काठमाडौं । नेपालमा बर्ड फ्लु (एच५एन१) संक्रमण ११ जिल्लामा फैलिएको छ। तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हाल झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेसम्म फैलिएको पशु सेवा विभागले जनाएको छ।
संक्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा हालसम्म ५ लाख ६९ हजार ८५८ वटा कुखुरा नष्ट गरिएको छ। साथै ९ लाख ८९ हजार ३१३ वटा अण्डा र १ लाख ९५ हजार ४८५ किलोग्राम दाना पनि नष्ट गरिएको विभागले जानकारी दिएको छ।
पशु सेवा विभागका अनुसार कोशी प्रदेशमा एक महिनाभित्र संक्रमण नियन्त्रणमा ल्याउन सफल भएको दाबी गरिएको छ। संक्रमित क्षेत्रमा कुखुरा, अण्डा तथा दानाको ओसारपसारमा कडाइ गरिएको छ भने जोखिमयुक्त फार्महरूमा जैविक सुरक्षा मापदण्ड लागू गरिएको जनाइएको छ।
हाल प्रयोगशालामा परीक्षण गरिएका नमुनाहरूमा बर्ड फ्लुका एच५एन१ र एच९एन२ भाइरसका साथै न्यूक्यासल रोगका भाइरससमेत फेला परेको विभागले जनाएको छ।
विभागले किसानलाई संक्रमित वा शंकास्पद कुखुराको व्यवस्थापन गर्दा विशेष सावधानी अपनाउन, मृत कुखुरा खुला स्थानमा नफाल्न तथा कुनै अस्वाभाविक रूपमा कुखुरा बिरामी वा मरेको देखिए तत्काल नजिकको पशु सेवा कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ।
पशु सेवा विभागका महानिर्देशक डा. रमेश दाहाल ले कुखुरा पालन व्यवसायीलाई फार्ममा जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न र संक्रमण नियन्त्रण अभियानमा सक्रिय सहयोग गर्न अपिल गरेका छन्।


