्द्र माबोले यो साहसिक यात्रा पूरा गरेका हुन्।

राष्ट्रिय गौरवको आयोजना तमोर करिडोरले नेपाललाई भारत र चीनसँग जोड्ने महत्वपूर्ण भूमिका खेलेको छ। भारतको जोगबनीबाट सुरु हुने यो करिडोर चीनको तिब्बतसँग जोडिन्छ। हालै चीनको सिमावर्ती क्षेत्र ओलाङचुङगोला पुग्ने बोलेरो गाडी सञ्चालनमा आएपछि थप २४ किलोमिटर कठिन हिमाली सडक पार गर्दै मोटरसाइकल टिप्ताला भञ्ज्याङसम्म पुगेको हो।

पहिलो मोटरसाइकल यात्रा
फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका कार्यपालिका सदस्य टासी शेर्पाले यसअघि गाडी टिप्तालासम्म पुगेको भए पनि मोटरसाइकलले पहिलोपटक यो यात्रा पूरा गरेको बताए।

चन्द्र माबोका अनुसार सुकेपानीदेखि ओलाङचुङगोला खण्डसम्मको यात्रा अत्यन्त कठिन छ। अझ ओलाङचुङगोलाबाट माथि हिमाली क्षेत्रको जटिलताले यात्रा झन् चुनौतीपूर्ण हुने उनले बताए। अत्यधिक चिसो, अक्सिजनको कमी, र मोटरसाइकलको शक्ति घट्ने समस्याले यात्रा जोखिमपूर्ण बनाएको माबोले अनुभव सुनाए।

पर्यटन र व्यापारमा नयाँ सम्भावना

फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूका अनुसार यो सफल यात्राले टिप्ताला भञ्ज्याङलाई साहसिक पर्यटनका लागि नयाँ गन्तव्य बनाउन सहयोग गर्नेछ। लिम्बूले टिप्ताला क्षेत्रलाई व्यापारिक केन्द्रसँगै पर्यटकीय गन्तव्यका रूपमा पनि विकास गर्ने लक्ष्य रहेको बताए।

मोवाटार (४,२०० मिटर) हुँदै टिप्ताला पुग्ने यो यात्रा कठिन उकालोले भरिएको छ। सडकमा हिउँ जम्ने हुँदा गाडी तथा मोटरसाइकल चलाउन चुनौतीपूर्ण हुने चालक आइतराज थेबेले बताए। सावधानीपूर्वक यात्रा गर्नुपर्ने उनले सुझाए।

स्थानीयमा उत्साह
नेपाल र चीनको तिब्बत जोड्ने टिप्तालासम्म नेपाली गाडी र मोटरसाइकल पुगेपछि स्थानीय उत्साहित भएका छन्। विशेषगरी ओलाङचुङगोला, याङ्मा र घुन्साका स्थानीयले यस सडक विस्तारले यातायात सहज बनाउने अपेक्षा गरेका छन्।

विराटनगरको रानीबाट तमोर करिडोर हुँदै उत्तर-दक्षिण लोकमार्गमार्फत तिब्बतसँगको सिमाना टिप्ताला जोडिएको छ। दुई सय ९२ किलोमिटर लामो यो सडक भारत, नेपाल र चीनलाई जोड्ने छोटो मार्गका रूपमा हेरिएको छ।

सिरुबारी होमस्टे पर्यटकको रोजाइमा (तस्बिरसहित)

0

काठमाडौं: स्याङ्जाको सिरुबारी नेपालको पहिलो होमस्टे मानिन्छ। वि.सं. २०५४ मा आदिखोला गाउँपालिका–१ मा यस होमस्टेको सुरुवात गरिएको थियो।

भारतीय सेनाका क्याप्टेन रुद्रमान गुरुङको परिकल्पना र नेतृत्वमा सिरुबारी होमस्टे सञ्चालनमा आएको हो। स्थानीय बासिन्दामध्ये धेरैजसो भारतीय सेनामा कार्यरत थिए।

क्याप्टेन गुरुङ भारतीय सेनामा कार्यरत रहँदा सिक्किम पुगेका थिए। त्यहाँको होमस्टे अवधारणाले उनलाई प्रेरित गर्‍यो। स्याङ्जाको पर्यटकीय विकास गर्ने सोच बनाएर उनले स्थानीयको सहयोगमा सिरुबारीमा होमस्टे सुरु गरे।

समुद्री सतहबाट १,६१० मिटर उचाइमा रहेको सिरुबारी अहिले नेपालका उत्कृष्ट पर्यटकीय गन्तव्यहरूमध्ये एक मानिन्छ। सिरुबारीको सफलता पछ्याउँदै देशभर थुप्रै होमस्टे सञ्चालनमा आएका छन्।

भ्यालि भ्यु स्कुल, नयाँ बानेश्वरका प्रिन्सिपल सुभाषचन्द्र भण्डारीले कक्षा १० का विद्यार्थीलाई सिरुबारी होमस्टे भ्रमणमा लगेपछि यसलाई निकै मनोरम गन्तव्यको रूपमा वर्णन गरे। गुरुङ समुदायको जीवनशैली, संस्कृति, आतिथ्य र आत्मीयता सिरुबारीको प्रमुख आकर्षण भएको उनले बताए।

सिरुबारीको शिरान देउरालीबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमालको लहर देख्न सकिने उनले अनुभव सुनाए।

अमेरिकामा पुन: अर्को विमान दुर्घटना, ६ जनाको मृत्यु

0

काठमाडौं: अमेरिकाको उत्तरपूर्वी फिलाडेल्फियामा गएराति निजी विमान दुर्घटना हुँदा सबै ६ जनाको मृत्यु भएको छ। विमान भवनमा ठोक्किएर विस्फोट भएपछि उक्त दर्दनाक घटना घटेको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विमानमा चालकदलका चार सदस्य, एक बालक र उनकी आमा सवार थिए। सबैको घटनास्थलमै मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्।

विमान ठोक्किएपछि विस्फोट
अधिकारीहरू र प्रत्यक्षदर्शीहरूका अनुसार विमान भवनमा ठोक्किएपछि ठूलो विस्फोट भएको थियो। विस्फोटपछि जमिनमा रहेका केही मानिस घाइते भएका छन् भने वरपरका घर र गाडीमा आगलागी भएको छ।

मेक्सिकोका नागरिकको मृत्यु
दुर्घटनामा परेका सबै ६ जना मेक्सिकोका नागरिक भएको पुष्टि भएको छ। विमान मिसौरीको स्प्रिंगफिल्ड-ब्रान्सन राष्ट्रिय विमानस्थलतर्फ गइरहेको थियो।

यसअघि पनि ठुलो दुर्घटना
गत बुधबार मात्र अमेरिकाको वासिङ्टन डिसीस्थित रोनाल्ड रेगन नेशनल विमानस्थल नजिक यात्रुवाहक विमान र सैन्य हेलिकप्टर ठोक्किँदा ६७ जनाको मृत्यु भएको थियो।

अनुसन्धान सुरु
अमेरिकी नागरिक उड्डयन प्राधिकरण (FAA) र राष्ट्रिय यातायात सुरक्षा बोर्ड (NTSB) ले दुर्घटनाको विस्तृत छानबिन सुरु गरेको जनाइएको छ। प्रारम्भिक अनुसन्धानमा प्राविधिक खराबी वा पाइलट त्रुटि भएको अनुमान गरिएको छ।

अमेरिकामा बढ्दै गएका यस्ता दुर्घटनाहरूले हवाई सुरक्षामा चुनौती खडा भएको भन्दै विशेषज्ञहरूले गम्भीर सुरक्षा सुधारको आवश्यकता औंल्याएका छन्।

हमासले गर्‍यो दुई बन्दी रिहा

0

गाजामा युद्धविरामको बीच हमासद्वारा बन्दी रिहा, भारी सुरक्षाका साथ शक्ति प्रदर्शन
गाजा:गाजाको बन्दरगाह क्षेत्रमा हमासका सयौं लडाकुहरू व्यापक सुरक्षा सतर्कताका बीच देखिएका छन्। ती लडाकुहरू युद्धविराम सम्झौताअन्तर्गत रिहा गरिएका कैदीहरूलाई सुरक्षित ढंगले बाहिर ल्याउन परिचालन गरिएको हो।

हमासको सशस्त्र शाखा अल-कासाम ब्रिगेडका मास्क लगाएका लडाकुहरू गाजा सहरको बन्दरगाह क्षेत्रमा उपस्थित भएका थिए। उनीहरू भारी हतियारसहित क्षेत्रको सुरक्षा निगरानी गरिरहेका थिए।

तेस्रो इजरायली बन्दीको रिहाइ
युद्धविराम सम्झौताअनुसार हमासले तेस्रो इजरायली बन्दी किथ सिगललाई रेड क्रसको मध्यस्थतामा रिहा गरेको छ। रिहाइको समयमा रेड क्रसका गाडीहरू बन्दरगाहमा तयारी अवस्थामा थिए।

हमासका लडाकुहरूले नागरिकलाई टाढा राख्दै बन्दरगाहको क्षेत्रलाई पूर्ण नियन्त्रणमा लिएको दृश्य सार्वजनिक भएको छ। विश्लेषकहरूका अनुसार हमासले यसमार्फत आफ्नो सैन्य शक्ति प्रदर्शनको सन्देश दिन खोजेको छ।

इजरायली सेनाले रिहा गरिएका बन्दीहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण गरिएको जानकारी दिएको छ। युद्धविराम सम्झौता अन्तर्गत थप कैदीहरूको रिहाइ हुन सक्ने अपेक्षा गरिएको छ।

यसैबीच, युद्धविरामलाई स्थिर बनाउने प्रयास जारी रहे पनि दुवै पक्षबीचको तनाव घटेको देखिँदैन। अन्तर्राष्ट्रिय समुदायले द्वन्द्व समाधानका लागि कूटनीतिक पहललाई अघि बढाउन आह्वान गरेको छ।