काठमाडौं: ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणको विवाद समाधान गर्न सरकार वार्ता प्रक्रियामा जुटेको छ। गृह मन्त्रालयले सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ।
गृह मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, र सहरी विकास मन्त्रालयका प्रतिनिधि समेत सहभागी टोलीले विवाद समाधानका लागि वार्ता र संवाद गर्नेछ।
गृह मन्त्रालयले आन्दोलनरत पक्षलाई कार्यक्रम फिर्ता लिई संवादमा सहभागी हुन अपिल गरेको छ। सहसचिव एवं प्रवक्ता रामचन्द्र तिवारीका अनुसार वार्ता टोलीले तत्काल कार्य प्रारम्भ गर्नेछ।
गृहमन्त्री रमेश लेखकले ताप्लेजुङ र छिमेकी जिल्लाका प्रतिनिधिसभा सदस्यहरूसँग नियमित संवाद गर्दै समस्या समाधानमा आवश्यक पहल गरिरहेको मन्त्रालयले जनाएको छ।
सरकारको कार्यविभाजन नियमावली, २०७४ अनुसार केवलकारसम्बन्धी नीति र मापदण्ड संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित देखिएकाले स्थानीय सरोकारका विषयलाई ध्यानमा राखी समन्वय गरिएको छ।
मन्त्रालयका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समन्वय र सहजीकरणका लागि अनुरोध गरिएको छ।
गृह मन्त्रालयले समस्या बहुपक्षीय सरोकारको भएको र शान्ति सुरक्षाको व्यवस्था पनि आवश्यक भएकाले अन्य सरोकारवाला निकायहरूसँग समन्वय गृह मन्त्रालयबाटै गर्न उपयुक्त हुने जनाएको छ।












