Saturday, June 27, 2026
Home Blog Page 523

इरानविरुद्ध अमेरिकी धम्की ‘अर्थहीन’ : अयातोल्लाह खामेनी

0

तेहरान: अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सम्भावित सैन्य कारबाहीको चेतावनी दिएका छन्। त्यसको प्रतिक्रिया दिँदै इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनीले अमेरिकी धम्की ‘अर्थहीन’ रहेको बताएका छन्।

फारसी नयाँ वर्ष नौरुजको अवसरमा टेलिभिजनमार्फत राष्ट्रलाई सम्बोधन गर्दै खामेनीले भने, ‘अमेरिकीहरूले बुझ्नुपर्छ कि इरानविरुद्धको धम्की उनीहरूका लागि निरर्थक हुनेछ।’ उनले चेतावनी दिँदै थपे, ‘यदि अमेरिकाले इरानविरुद्ध केही कारबाही गर्ने प्रयास गर्‍यो भने उसले कडा प्रतिकारको सामना गर्नुपर्नेछ।’

मार्च ७ मा ट्रम्पले खामेनीलाई पत्र लेख्दै इरानको आणविक कार्यक्रमबारे वार्ता गर्न आग्रह गरेका थिए। पत्रमा उनले तेहरानले वार्तामा सहमति नजनाए सैन्य कारबाहीको सम्भावना रहेको चेतावनी दिएका थिए।

बिहीबार इरानी विदेशमन्त्री अब्बास अराघचीले उक्त पत्रलाई ‘खतराको संकेत’ भनेका छन् तर यसले अवसरको ढोका खोल्ने सम्भावना पनि रहेको बताएका छन्। उनका अनुसार, तेहरानले आफ्नो औपचारिक प्रतिक्रिया तयार पार्दैछ, जुन चाँडै सार्वजनिक गरिनेछ।

यसैबीच, अमेरिकी समाचार वेबसाइट Axios ले बुधबार एक अमेरिकी अधिकारी र अन्य स्रोतलाई उद्धृत गर्दै ट्रम्पको पत्रमा ‘नयाँ आणविक सम्झौताका लागि दुई महिनाको समयसीमा तोकिएको’ उल्लेख गरेको जनाएको छ। यद्यपि, पत्रले सो समयसीमाको सुरुवात वा समाप्ति मिति निर्दिष्ट गरेको छैन।

खामेनीले यसअघि पनि ट्रम्पको वार्ताका प्रस्ताव अस्वीकार गर्दै उनलाई ‘विश्वव्यापी जनमतलाई भ्रमित पार्न खोज्ने व्यक्ति’ को रूपमा चित्रित गरेका थिए। उनका अनुसार, ट्रम्पले अमेरिकालाई वार्ताका लागि इच्छुक देखाउन खोजे पनि इरानलाई अनिच्छुक देखाएर अन्तर्राष्ट्रिय समुदायलाई भ्रमित पार्ने प्रयास गरेका थिए।

जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु गरेका ट्रम्पले इरानमाथि ‘अधिकतम दबाब’ दिने नीतिलाई पुनः अघि बढाएका छन्।

सन् २०१८ मा ट्रम्पले अमेरिका एकतर्फी रूपमा ऐतिहासिक आणविक सम्झौताबाट बाहिरिएपछि इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाएका थिए। सुरुमा इरानले सम्झौताका प्रावधान पालना गरे पनि अमेरिका बाहिरिएपछि आफूमात्र प्रतिबद्ध रहन नपर्ने बताउँदै इरानले क्रमिक रूपमा सम्झौताबाट हट्दै युरेनियम संवर्द्धनको स्तर बढाएको थियो।

वर्तमान अवस्थामा, इरानको युरेनियम संवर्द्धन ६० प्रतिशतसम्म पुगेको छ, जुन सम्झौतामा तोकिएको ३.६७ प्रतिशत सीमा भन्दा निकै माथि हो। यो स्तर आणविक हतियार निर्माणका लागि आवश्यक पर्ने ९० प्रतिशतको नजिक पुगेको मानिन्छ।

परराष्ट्रमन्त्री आरजु देउवा राणाको भारत भ्रमण: लोकतान्त्रिक प्रणाली र द्विपक्षीय सहयोगबारे छलफल

0

काठमाडौं । परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतले नेपालमा लोकतान्त्रिक प्रणालीकै चाहना राखेको बताएकी छन्।

भारत भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री राणाले भारतीय पक्षसँग राजनीतिक विषयमा विस्तृत छलफल नभए पनि लोकतान्त्रिक प्रणालीप्रति भारतको समर्थन रहेको अनुभूति भएको बताइन्। साथै, हाल नेपाल सरकारसँग भारतीय निकायहरू सम्पर्कमा रहे पनि सरकार परिवर्तन गर्ने कुनै आशय नदेखिएको स्पष्ट पारिन्।

भारत भ्रमणका क्रममा उनले भारतसहित अन्य देशका विदेशमन्त्रीहरूसँग द्विपक्षीय हित र आपसी चासोका विषयमा छलफल गरेको जानकारी दिइन्। नेपाल–भारतबीचका विभिन्न द्विपक्षीय संयन्त्रहरूको पछिल्लो प्रगतिबारे समिक्षा गर्दै यी संयन्त्रहरूलाई थप सक्रिय बनाउने र द्विपक्षीय सहयोगलाई मजबुत बनाउने विषयमा सहमति भएको उनको भनाइ छ।

नेपालमा देखिएको विद्युत अभाव समाधानका लागि पनि उनले कूटनीतिक पहल गरेको उल्लेख गरिन्। भारततर्फ आपूर्ति हुने विद्युतको परिमाण वृद्धि गर्न अनुरोध गरिएको जानकारी दिँदै उनले ऊर्जा क्षेत्रमा थप सहकार्यको आवश्यकता रहेको बताइन्।

त्यसैगरी, अमेरिकाका राष्ट्रिय सुरक्षा परिषदका वरिष्ठ निर्देशक महामहिम रिक्की गिलसँगको भेटमा नेपाललाई प्रदान गरिँदै आएको अमेरिकी सहयोगको निरन्तरता सुनिश्चित गर्न र विपिन जोशीको सकुशल रिहाइका लागि सहजीकरण गर्न आग्रह गरिएको उनले बताइन्।

युक्रेनी समकक्षीसँगको भेटमा युक्रेनमा युद्धबन्दीका रूपमा रहेका सात नेपाली नागरिकहरूको शीघ्र रिहाइ तथा स्वदेश फिर्तीका लागि आग्रह गरिएको र तत्कालै आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता प्राप्त भएको उनले जानकारी दिइन्।

उनले आफ्नो भ्रमणले भारतसहित विभिन्न मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ मजबुत र सुमधुर बनाउन सहयोग पुगेको निष्कर्ष व्यक्त गरिन्।

गृह मन्त्रालयले नौ उपसचिवको सरुवा

0

काठमाडौं । गृह मन्त्रालयले नौ जना उपसचिवको सरुवा गरेको छ। मन्त्रालयका अनुसार चैत ८ गतेको निर्णयअनुसार सरुवा प्रक्रिया सम्पन्न गरिएको हो।

सरुवा हुने उपसचिवहरूमा हरिप्रसाद गैरे, पोषणराज भण्डारी, डोरेन्द्र निरैला, सुवास पौडेल, शिवहरी पोखरेल, तेजप्रकाश प्रसाईं, विश्वराज नेपाल, हरि बहादुर भुजेल, र गोमादेवी ढकाल रहेका छन्।

रुपन्देहीको सिद्धार्थनगर मुलुकभरकै उत्कृष्ट पालिका

0

लुम्बिनी (मर्चवार): रुपन्देहीको सिद्धार्थनगर नगरपालिका सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेखनीय कार्यसम्पादन गर्दै देशभरकै उत्कृष्ट नगरपालिका बनेको छ।

नेपाल नगरपालिका सङ्घले आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सिद्धार्थनगर नगरपालिकालाई ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०८१’ बाट सम्मान गरेको हो।

प्रधानमन्त्रीद्वारा सम्मान
नेपाल नगरपालिका सङ्घको ३२औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धार्थनगरका प्रमुख इश्तियाक अहमद खाँ र उपप्रमुख उमा अधिकारीलाई सम्मान गर्नुभयो।

नगरपालिका सङ्घले हरेक वर्ष नगरपालिकाहरूको विभिन्न सूचकका आधारमा उत्कृष्टलाई पुरस्कृत गर्दै आएको छ। यस वर्ष सिद्धार्थनगर नगरपालिकाले ८५ प्रतिशत अंक प्राप्त गर्दै मुलुकभरका नगरपालिकाहरूलाई पछि पार्न सफल भएको हो।

नगर प्रमुखको प्रतिक्रिया
नगर प्रमुख खाँले नगरबासी, जनप्रतिनिधि र कर्मचारीहरूको समर्पणकै कारण यो सफलता हासिल भएको बताउनुभयो।

“हाम्रो संयुक्त प्रयासकै कारण यो उपलब्धि सम्भव भयो,” उहाँले भन्नुभयो, “यो सम्मानले हामीलाई झन् बढी जिम्मेवार बनाएको छ। आगामी दिनमा नगरपालिकालाई हरेक सूचकमा अझ उत्कृष्ट बनाउने लक्ष्य लिएका छौँ।”

सिद्धार्थनगरको सफलता क्षेत्रहरू
नगरपालिका सङ्घका अनुसार सिद्धार्थनगरले विशेषगरी सहरी योजना, यातायात व्यवस्थापन र खानेपानी लगायतका क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गरेको छ।

नगरपालिकाले विकासका पूर्वाधारहरूलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्दै नागरिक सेवामा सुधार ल्याएको कारण मुलुककै उत्कृष्ट बन्न सफल भएको हो।

कसैमाथि काखापाखा गर्नु हुँदैन भनेर नै हामीले लडाइँ गरेका हौँ : अध्यक्ष दाहाल

0

वीरगञ्ज (पर्सा): नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतको तुलनामा मुस्लिम समुदायको आत्मसम्मान र पहिचान बढेको बताउनुभएको छ। तर, उहाँले मुस्लिम समुदायप्रति अझै पनि विभेद कायम रहेको उल्लेख गर्नुभएको छ।

अध्यक्ष दाहालले वीरगञ्जको वडा नम्बर १४ मा मुस्लिम समुदायका प्रतिनिधिहरूसँग आयोजित चियापान कार्यक्रममा संक्षिप्त अभिव्यक्ति दिँदै, मुस्लिम समुदायका हक, अधिकार र आवाज उठाउन निरन्तर पहल गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।

“मुस्लिम समुदायप्रति भइरहेको विभेद हटाउन हामीले अझै धेरै प्रयास गर्नुपर्छ। त्यसैका लागि मैले बारम्बार आवाज उठाउँदै आइरहेको छु,” उहाँले भन्नुभयो। साथै, रमजान पर्वको अवसरमा मुस्लिम समुदायलाई शुभकामना व्यक्त गर्दै, “सबै जातजाति, भाषाभाषी, र धर्म समुदायलाई समान व्यवहार गर्नुपर्छ,” भन्ने धारणा राख्नुभयो।

मधेस जागरण अभियान र माओवादीको प्रतिबद्धता
अध्यक्ष दाहालले माओवादीले अघि सारेको ‘जनतासँग माओवादी’ तथा ‘तराई-मधेस जागरण अभियान’ सामाजिक समन्वय र सद्भाव अभिवृद्धिको अभियान भएको स्पष्ट पार्नुभयो।

“यो अभियान देशमा राजनीतिक स्थायित्व कायम गर्ने उद्देश्यले अघि बढाइएको हो,” उहाँले बताउनुभयो।

नेकपा (माओवादी केन्द्र) ले हुलाकी राजमार्ग केन्द्रित मधेस जागरण अभियानअन्तर्गत शुक्रबार पर्सामा विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको छ।

माओवादी केन्द्र पर्साका इन्चार्ज विजय महतोका अनुसार केही समयअघि विशेष कारणले रोकिएको मधेस जागरण अभियान बुधबारदेखि पुनः सुरु भएको छ।

“जनतासँग माओवादी कार्यक्रमअन्तर्गत अध्यक्ष दाहालसहित शीर्ष नेतृत्व पर्सामा आइसकेका छन्,” महतोले बताउनुभयो।

कार्यक्रमको तयारी र प्रमुख गतिविधिहरू
आज (बिहीबार) अध्यक्ष प्रचण्ड पर्सा आउनुभएको हो। नृसिंह माध्यमिक विद्यालय, लक्ष्मणवा-१५ मा स्थानीय नेता, कार्यकर्ता, विद्यार्थी र समुदायसँग भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

शुक्रबार बिहान ५:३० बजे ‘मर्निङ वाक’ कार्यक्रम समेत आयोजना गरिएको छ, जसअन्तर्गत सिप्रदीगेट बहुअरी १४ देखि घण्टाघर, मकालुचोक, आर्दशनगरचोक, घडिअर्वा, माईस्थानचोक हुँदै कार्यक्रम सञ्चालन हुने बताइएको छ।

माओवादी केन्द्रले यी कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्ने लक्ष्य राखेको छ।

उद्योगमन्त्री भण्डारी र मोल्डोभाका परराष्ट्रमन्त्रीबीच भेटर्वार्ता

0

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र गणतन्त्र मोल्डोभाका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री मिहेल पपसोइ बीच भेटवार्ता सम्पन्न भएको छ।

मन्त्री भण्डारीका स्वकीय सचिवालयका अनुसार सन् १९९३ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र मोल्डोभाबीच मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गर्दै मन्त्री भण्डारीले दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

उहाँले कूटनीतिक सम्बन्ध स्थापनाको ३२ वर्षमा गणतन्त्र मोल्डोभाका उपप्रधानमन्त्रीको पहिलो आधिकारिक भ्रमण महत्त्वपूर्ण उपलब्धि भएको बताउँदै, यसले आपसी सहकार्य र आर्थिक वृद्धिको नयाँ सम्भावना अन्वेषण गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। साथै, उच्चस्तरीय भेटघाट र साझेदारीमार्फत दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउनुपर्नेमा जोड दिनुभयो।

व्यापार विस्तार र लगानी प्रवर्द्धनमा जोड
हाल नेपाल-मोल्डोभा व्यापार सीमित रहेकाले यसको विस्तार आवश्यक रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले व्यवसाय अनुकूल वातावरण निर्माण, व्यापार सञ्चालन सहजता, र महामारीपछिको आर्थिक पुनरुत्थान सुनिश्चित गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभयो।

उहाँले कृषि, उद्योग, पर्यटन, नवीकरणीय ऊर्जा, सूचना प्रविधि, र शिक्षा लगायतका क्षेत्रमा आपसी सहकार्यका सम्भावना रहेको बताउँदै, विद्यार्थी आदानप्रदान कार्यक्रमलाई प्रोत्साहित गर्नुपर्ने धारणा राख्नुभयो।

नेपालले कृषि उत्पादन, हस्तकला सामग्री, र तयारी पोशाक जस्ता उच्च गुणस्तरीय उत्पादनहरू निर्यात गर्ने अवसर खोजिरहेको बताउँदै, यी क्षेत्रमा मोल्डोभासँग सहकार्य गर्न इच्छुक रहेको मन्त्री भण्डारीले उल्लेख गर्नुभयो।

मोल्डोभाका उपप्रधानमन्त्रीको प्रतिक्रिया
गणतन्त्र मोल्डोभाका उपप्रधानमन्त्री पपोसोइले नेपाल र मोल्डोभाबीच धेरै आयाममा समानता रहेको बताउँदै, जलवायु परिवर्तन, कृषि औद्योगिकीकरण, यान्त्रिकीकरण, शैक्षिक तथा सांस्कृतिक आदानप्रदान जस्ता क्षेत्रमा साझेदारीको सम्भावना रहेको धारणा राख्नुभयो।

उहाँले नेपाली नागरिकका लागि मोल्डोभामा रोजगारीको सम्भावना रहेको उल्लेख गर्दै, यस विषयमा थप साझेदारीको पहल गर्न सकिने विचार व्यक्त गर्नुभयो। साथै, निर्यात प्रवर्द्धन र आर्थिक साझेदारीलाई विस्तार गर्न दुवै देशका सम्बन्धित मन्त्रालयहरूबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।

ब्ल्याक डाइमण्ड ब्युटिसियन नेपाल–२०२५को ताज सुष्मालाई

0

काठमाडौं: राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता ‘ब्ल्याक डाइमण्ड ब्युटिसियन नेपाल–२०२५’ को उपाधि काठमाडौं सुकेधाराकी सुष्मा दाहाल ले जित्न सफल भएकी छन्। ताजसँगै उनले एन.एफ.इ.ए अवार्ड २०२५ मा सहभागी हुन जापान जाने अवसर प्राप्त गरेकी छन्। साथै, टाइटल स्पोन्सर ‘ब्ल्याक डाइमण्ड’ का तर्फबाट एक लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्याकेज पनि जितेकी छन्।

बिहीबार राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न प्रतियोगितामा सुशीला राई फर्स्ट रनरअप तथा प्रीति खड्का सेकन्ड रनरअप घोषित भए। उनीहरूले क्रमशः ५० हजार र २५ हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्याकेज प्राप्त गरे।

एघारौं संस्करण सम्पन्न भएको यो प्रतियोगिता हिमालयन मुभिज द्वारा आयोजित हो। प्रतियोगिता आकर्षक ब्राइडल फेसन सो, पोशाक प्रदर्शनी, प्रश्नोत्तर चरण, र विभिन्न अन्य प्रतिस्पर्धात्मक चरणहरूसहित सम्पन्न भएको थियो। चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाको निर्देशन मा तीन सातासम्म प्रतियोगीहरूलाई व्यक्तित्व विकास, स्टेज प्रस्तुति, क्याटवाक, बोलीचाली सुधार, र बौद्धिक क्षमता विकास सम्बन्धी तालिम दिइएको थियो।

विभिन्न विधामा विजेता
प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट भएका सौन्दर्यकर्मीहरू:

वेस्ट ब्राइडल – सन्जु फागो
वेस्ट मेकअप – कल्पना विक
वेस्ट नेल आर्ट – सुशीला राई
वेस्ट जुरो – गंगा श्रेष्ठ
अन्य विशेष टाइटल अवार्ड विजेता

मोस्ट इन्टिलिजेन्ट – सुष्मा दाहाल
वेस्ट फोटोजेनिक – सन्जु फागो
मोस्ट कन्फिडेन्ट – प्रीति खड्का
मोस्ट एक्टिभ – पवित्रा न्यौपाने
मोस्ट डेलिकेट – कोपिला राई
मोस्ट चार्मिङ – बबिता राई
मोस्ट डिलिजेन्ट – अनिता राई
वेस्ट पर्सनालिटी – रमिला कुस्वार
मोस्ट स्मार्ट – कला राई
मोस्ट प्यासेनेट – सन्ध्या श्रेष्ठ
मोस्ट अट्र्याक्टिभ – सुप्रिया सुवेदी
पब्लिक च्वाइस भिडियो – प्रीति खड्का
मोस्ट पपुलर – रमिला कुस्वार
पपुलर च्वाइस – कोपिला राई
प्रतियोगितामा कलाकारहरूले आकर्षक नृत्य प्रस्तुत गरेका थिए। निर्णायक मण्डलमा अभिनेता एसराज गराज, कस्मेटोलोजिस्ट डा. रेखा थापा, मिसेस नोवेल नेपाल २०१४ सन्ध्या लामिछाने, एस्थेटिसियन डा. युनिसा शाही, र सौन्दर्यकर्मी अप्सरा न्यौपाने रहेका थिए।

नेपाली ब्युटिसियनहरूको पेशागत विकास र प्रतिभा प्रस्फुटन गराउने मंचको रूपमा प्रतियोगिता विगत एक दशकदेखि आयोजना हुँदै आएको आयोजक पक्षले जानकारी दिएको छ।

त्रिवि क्रिकेट रङ्गशालाको प्रधानमन्त्रीको सचिवालय टोलीद्वारा निरीक्षण

0

कीर्तिपुर (काठमाडौं): सरकारको लक्ष्यअनुसार आगामी वैशाख २४ भित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १० हजार दर्शक अट्ने प्यारापिट निर्माण र फ्लड लाइट जडानको कामलाई तीव्र गति दिन थालिएको छ। तीनवटै पालोमा निर्माण कार्य अघि बढाइएको छ।

बिहीबार राति ९ बजे प्रधानमन्त्रीको सचिवालयका जनसम्पर्क सल्लाहकार किरण पौडेल, निजी सचिव विनोद कुँवरसहितको टोलीले निर्माण कार्यको अनुगमन गरेको थियो।

भवन निर्माण मन्त्रालयका सहसचिव चक्रवर्ती कन्ठका अनुसार चोभार इन्डतर्फ दायाँ र बायाँतर्फ अन्तर्राष्ट्रियस्तरका दुईतले प्यारापिट निर्माणको काम अघि बढिरहेको छ। हाल जग खन्ने काम भइरहेको छ।

रंगशालाका छ स्थानमा फ्लड लाइट जडानका लागि जमिनमुनि पाइल बनाउने काम भइरहेको छ। निर्धारित समयसीमाभित्र काम सम्पन्न गर्न दिनमा १०० र राति ६० जना मजदुर खटिएका छन्।

हालसम्म करिब ३५ प्रतिशत जमिनमा १० हजार दर्शक क्षमताको संरचना निर्माण भइरहेको छ। सबै काम सम्पन्न भएपछि रंगशालाले ५० हजार दर्शक अटाउन सक्ने लक्ष्य राखिएको छ। अनुगमन टोलीले विकास निर्माणलाई थप तीव्रता दिन निर्देशन दिएको छ।

प्रतिनिधिसभाबाट लगानीमैत्री विधेयकहरू पारित, सरकार आशावादी

0

काठमाडौं । आर्थिक विकास र लगानी विस्तारसँग जोडिएका विभिन्न विधेयकहरू प्रतिनिधिसभामा पारित भएका छन्। सरकारले यी विधेयकहरू मार्फत लगानीको वातावरण सुधार हुने, लगानीकर्ताको विश्वास बढ्ने र मुलुकलाई समृद्ध बनाउन मद्दत पुग्ने विश्वास लिएको छ।

बिहीबार प्रतिनिधिसभाले ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार तथा लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ पारित गरेको हो। सरकारका अनुसार यी विधेयकहरूले अर्थतन्त्रलाई थप गतिशील बनाउने लक्ष्य राखेको छ।

निजीकरण विधेयक : समयानुकूल संशोधन
सरकारले ‘निजीकरण ऐन, २०५०’ लाई अद्यावधिक गर्दै पहिलो संशोधन विधेयक प्रस्तुत गरेको हो। सरकारी लगानी व्यवस्थापन तथा प्राथमिकता निर्धारणलाई प्रभावकारी बनाउन विधेयकमा विशेष व्यवस्था गरिएको छ।

यसअघि संघीय संसद्को बैठक नबसेको अवस्थामा सरकारले अध्यादेशमार्फत विधेयक कार्यान्वयनमा ल्याएको थियो। घाटामा रहेका वा समस्याग्रस्त सार्वजनिक उद्योगहरूलाई पुनर्जीवित गर्ने उद्देश्यले विधेयक प्रस्ताव गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

प्रतिनिधिसभाबाट पारित भएपश्चात विधेयक अब राष्ट्रियसभामा छलफलका लागि पेश गरिनेछ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक : बजेट प्रक्रियामा सुधार
प्रतिनिधिसभाले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ बहुमतले पारित गरेको छ। सरकारका अनुसार यस विधेयकले बजेट निर्माण प्रक्रियालाई सहज बनाउन मद्दत गर्नेछ।

विधेयकले संघीयताको मर्मअनुसार बजेट निर्माणको प्रक्रिया परिभाषित गरेको छ। राष्ट्रिय प्राथमिकता अनुसार आयोजना छनोट तथा लगानी स्रोत सुनिश्चित गर्नका लागि आवश्यक कानुनी आधार विधेयकले तय गर्ने सरकारको दाबी छ।

आर्थिक तथा व्यावसायिक वातावरण सुधार विधेयक : लगानी प्रवर्द्धनमा केन्द्रित
प्रतिनिधिसभाले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार तथा लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ पनि पारित गरेको छ। यसले लगानीमैत्री कानुनी संरचना निर्माण गरी आर्थिक सुधारलाई टेवा दिने सरकारको अपेक्षा छ।

विधेयकले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९, राजस्व न्यायाधीकरण ऐन, २०१३, कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२, राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ लगायतका कानुनहरू संशोधन गरेको छ।

त्यस्तै, मध्यस्थता ऐन, २०५५, कम्पनी ऐन, २०६३, बैंक तथा वित्तीय संस्था ऐन, २०७३, विशेष आर्थिक क्षेत्र ऐन, २०७३, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५, सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐन, २०७५, औद्योगिक व्यवसाय ऐन, २०७६ लगायतका कानुनहरूमा समेत परिमार्जन गरिएको छ।

सरकारको दाबी : लगानी प्रवर्द्धनका लागि विधेयक प्रभावकारी
विधेयकहरूबारे सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक तथा व्यावसायिक वातावरण सुधार गर्न विधेयक ल्याइएको स्पष्ट गरे।

“राम्रो नियत र असल उद्देश्यका साथ आर्थिक सुधार गर्दै स्वदेशी र विदेशी लगानी प्रवर्द्धन गर्न विधेयक ल्याइएको हो। यसको सकारात्मक प्रभाव देखिन थालेको छ,” उनले भने।

सरकारले विधेयकमार्फत उपभोक्ताको हक संरक्षण गर्न उपभोक्ता अदालतको व्यवस्था गरिएको र कालोबजारी नियन्त्रण सम्बन्धी ऐनलाई परिमार्जन गरिएको जानकारी गराएको छ।

यस्तै, राजस्व चुहावट नियन्त्रण, जग्गा व्यवस्थापन, तथा व्यवसायिक जग्गाको धितो राख्न सक्ने व्यवस्थाका प्रावधानहरू विधेयकमा समावेश गरिएको छ।

यी विधेयकहरूको कार्यान्वयनपछि आर्थिक गतिविधि बढ्ने, लगानीमैत्री वातावरण बन्ने र निजी क्षेत्रलाई अझ सक्रिय बनाउन मद्दत पुग्ने सरकारको अपेक्षा छ।

देशभरि मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

0

काठमाडौं: हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असरले कोशी, मधेस, तथा देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली देखिएको छ।

आज दिउँसो कोशी, लुम्बिनी, मधेस लगायत देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यत: सफा रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी, र कर्णाली प्रदेशका केही पहाडी स्थानहरूमा तथा अन्य पहाडी क्षेत्रमा एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति पनि कोशी, मधेस, गण्डकी, र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा हुन सक्नेछ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेस, गण्डकी, बागमती, र कर्णाली प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हुँदा दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ।