Wednesday, June 24, 2026
Homeसामाचारसिरुबारी होमस्टे पर्यटकको रोजाइमा (तस्बिरसहित)

सिरुबारी होमस्टे पर्यटकको रोजाइमा (तस्बिरसहित)

काठमाडौं: स्याङ्जाको सिरुबारी नेपालको पहिलो होमस्टे मानिन्छ। वि.सं. २०५४ मा आदिखोला गाउँपालिका–१ मा यस होमस्टेको सुरुवात गरिएको थियो।

भारतीय सेनाका क्याप्टेन रुद्रमान गुरुङको परिकल्पना र नेतृत्वमा सिरुबारी होमस्टे सञ्चालनमा आएको हो। स्थानीय बासिन्दामध्ये धेरैजसो भारतीय सेनामा कार्यरत थिए।

क्याप्टेन गुरुङ भारतीय सेनामा कार्यरत रहँदा सिक्किम पुगेका थिए। त्यहाँको होमस्टे अवधारणाले उनलाई प्रेरित गर्‍यो। स्याङ्जाको पर्यटकीय विकास गर्ने सोच बनाएर उनले स्थानीयको सहयोगमा सिरुबारीमा होमस्टे सुरु गरे।

समुद्री सतहबाट १,६१० मिटर उचाइमा रहेको सिरुबारी अहिले नेपालका उत्कृष्ट पर्यटकीय गन्तव्यहरूमध्ये एक मानिन्छ। सिरुबारीको सफलता पछ्याउँदै देशभर थुप्रै होमस्टे सञ्चालनमा आएका छन्।

भ्यालि भ्यु स्कुल, नयाँ बानेश्वरका प्रिन्सिपल सुभाषचन्द्र भण्डारीले कक्षा १० का विद्यार्थीलाई सिरुबारी होमस्टे भ्रमणमा लगेपछि यसलाई निकै मनोरम गन्तव्यको रूपमा वर्णन गरे। गुरुङ समुदायको जीवनशैली, संस्कृति, आतिथ्य र आत्मीयता सिरुबारीको प्रमुख आकर्षण भएको उनले बताए।

सिरुबारीको शिरान देउरालीबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमालको लहर देख्न सकिने उनले अनुभव सुनाए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका