काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले जापानमा रहेका नेपाली प्रवासीलाई मुलुकमा प्रविधि र पुँजी भित्र्याउँदै कृषि र पर्यटन क्षेत्रको विकासमा लगानी गर्न आग्रह गर्नुभएको छ।
प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी जापानले नागोयामा आयोजना गरेको ‘देशको समसामयिक परिवेश तथा नेपालको आर्थिक विकासमा प्रवासी नेपालीहरूको लगानीका अवसर र चुनौतीहरू’ विषयक कार्यक्रममा महासचिव पोखरेलले नेपालमा लगानीका सम्भावनाहरूलाई उपयोग गर्न आग्रह गर्नुभयो।
उहाँले पुराना, बीचका र नयाँ पुस्ताबीचको समन्वयले मात्रै राजनीतिलाई जीवन्त राख्न सकिने धारणा राख्नुभएको स्वकीय सचिव सरोज रेग्मीले जानकारी दिनुभयो।
महासचिव पोखरेलले पार्टीको कार्यशैलीमा सकारात्मक सुधार भएको दाबी गर्दै कार्यकर्ताको सहभागिता उल्लेखनीय रहेको तर जनतासँग जीवन्त सम्बन्ध कायम गर्न नसक्नु कमजोरी भएको बताउनुभयो। उहाँले अभियानका क्रममा जनतासँग संवाद गर्दै मुलुकको विकास र समृद्धिको मार्गमा आत्मविश्वासका साथ अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो।
उहाँले जापानको हिरोसिमा पिस मेमोरियल पार्कको अवलोकन पनि गर्नुभएको स्वकीय सचिव रेग्मीले जानकारी दिनुभयो। प्रवासी नेपाली मञ्चको कार्यक्रममा सहभागी हुन महासचिव पोखरेलसहित एमालेका केन्द्रीय सदस्य सूर्य पाठक माघ १५ गते जापान जानुभएको थियो। उहाँ यही माघ २३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।


