Wednesday, June 24, 2026
Homeअन्तराष्ट्रियपद्मभूषणबाट सम्मानित अलका याग्निक भावुक, भनिन्– ‘यो सम्मान मेरा श्रोताहरूको पनि हो’

पद्मभूषणबाट सम्मानित अलका याग्निक भावुक, भनिन्– ‘यो सम्मान मेरा श्रोताहरूको पनि हो’

काठमाडौं । प्रसिद्ध पार्श्व गायिका अलका याग्निकले भारतको प्रतिष्ठित पद्मभूषण पुरस्कार प्राप्त गरेपछि खुसी र कृतज्ञता व्यक्त गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत सम्मानप्रति आभार प्रकट गर्दै विगत दुई वर्षमा आफूले भोगेका स्वास्थ्य चुनौतीबारे पनि खुलासा गरेकी छन्।

इन्स्टाग्राममा भावुक सन्देश साझा गर्दै अलका याग्निकले विगत दुई वर्षदेखि सार्वजनिक कार्यक्रम, सञ्चारमाध्यम तथा सामाजिक गतिविधिबाट टाढा रहनुको कारण स्वास्थ्य समस्या रहेको बताइन्।

उनले लेखेकी छन्, “विगत दुई वर्षदेखि म लाइमलाइट, सार्वजनिक कार्यक्रम र मानिसहरूसँग मेरो व्यक्तिगत यात्रा साझा गर्ने कामबाट टाढा छु। यस अवधिमा म कठिन स्वास्थ्य अवस्थाबाट गुज्रिरहेकी थिएँ। तर मेरा प्रशंसकहरूको माया, प्रार्थना, सन्देश र निरन्तर समर्थनले मलाई हरेक कदममा साथ दियो।”

पद्मभूषण प्राप्त गर्नु आफ्नो जीवनको अत्यन्त गौरवपूर्ण क्षण भएको उल्लेख गर्दै उनले यो सम्मान केवल आफ्नो मात्र नभई आफ्ना लाखौं श्रोताहरूको पनि भएको बताइन्।

उनले भनिन्, “देशको सर्वोच्च नागरिक सम्मानहरूमध्ये एक पद्मभूषण प्राप्त गर्नु मेरो लागि ठूलो सम्मान र विनम्रताको विषय हो। यो सम्मान ती सबै श्रोताहरूको पनि हो, जसले मेरो आवाजलाई आफ्नो जीवनको हिस्सा बनाएका छन् र हरेक सुख–दुःखमा साथ दिएका छन्।”

मंगलबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा द्रौपदी मुर्मु ले अलका याग्निकलाई पद्मभूषण पुरस्कार प्रदान गरेकी थिइन्।

करिब दुई वर्षअघि अलका याग्निकले आफू ‘सेन्सोरिन्युरल हियरिङ लस’ (श्रवणशक्ति क्षय) समस्याबाट पीडित रहेको जानकारी सार्वजनिक गरेकी थिइन्। यस अवस्थाले व्यक्तिको सुन्ने क्षमतामा असर पार्ने गर्दछ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका