Wednesday, June 24, 2026
Home Blog Page 558

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

0

काठमाडौँ: कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि विभिन्न कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार प्रस्तुत फलफूल र तरकारीको अधिकतम थोक मूल्य सूची निम्नानुसार रहेको छ।

तरकारीको मूल्य सूची

गोलभेँडा (भारतीय) प्रतिकेजी रु ३० देखि ७०
आलु (भारतीय) प्रतिकेजी रु ३४
प्याज (भारतीय) प्रतिकेजी रु ६५
बन्दा (लोकल) प्रतिकेजी रु २०, तराई प्रतिकेजी रु १५
काउली (लोकल) प्रतिकेजी रु १२, ज्यापु काउली रु १८
रायो साग प्रतिकेजी रु १२
पालुङ्गो साग प्रतिकेजी रु ४५
मेथीको साग प्रतिकेजी रु ४५
विशेष तरकारीको मूल्य
तिते करेला प्रतिकेजी रु ११०
सलगम प्रतिकेजी रु १००
स्कूस प्रतिकेजी रु ४०
भिण्डी प्रतिकेजी रु १००
पिँडालु प्रतिकेजी रु ९०
फलफूलको मूल्य सूची
स्याउ (फूजी) प्रतिकेजी रु ३००
केरा (दर्जन) रु १५०
सुन्तला (नेपाली) प्रतिकेजी रु १४०
अङ्गुर (हरियो) प्रतिकेजी रु २५०
स्ट्रबेरी प्रतिकेजी रु ५००
किबी प्रतिकेजी रु २५०
अन्य उपजको मूल्य
अदुवा प्रतिकेजी रु १२०
खुर्सानी (अकबरे) प्रतिकेजी रु ३००
लसुन (नेपाली र चाइनिज) प्रतिकेजी रु ३००
हरियो धनिया प्रतिकेजी रु ५०
ताजा माछा (रहु) प्रतिकेजी रु ३५०
समितिका अनुसार मूल्य निर्धारण आपूर्ति र मागलाई ध्यानमा राखी गरिएको हो।

गण्डकी प्रदेश स्थापना दिवसमा मुख्यमन्त्री पाण्डेको शुभकामना

0

गण्डकी: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयताको कार्यान्वयनसँगै प्रदेश सरकार सुशासन, समुन्नति, र सामाजिक न्यायलाई आत्मसात् गर्दै दिगो विकासतर्फ अघि बढेको बताउनुभएको छ।

प्रदेश स्थापनाको आठौँ वर्ष प्रवेशको अवसरमा प्रदेशवासीलाई शुभकामना दिँदै मुख्यमन्त्री पाण्डेले समन्वय, सहअस्तित्व, र सहकारिताको सिद्धान्तमा आधारित लोकतन्त्र र सुशासन स्थापित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

“संवैधानिक मूल्य र कानुनको पालना गर्दै प्रदेश सरकार नीतिगत, कानुनी, र संस्थागत पक्षलाई बलियो बनाउन परिपक्व बन्दै गएको छ,” उहाँले भन्नुभयो। सरकार आत्मनिर्भर र समुन्नत प्रदेश निर्माणको संकल्प पूरा गर्न कटिबद्ध रहेको उहाँको भनाइ छ।

मुख्यमन्त्री पाण्डेले समावेशी र दिगो विकासलाई अघि बढाउन सामूहिक प्रयास आवश्यक रहेको बताउँदै नागरिकलाई चुस्त सेवा र सुशासनको अनुभूति दिलाउने सरकारको प्राथमिकता रहेको स्पष्ट गर्नुभयो।

“भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटन, र उद्यमशीलताको प्रवर्द्धन गर्दै दिगो विकासका लक्ष्य पूरा गर्ने दिशामा सरकारको नीति तथा कार्यक्रम सञ्चालन भइरहेको छ,” शुभकामना सन्देशमा उल्लेख गरिएको छ।

पर्वत पाङ्राङका कृषकले काँक्रोको बीउ बिक्री गरेर छ करोड आम्दानी गरे

0

पर्वत: फलेवास नगरपालिका–११ पाङ्राङका कृषकले यस वर्ष काँक्रोको बीउ बिक्रीबाट रु ६ करोड ३० लाख आम्दानी गरेका छन्। विगत २५ वर्षदेखि व्यावसायिक रूपमा बीउ उत्पादन गर्दै आएका यहाँका कृषकले ६३ क्विन्टल काँक्रोको बीउ उत्पादन गरेका हुन्।

स्थानीय कृषक सूर्यबहादुर कुँवरको नेतृत्वमा विसं २०५७ मा गठन भएको नारायणस्थान बीउ उत्पादन समूहले व्यावसायिक बीउ उत्पादन सुरु गरेको थियो। कृषक बाबुराम भुसालका अनुसार प्रतिकिलो रु १० हजारका दरले बीउ बिक्री गरिएको हो।

गत वर्ष ७० क्विन्टल बीउ उत्पादन भएकोमा यो वर्ष उत्पादन घटेर ६३ क्विन्टल मात्र भएको छ। गत वर्ष रु ७ करोड आम्दानी भएको थियो। भक्तपुरे लोकल जातको काँक्रोको बीउ यहाँका कृषकले उत्पादन गर्दै आएका छन्।

शुरुवातमा चार किलो काँक्राको बीउ र ६५ किलो मूलाको बीउ उत्पादन भएको भुसालले बताउनुभयो। “पहिले रु ८ सयमा बिक्री हुने बीउ अहिले रु १० हजार प्रति किलोका दरले बिक्री हुन्छ,” उहाँले भन्नुभयो।

अहिले यहाँका ७२ परिवार व्यावसायिक काँक्रो खेतीमा संलग्न छन्। अर्का कृषक टुकप्रसाद पौडेलले यस वर्ष एक क्विन्टल बीउ बिक्री गरी रु १२ लाख आम्दानी गरेको जानकारी दिनुभयो। “काँक्राको बीउ नगदेँ बाली हो। गाउँबाटै बिक्री गर्न पाइने भएकाले यसको उत्पादन फाइदाजनक बनेको छ,” पौडेलले खुसी व्यक्त गर्नुभयो।

पौडेलका अनुसार कृषकले फागुनको पहिलो साता रोपेको काँक्रा जेठमा तयार हुन्छ। असारसम्म बीउ बिक्री गरिन्छ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख पर्शुराम अधिकारीले फलेवास नगरपालिका–११ पाङ्राङ र जलजला गाउँपालिका–७ धाइरिङमा व्यावसायिक काँक्रो बीउ उत्पादन भइरहेको बताउनुभयो। “उत्पादित बीउ कृषि अनुसन्धान केन्द्र र नार्कमार्फत सिफारिस गरिन्छ। व्यावसायिक कृषकलाई केन्द्रबाट अनुदान र प्राविधिक सहयोग प्रदान गरिन्छ,” उहाँले भन्नुभयो।

धाइरिङका कृषकले यो वर्ष मात्र बीउ बिक्रीबाट रु ४ करोड आम्दानी गरेका छन्।

तिमाङको जङ्गलमा लागेको आगो अझै निभाउन सकिएन

0

मनाङ: मनाङको चामे गाउँपालिका–१ तिमाङ जङ्गलमा शुक्रबार बेलुकीदेखि लागेको आगो सोमबारसम्म पनि नियन्त्रणमा आउन सकेको छैन। जिल्ला प्रशासन कार्यालयका अनुसार आगो निभाउने प्रयास जारी छ।

प्रमुख जिल्ला अधिकारी मातृका आचार्यका अनुसार आगो नियन्त्रणका लागि तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ। “स्थानीयको सहयोगमा सुरक्षाकर्मीहरू आगो निभाउन प्रयासरत छन्। आगलागी जटिल भिर क्षेत्रमा भएकाले नियन्त्रणमा समस्या भइरहेको छ,” उहाँले बताउनुभयो।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार सुक्खायामका कारण आगो नियन्त्रण गर्न कठिनाइ भइरहेको छ। “सालका काठ र सुकेको वनस्पतिले आगो तीव्र हुने डर छ। हावाहुरीले झन् आगो बढ्न सक्छ,” भुजेलले भन्नुभयो।

भुजेलका अनुसार आगलागीबाट वनआलु, लौडसल्ला, जटामसी, पाँचऔँले र गुची च्याउलगायत जडीबुटी नष्ट हुने खतरा छ। “चराचुरुङ्गी, वन्यजन्तुको बासस्थान र याकचौँरीका चरन क्षेत्र प्रभावित हुने सम्भावना छ,” उहाँले बताउनुभयो।

यस वर्षको मङ्सिरयता ताल, आइसलेक र पिसाङ भिरमा आगलागी भएका घटनाहरू भइरहेको जानकारी पनि भुजेलले दिनुभयो। विसं २०७७ मा लागेको आगो दुई महिनापछि मात्रै नियन्त्रणमा आएको थियो, जसले १,२०० हेक्टर वन क्षेत्र नष्ट गरेको थियो।

जिल्ला प्रशासनले आगो अन्यत्र नफैलियोस् भन्न सुरक्षित उपायहरू अपनाइसकेको र बस्तीमा तत्काल कुनै ठूलो जोखिम नरहेको जनाएको छ।

पाल्पामा यसवर्ष ५२ करोड ७६ लाख बढीको सुन्तला बिक्री

0

रामपुर (पाल्पा): यस वर्ष पाल्पा जिल्लामा ९ हजार ९८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ। अघिल्लो वर्षको ८ हजार ८६१ मेट्रिक टनको तुलनामा यो ३३७ मेट्रिक टनले बढी हो। कृषि ज्ञान केन्द्रका अनुसार उत्पादनसँगै आम्दानी पनि उल्लेख्य रूपमा वृद्धि भएको छ।

केन्द्रका प्रमुख सन्तोषकुमार चौधरीका अनुसार यो वर्ष सुन्तलाबाट ५२ करोड ७६ लाख ८४ हजार रुपैयाँ आम्दानी भएको छ, जुन अघिल्लो वर्षको ४६ करोड ७ लाख ७२ हजार रुपैयाँभन्दा ६ करोड ६९ लाख १२ हजार रुपैयाँले बढी हो।

“सुन्तलाबाट राम्रो आम्दानी हुने भएपछि किसानहरू व्यावसायिक उत्पादनतर्फ आकर्षित भएका छन्। उत्पादन क्षेत्र बढ्नुका साथै बजारीकरण पनि सहज भएको छ,” चौधरीले भन्नुभयो।

विभिन्न क्षेत्रको उत्पादन विवरण यसप्रकार छ:

रैनादेवी छहरा गाउँपालिका: ४५२ हेक्टरमा ३ हजार ६३९ मेट्रिक टन
रिब्दिकोट गाउँपालिका: ३९६ हेक्टरमा ३ हजार १८४ मेट्रिक टन
बगनासकाली गाउँपालिका: ११३ हेक्टरमा ९१० मेट्रिक टन
पूर्वखोला गाउँपालिका: ९० हेक्टरमा ७२८ मेट्रिक टन
तानसेन नगरपालिका: ६८ हेक्टरमा ५४६ मेट्रिक टन
माथागढी गाउँपालिका: ११ हेक्टरमा ९१ मेट्रिक टन

युरोपेली संघमाथि पनि कर लगाउने ट्रम्पको घोषणा

0

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघमाथि छिट्टै कर लगाउने चेतावनी दिएका छन्। उनले युरोपेली संघले अमेरिकाको आर्थिक फाइदा उठाएको आरोप लगाउँदै यो असमानता अब सह्य नहुने स्पष्ट पारे।

ट्रम्पले भने, “युरोपेली युनियनले हाम्रा कारहरू लिँदैन, कृषि उत्पादनहरू किन्दैन। उनीहरूले हामीबाट लगभग केही पनि लिँदैनन्, तर हामी भने उनीहरूबाट लाखौं कारहरूदेखि विशाल परिमाणमा खाद्यान्न तथा कृषि उत्पादन लिन्छौं। यो व्यापार असन्तुलन अब बन्द हुनुपर्छ।”

बीबीसीले युरोपेली संघमाथि कर लगाउने समयसीमाबारे सोध्दा ट्रम्पले भने, “म यो समयसीमा छ भनेर भन्न सक्दिन, तर यो चाँडै हुनेछ।”

उनले विश्वका धेरै देशहरूले अमेरिकालाई व्यापारिक हिसाबले धोका दिएको आरोप लगाए। “हामी लगभग हरेक देशसँग घाटामा छौं, र यो अवस्थालाई परिवर्तन गर्न आवश्यक छ। यो ठीक होइन,” उनले थपे।

विश्लेषकहरूका अनुसार ट्रम्पको यस चेतावनीले युरोप-अमेरिका व्यापार सम्बन्धमा थप तनाव सिर्जना गर्न सक्छ। यदि कर लगाउने निर्णय कार्यान्वयन भएमा विश्वव्यापी व्यापार प्रणालीमा यसको गहिरो प्रभाव पर्ने अनुमान गरिएको छ।

ट्रम्पको धम्कीपछि पानामा बीआरआइ परियोजनाबाट बाहिरियो

0

काठमाडौं: डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बनेपछि विश्व राजनीतिमा विभिन्न परिवर्तन देखा परेका छन्। ट्रम्पले क्यानडा र मेक्सिकोमा भारी शुल्क लगाइसकेका छन् भने चीनमाथि १० प्रतिशत ट्यारिफ लगाएका छन्। यस्तो परिस्थितिमा पानामाले चीनलाई ठूलो झट्का दिने निर्णय गरेको छ।

पानामाका राष्ट्रपति जोसे राउल मुलिनोले चीनको महत्वाकांक्षी योजना बेल्ट एण्ड रोड (बीआरआई) नवीकरण नगर्ने घोषणा गरेका छन्। सन् २०१७ मा चीनको यस परियोजनामा सामेल भएको पानामा अब चाँडै यसबाट बाहिरिने पक्का भएको छ।

अमेरिकासँग सहकार्यको योजना
राष्ट्रपति मुलिनोले पानामाले पूर्वाधार परियोजना तथा अन्य लगानीमा अमेरिकासँग सहकार्य गर्ने बताएका छन्। उनले पानामाका बन्दरगाहहरूको लेखापरीक्षण गरिने र चिनियाँ कम्पनीहरूको संलग्नता पुनः मूल्यांकन गरिने जानकारी दिए।

पानामा नहरको रणनीतिक महत्त्व
पानामा नहर विश्वको भूराजनीतिक सन्तुलनका लागि निकै महत्वपूर्ण मानिन्छ। यो ८२ किलोमिटर लामो नहरले अटलांटिक र प्रशान्त महासागरलाई जोड्छ, जहाँ विश्वको लगभग ६ प्रतिशत सामुद्रिक व्यापार हुने गर्दछ। अमेरिकाको मात्र १४ प्रतिशत व्यापार यसै नहरबाट सञ्चालन हुन्छ।

यदि पानामा नहर कुनै एक मुलुकको नियन्त्रणमा पुगेमा विश्व आपूर्ति श्रृंखलामा गम्भीर समस्या आउने खतरा हुन्छ। यो नहर दक्षिण अमेरिकी देशहरूसँगको व्यापारिक मार्गका लागि पनि अत्यन्त महत्वपूर्ण मानिन्छ।

इतिहासमा पानामा नहर
पानामा नहरको निर्माण सन् १८८१ मा फ्रान्सले सुरु गरे पनि आर्थिक र प्राविधिक कठिनाइका कारण असफल भयो। त्यसपछि सन् १९०४ मा अमेरिकाले यस नहरको निर्माण कार्य पुनः सुरु गरी सन् १९१४ मा सम्पन्न गर्यो। दशकौंसम्म अमेरिकाको नियन्त्रणमा रहेको यो नहर सन् १९९९ मा पानामा सरकारलाई हस्तान्तरण गरिएको थियो।

पानामाको निर्णयको प्रभाव
पानामाको यो निर्णयले चीनको विश्वव्यापी विस्तार रणनीतिमा ठूलो असर पार्ने विश्लेषण गरिएको छ। यसले अमेरिकासँगको भूराजनीतिक सम्बन्धलाई अझै सुदृढ गर्ने देखिन्छ।

हामीबीच एकता भए बहुमत प्राप्त पार्टी बनाउन सकिन्छः सभापति देउवा

0

गण्डकी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई बहुमत पार्टी बनाउन एकता आवश्यक रहेको बताएका छन्।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा पोखरामा आयोजित प्रदेश सभापति तथा प्रशिक्षण विभाग प्रमुखका लागि अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै देउवाले समावेशी र समानुपातिक राजनीतिक प्रणालीका कारण बहुमत प्राप्त गर्न गाह्रो भए पनि एकताबद्ध प्रयासले सम्भव हुने बताए।

“समावेशी प्रणालीले एउटा पार्टीको बहुमत ल्याउन कठिन बनाएको छ, तर कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको छ,” उनले भने, “साथीहरूबीच हार्दिक एकता भएमा कांग्रेसले बहुमत ल्याउन सक्छ।”

उनले संवैधानिक व्यवस्थाले सबै जातजाति, भाषा र समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको बताए। देउवाले बिपी, गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसादजस्ता नेताहरूको जिम्मेवारी पूरा गर्न एकता र क्रियाशीलता आवश्यक रहेको उल्लेख गरे।

संघर्षबाट प्राप्त लोकतन्त्र, संघीयता र समावेशितालाई सुदृढ बनाउन जोड दिँदै उनले देश विकासका लागि अधिकारको विकेन्द्रीकरण आवश्यक रहेको धारणा राखे।

प्रशिक्षण कार्यक्रमबाट कार्यदिशा तय हुने

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले माघ मसान्तसम्म प्रशिक्षण पुस्तिकालाई अन्तिम रूप दिने जानकारी दिए। उनले पार्टीको प्रशिक्षण कार्यक्रम केन्द्रदेखि निर्वाचन क्षेत्रसम्म सञ्चालन हुने बताए।

गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीको ऐतिहासिक मूल्य र विरासतलाई बिर्सन नहुने भन्दै सबैलाई समेटेर कांग्रेसलाई बलियो बनाउन जोड दिए।

एकदिने कार्यक्रममा सातै प्रदेशका पार्टी सभापति, प्रशिक्षण विभाग प्रमुख, केन्द्रीय पदाधिकारी तथा कास्कीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

नेपालमा ६ महिनामा ६ अर्बको लसुन आयात

0

काठमाडौँ: चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म नेपालले ६ अर्ब १८ करोड रुपैयाँ बराबरको ४ करोड ६९ लाख किलो लसुन आयात गरेको छ। भन्सार विभागले यो अस्वाभाविक आयात भारततर्फ चोरी निकासीका लागि हुन सक्ने आशंका गरेको छ।

जानकारका अनुसार नेपालमा यति ठूलो परिमाणमा लसुन खपत हुन सक्ने अवस्था छैन। भारतीय बजारमा लसुनको मूल्य प्रतिकिलो ३०० देखि ४०० भारतीय रुपैयाँसम्म छ भने चीनमा नेपाली १५० रुपैयाँसम्म होलसेल मूल्य छ।

विभागका सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठले अवैध निर्यातको आशंकामा अनुसन्धान भइरहेको बताए। औपचारिक च्यानलबाट निर्यात नभएको र अवैध निकासी पनि प्रमाणित नभएको तर सीमा क्षेत्रमा लसुन बारम्बार बरामद भएकाले आशंका बढेको उनले जनाए।

पाँच वर्षको तथ्यांक
लसुन आयात बर्सेनि बढ्दै आएको छ। आर्थिक वर्ष २०७६/७७ मा ३१ करोड रुपैयाँको लसुन आयात भएकोमा चालु वर्षको पहिलो ६ महिनामै ६ अर्ब रुपैयाँको लसुन आयात भएको छ।

तर निर्यातको अवस्था निकै कमजोर छ। पछिल्ला पाँच वर्षमा निर्यात शून्य प्रायः देखिन्छ।

स्वदेशी उत्पादनको अवस्था
नेपालमा करिब ९ हजार हेक्टर क्षेत्रफलमा वार्षिक ७२ हजार मेट्रिक टन लसुन उत्पादन हुन्छ। आर्थिक वर्ष २०७९/८० मा ९ हजार ५७० हेक्टर क्षेत्रफलमा ७३ हजार मेट्रिक टन लसुन उत्पादन भएको छ।

कुन वर्ष कति आयो लसुन ?

Fullscreen capture 232025 45223 PM

रूस पक्षबाट लड्न गएका उत्तर कोरियाली सैनिक देखिन छाडे, हताहतीले पछि हटेको आशंका

0

कीभ: युक्रेनविरुद्धको युद्धमा रूसलाई समर्थन गर्न आएका उत्तर कोरियाली सैनिकहरू अचानक बेपत्ता भएका छन्। पछिल्ला केही सातादेखि उनीहरू युद्ध मैदानमा देखिएका छैनन्।

युक्रेनी सैन्य अधिकारी कर्नेल ओलेक्जेन्डर किन्ड्राटेन्कोले उत्तर कोरियाली सैनिकहरू सम्भवतः ठूलो क्षतिको कारणपछि हट्न बाध्य भएको आशंका व्यक्त गरेका छन्। यसअघि उनीहरूको ठूलो संख्यामा हताहत भएको खबर आएको थियो।

भारी क्षति र सम्भावित फिर्ता
युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइल पोडोल्याकका अनुसार उत्तर कोरियाली सेनाले ठूलो क्षति बेहोरेपछि फ्रन्टलाइनबाट फिर्ता लिइएको हुन सक्छ। युक्रेनी अधिकारीहरू र पश्चिमी गुप्तचर रिपोर्टहरूका अनुसार करिब १२ हजार उत्तर कोरियाली सैनिक रूस पुगेका थिए। तीमध्ये करिब ४,००० सैनिक मारिएका वा घाइते भएका छन्।

रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाको घुसपैठपछि उत्तर कोरियाली सैनिकहरू त्यहाँ तैनाथ गरिएको थियो। युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले गत हप्ता स्विट्जरल्यान्डको डाभोसमा एक भाषणमा कुर्स्क क्षेत्रमा ६० हजार रुसी र १२ हजार उत्तर कोरियाली सैनिक तैनाथ रहेको बताएका थिए। उनले उत्तर कोरियाली सैनिकमध्ये एक तिहाइ मारिएको दाबी समेत गरेका छन्।

क्रूर रणनीति
यसअघि उत्तर कोरियाली सैनिकहरूले क्रूर रणनीति अपनाएको खबर आएको थियो। कब्जाबाट बच्नको लागि उनीहरूले आफैंलाई ग्रेनेडले उडाउनसम्मका कार्य गरेको खुलासा भएको छ। युक्रेनी कमाण्डरले उनीहरूको उच्च साहस र युद्धकौशलको प्रशंसा गर्दै भने, “उनीहरू निकै उच्च प्रशिक्षित थिए तर ड्रोन युद्धको सामना गर्न असफल देखिए।”

उच्च निशानाबाजी क्षमता
युक्रेनी सेनाका एक सिपाहीले उत्तर कोरियाली सैनिकहरूको उत्कृष्ट निशानाबाजीको चर्चा गर्दै भने, “उनीहरूले १०० मिटर टाढाबाट ड्रोनलाई सफलतापूर्वक निशाना बनाउँछन् र खसाल्न सक्छन्। यसले उनीहरूको उच्च प्रशिक्षण देखाउँछ।”

युद्धको अवस्था
वाशिंगटनस्थित थिंक ट्याङ्क ‘इन्स्टिच्युट फर द स्टडी अफ वार’ का अनुसार युक्रेनी सेनाले कुर्स्क क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरिरहेको छ।

उत्तर कोरियाको अस्वीकृति
उत्तर कोरिया र रूसले किम जोङ उनका सैनिकहरू रुसमा तैनाथ रहेको आधिकारिक रूपमा स्वीकार गरेका छैनन्। तर, युक्रेनी सेनाले उत्तर कोरियाका दुई सैनिकलाई नियन्त्रणमा लिएपछि यो विषय अन्तर्राष्ट्रिय तहमा चर्चा बनेको छ।