Saturday, June 27, 2026
Home Blog Page 522

संविधानसभाबाट हटाइसकिएको राजतन्त्र आउँदैन : बाबुराम भट्टराई

0

जनकपुरधाम: नेपाल समावादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा राजतन्त्र फर्कने सम्भावना छैन भनेका छन्।

शनिबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै, भट्टराई, जो पूर्वप्रधानमन्त्री समेत रहेका छन्, उनले संविधानसभाबाट राजा हटाइएको कारण त्यसको पुनः आगमनको सम्भावना नहुने स्पष्ट पारे।

“केही मानिसहरूले राजतन्त्र फर्किएमा के बिग्रिन्छ भन्ने सोच राख्छन्। विशेष गरी अहिले हिन्दू कट्टरपन्थी शक्तिहरूले हिन्दू राजा ल्याएपछि आफ्नो धार्मिक आस्थाको रक्षा हुनेछ भन्ने बालसुलभ सोच राखेका छन्। उनीहरूसँग हाम्रो भनाइ भनेको राजतन्त्र फर्काउनु भनेको संविधान भत्काउनु हो,” उनले भने।

उनले संविधानसभाले नेपाली जनतालाई सार्वभौम अधिकार प्रदान गरेको उल्लेख गर्दै भने, “यदि यो संविधान भत्किन्छ भने, सार्वभौमसत्ता नै गुम्नेछ। त्यसपछि त्यो रिक्त स्थान कोले भर्ने? बाहिरी शक्तिले, सेनाले, कि अन्य कुनै शक्तिले? देश फेरि अस्थिरताको दिशामा जान्छ। यो जटिल भूराजनीतिक परिप्रेक्ष्यमा, यदि देश अस्थिरतामा फस्छ भने, यसको सार्वभौमसत्ता गम्भीर समस्यामा पर्छ।”

भट्टराईले मधेसी जनताले आफ्नो अधिकार र पहिचानको लागि सबैभन्दा ठूलो बलिदान दिएको पनि बताए।

संसद् समीक्षाः कानुन निर्माणमा सक्रियतादेखि दलितमाथिको ज्यादती विरुद्ध साझा प्रतिवाद

0

काठमाडौँ: यो साता सङ्घीय संसद्को बैठक नियमित रूपमा सञ्चालन भयो। प्रतिनिधिसभाका चार र राष्ट्रियसभाका तीन बैठक बस्दा महत्त्वपूर्ण छलफल भए।

प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरदेखि दलितमाथिको ज्यादती, विदेशी मुद्रा बरामदजस्ता विषय प्राथमिकतामा रहे। पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सेवा सुविधा दिने सरकारको तयारीले विवाद सिर्जना गर्‍यो।

संसदीय समितिहरू पनि सक्रिय रहे। आर्थिक तथा लगानी सुधारका विधेयकहरू पारित भए। विपक्षीले यी विधेयकहरूले आर्थिक सुधार गर्न नसक्ने दाबी गरे।

सिरहामा दलितको घरमा डोजर लगाइएको घटनाले संसद्मा तीव्र प्रतिक्रिया पायो। सांसदहरूले जातीय विभेदको निन्दा गर्दै संसदीय छानबिनको माग गरे।

नियमावली बाझिएको भन्दै राष्ट्रियसभा शुक्रबार स्थगित भयो। चैत १० गते बैठक पुनः बस्नेछ।

नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक

0

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३७ रूपैयाँ २६ पैसा तथा बिक्री दर १३७ रूपैयाँ ८६ पैसा कायम गरिएको छ।

अन्य प्रमुख मुद्राहरूमा युरोपियन युरो एकको खरिद दर १४८ रूपैयाँ ८० पैसा र बिक्री दर १४९ रूपैयाँ ४५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिद दर १७७ रूपैयाँ ६७ पैसा र बिक्री दर १७८ रूपैयाँ ४५ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिद दर १५५ रूपैयाँ ७८ पैसा र बिक्री दर १५६ रूपैयाँ ४६ पैसा तोकिएको छ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रूपैयाँ ३६ पैसा र बिक्री दर ८६ रूपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९५ रूपैयाँ ७३ पैसा र बिक्री दर ९६ रूपैयाँ १५ पैसा तथा सिङ्गापुर डलर एकको खरिद दर १०२ रूपैयाँ ८८ पैसा र बिक्री दर १०३ रूपैयाँ ३३ पैसा निर्धारण गरिएको छ।

एसियाली मुद्राहरूमा जापानी येन १० को खरिद दर ९ रूपैयाँ २१ पैसा र बिक्री दर ९ रूपैयाँ २५ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ९४ पैसा र बिक्री दर १९ रूपैयाँ ०२ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रूपैयाँ ५९ पैसा र बिक्री दर ३६ रूपैयाँ ७५ पैसा तोकिएको छ।

अन्य मुद्राहरूमा कतारी रियाल एकको खरिद दर ३७ रूपैयाँ ६५ पैसा र बिक्री दर ३७ रूपैयाँ ८२ पैसा, थाई भाट एकको खरिद दर ४ रूपैयाँ ०५ पैसा र बिक्री दर ४ रूपैयाँ ०७ पैसा, युएई दिराम एकको खरिद दर ३७ रूपैयाँ ३७ पैसा र बिक्री दर ३७ रूपैयाँ ५३ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रूपैयाँ ०५ पैसा र बिक्री दर ३१ रूपैयाँ १८ पैसा कायम गरिएको छ।

त्यस्तै, साउथ कोरियन वन १०० को खरिद दर ९ रूपैयाँ ३८ पैसा र बिक्री दर ९ रूपैयाँ ४२ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १३ रूपैयाँ ६० पैसा र बिक्री दर १३ रूपैयाँ ६६ पैसा तथा डेनिस क्रोनर एकको खरिद दर १९ रूपैयाँ ९५ पैसा र बिक्री दर २० रूपैयाँ ०३ पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकका अनुसार हङकङ डलर एकको खरिद दर १७ रूपैयाँ ६६ पैसा र बिक्री दर १७ रूपैयाँ ७३ पैसा, कुवेती दिनार एकको खरिद दर ४४५ रूपैयाँ ४५ पैसा र बिक्री दर ४४७ रूपैयाँ ३९ पैसा, बहराइन दिनार एकको खरिद दर ३६४ रूपैयाँ १२ पैसा र बिक्री दर ३६५ रूपैयाँ ७१ पैसा तथा ओमनी रियाल एकको खरिद दर ३५६ रूपैयाँ ५९ पैसा र बिक्री दर ३५८ रूपैयाँ १५ पैसा तोकिएको छ।

भारतीय रूपैयाँ १०० को विनिमय दर भने १६० रूपैयाँ खरिद दर तथा १६० रूपैयाँ १५ पैसा बिक्री दर तोकिएको छ।

राष्ट्र बैंकले आवश्यकतानुसार विनिमय दरमा परिमार्जन गर्न सकिने उल्लेख गरेको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दर केही फरक हुन सक्ने तथा अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध रहने जानकारी दिइएको छ।

मनाङको फू गाउँमा सशस्त्रको ‘बिओपी’ राखिने

0

मनाङ: चीनसँगको सीमा क्षेत्रमा सुरक्षा सुदृढ गर्न मनाङ जिल्लाको नार्पाभूमि गाउँपालिकामा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार नार्पाभूमि गाउँपालिका-४ फू गाउँमा करिब चार हजार मिटर उचाइमा बीओपी स्थापनाको तयारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले सीमा सुरक्षा तथा निगरानीलाई प्रभावकारी बनाउन बीओपी आवश्यक रहेको बताउनुभयो।

बीओपी स्थापनाका लागि २० रोपनी सरकारी जग्गा सशस्त्र प्रहरी बललाई दीर्घकालीन भाडामा प्रदान गरिएको छ। प्रजिअ आचार्यका अनुसार आवश्यकता अनुसार सशस्त्र प्रहरीले उक्त जग्गा उपयोग गर्न सक्नेछ।

बिहीबार एक समारोहका बीच सो जग्गाको भाडा सम्झौताको प्रमाणपत्र सशस्त्र प्रहरी बल नं. ३२ का गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक हिराबहादुर जिसीलाई हस्तान्तरण गरिएको छ।

मनाङको विकट फू क्षेत्र हालसम्म सडक सञ्जालबाट जोडिएको छैन। बीओपी स्थापना भएपछि सीमा सुरक्षा, अन्तरदेशीय अपराध नियन्त्रण तथा निगरानी कार्य प्रभावकारी हुने अपेक्षा गरिएको छ। साथै, शान्ति सुरक्षा, विपद् व्यवस्थापन तथा पर्यटक उद्धारमा पनि सहजता आउने प्रजिअ आचार्यले बताउनुभयो।

बीओपीमा प्रहरी निरीक्षकसहित ३५ जना सशस्त्र प्रहरी परिचालन गरिनेछ। नार्पाभूमि गाउँपालिका चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको छ। सदरमुकाम चामेबाट फू गाउँ पुग्न दुई दिन लाग्छ।

६०औँ आइटेक दिवस काठमाडौंमा मनाइयो

0

काठमाडौँ: भारतीय राजदूतावासले शुक्रबार साँझ विशेष समारोहका बीच ६०औँ भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनायो।

समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतमा अध्ययन गर्दाको अनुभव स्मरण गर्दै विकास र शिक्षाका क्षेत्रमा भारत सरकारको योगदानप्रति कृतज्ञता व्यक्त गर्नुभयो। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आइटेक कार्यक्रमलाई नेपाल सरकारका प्राथमिकताअनुसार थप अनुकूल बनाउने प्रतिबद्धता जनाउनुभयो।

समारोहमा महान्यायाधिवक्ता रमेश बडाल, राष्ट्रिय सुरक्षा परिषद् सचिवालयका सहायक संयोजक तथा आइटेक पूर्वविद्यार्थी सहायक रथी पवन खत्री, र सशस्त्र प्रहरी उपरीक्षक दयाराम शर्माले आइटेक कार्यक्रमसँग सम्बन्धित आफ्ना अनुभव साझा गर्नुभयो।

कार्यक्रममा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को सहयोगमा प्रख्यात कलाकार कुलेश्वरकुमार ठाकुरको नेतृत्वमा ‘यज्ञ’ सांस्कृतिक समूहले मनमोहक मयूरभञ्ज छाऊ नृत्य प्रस्तुत गर्‍यो। साथै, नेपालको कान्त दब दब ब्यान्डले वाद्य लोक फ्युजन र ज्याज संगीत प्रस्तुत गर्‍यो।

समारोहमा सांसद, वरिष्ठ सरकारी अधिकारी, आइटेकका पूर्वविद्यार्थी, तथा भारतीय शैक्षिक संस्थानका नेपाली पूर्वविद्यार्थी उपस्थित थिए।

आइटेक सन् १९६४ मा स्थापना भएको अन्तर्राष्ट्रिय क्षमता निर्माण कार्यक्रम हो, जसअन्तर्गत हालसम्म १६० भन्दा बढी देशका दुई लाखभन्दा बढी अधिकारीलाई तालिम प्रदान गरिएको छ।

सन् २०२४–२५ मा नेपालका ५१० जना विभिन्न पेशाकर्मीलाई भारतका प्रमुख संस्थानहरूमा विविध कोर्सहरूमा तालिम दिइएको छ। यस वर्ष नेपालका चिकित्सक (५०), सरकारी वकिल (३०), राष्ट्रिय न्यायिक प्रतिष्ठानका सदस्य (१५), नेपाल प्रहरी (१४३), सशस्त्र प्रहरी बल (८०), गृह मन्त्रालय (२४), खानेपानी मन्त्रालय (४०) का लागि १८ अनुकूलित कोर्सको व्यवस्था गरिएको छ। विगत १५ वर्षमा नेपालबाट ३,००० भन्दा बढी अधिकारी आइटेक अन्तर्गत तालिम प्राप्त गरिसकेका छन्।

भारतीयको रोजाइमा सिन्की, नेपाली हस्तकला र विजयसालका भाँडा

0

देहरादून (भारत): भारतको देहरादूनमा शुक्रबारदेखि सुरु भएको इन्डो–नेपाल व्यापार महोत्सवमा नेपाली उत्पादनहरूप्रति उल्लेखनीय चासो देखिएको छ।

कञ्चनपुरका गणेशराज बोहोराले विजयसाल काठबाट बनेका भाँडाहरू प्रदर्शनीमा राख्दै आगन्तुकहरूलाई यसको फाइदाबारे जानकारी गराइरहनुभएको छ। “यी भाँडामा रातभर पानी राखेर बिहान खाली पेटमा पिउँदा मधुमेह, उच्च रक्तचाप, कोलेस्टेरोल नियन्त्रण गर्न मद्दत गर्छ,” उहाँले भन्नुभयो। व्यापारभन्दा बढी जनचेतना फैलाउनु आफ्नो प्राथमिकता भएको बताउँदै उहाँले आगन्तुकहरूलाई फोटो खिच्न र थप जानकारीका लागि युट्युब हेर्न पनि आग्रह गर्नुभयो।

यसअघि दुई महोत्सवमा राम्रो व्यापार गरेपछि उहाँ यसपटक १०२ वटा भाँडा ल्याउनुभएको छ। उद्घाटन नहुँदै नौ वटा बिक्री भइसकेको जानकारी दिँदै उहाँले पहिलो वर्ष १५० र दोस्रो वर्ष २३० वटा भाँडा बिक्री भएको अनुभव सुनाउनुभयो। तर, विजयसाल संरक्षित वनस्पति सूचीमा परेपछि काठ पाउन गाह्रो भएको गुनासो गर्दै उहाँले उत्पादन घटेको बताउनुभयो।

महोत्सवमा नेपाली हस्तकलाका उत्पादनहरूप्रति भारतीय उपभोक्ताको विशेष चासो देखिएको छ। नेपाली रुद्राक्ष र बोधिचित्तको माला, सल्यानको खुकुरी, पाल्पाको ढाका कपडा, सिन्की, मस्यौरा, भीर मौरीको मह, थाङ्का चित्रकलाजस्ता सामग्री स्टलहरूमा प्रदर्शित छन्।

चितवनकी अम्बी धितालले नेपाली उत्पादन, विशेष गरी मस्यौरा र तितौरा ल्याएको बताउँदै महोत्सवले नेपाली सामानको बजार विस्तारमा सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो। काठमाडौँकी रजनी चित्रकारले विगतका महोत्सवहरूमा राम्रो व्यापार भएकाले यसपटक पनि सहभागी भएको बताउनुभयो।

महोत्सवमा नेपाली मौरीपालन व्यवसायी उमा खत्रीले सीमाबाट सामान ओसारपसार सहज नहुँदा व्यापारमा चुनौती भएको बताउनुभयो। उहाँका अनुसार नेपाली उत्पादनको प्रवर्द्धनका लागि यस्तो महोत्सव उपयोगी भए पनि दुबै देशका सरकारले आयात-निर्यात प्रक्रियालाई सरल बनाउन आवश्यक छ।

काठमाडौँकी संगीता गुरुङले रोल्पा र रुकुममा उत्पादित भीर मौरीको मह, टिमुर, र कोदोको पिठो प्रदर्शनीमा राख्नुभएको छ। उहाँले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन महोत्सव महत्त्वपूर्ण रहेको बताउनुभयो।

भक्तपुरका लायन तामाङले रुद्राक्ष, बोधिचित्तका माला तथा ५० हजार रुपैयाँसम्म पर्ने थाङ्का चित्रकलाको प्रदर्शनी गर्नुभएको छ। “थाङ्का चित्रकलाले अन्तर्राष्ट्रिय पहिचान पाउन यस्तो महोत्सव महत्त्वपूर्ण छ,” उहाँले भन्नुभयो।

महोत्सवमा नेपालका ५० र भारतका १५० स्टल रहेका छन्। नेपाली उत्पादनहरूमाथि भारतीय उपभोक्ताहरूको बढ्दो चासोले नेपाल-भारत व्यापार प्रवर्द्धनमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

गाउँपालिका अध्यक्षसहित दुई जना प्रहरी नियन्त्रणमा

0

सिरहा: सिरहाको औरहीमा महायज्ञका नाममा दलित परिवारमाथि गरिएको जातीय विभेदको घटनामा औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष तथा जनमत पार्टीका नेता दिलीप यादवलाई प्रहरीले शुक्रबार साँझ नियन्त्रणमा लिएको छ।

मधेश प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यका अनुसार उनीहरूसँग सोधपुछ भइरहेको छ। पीडितबाट जाहेरी प्राप्त भएपछि कानूनी प्रक्रियाअनुसार कारबाही अघि बढाइने जनाइएको छ।

यही चैत १७ गतेदेखि महायज्ञ लगाउनका लागि सिरहाको औरही–५ निवासी दलित दीपक मलिक (डोम)को घर गत फागुन १० गते भत्काइएको थियो। उक्त कार्यमा गाउँपालिकाको जेसीबी प्रयोग गरिएको थियो, जसमा अध्यक्ष यादव स्वयं संलग्न रहेको बताइन्छ। घर भत्काएपछि त्यस स्थानको माटोसमेत हटाइएको थियो, जसका कारण जातीय विभेदको आरोप लगाउँदै घटनाको व्यापक विरोध भएको थियो।

यस घटनामा स्थानीय प्रशासनको संवेदनशीलता अभाव देखिएको भन्दै गृह मन्त्रालयले सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई शुक्रबारै मन्त्रालय तानेको छ। साथै, राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय दलित आयोगले घटनालाई गम्भीर रूपमा लिँदै स्थलगत अनुगमनसमेत गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा पनि सांसदहरूले पटकपटक यस घटनामा संसदीय छानबिन समिति गठनको माग गर्दै दोषीमाथि तत्काल कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका थिए। घटनाले जातीय विभेदविरुद्धको कानूनी कार्यान्वयन र प्रशासनिक उत्तरदायित्वमाथि गम्भीर प्रश्न खडा गरेको छ।

आज विश्व पानी दिवस मनाइँदै, संसारभर १३ खर्ब ८६ अर्ब वर्गकिलोमिटर क्षेत्रमा पानी

0

काठमाडौँ: ‘हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रम गरी विश्व पानी दिवस मनाइँदैछ। बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन तथा अत्यधिक पानीको दोहनजस्ता कारणले पानी सङ्कट थप जटिल बन्दै गएको सन्दर्भमा यस दिवसले जागरूकता फैलाउने अपेक्षा गरिएको छ।

हाल जलवायु परिवर्तनका कारण हिमनदीहरू खुम्चिँदै गएका छन्, जसले मानव जीवन तथा प्रकृतिमा गम्भीर असर पार्दै आएको छ। यही कारण यस वर्ष पानी दिवसको मुख्य नारा ‘हिमनदी संरक्षण’ राखिएको छ।

सन् १९९३ यता हरेक वर्ष २२ मार्चमा मनाइने यो दिवस सुरक्षित तथा स्वच्छ पानीको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्न तथा दिगो जल व्यवस्थापनका लागि रणनीतिक पहल अघि बढाउन संयुक्त राष्ट्रसङ्घद्वारा सुरु गरिएको हो।

पानीको तथ्यांक र संकट
विश्वभर कुल ९७.५ प्रतिशत पानी समुद्रमा रहेको छ, जुन नुनिलो भएकाले पिउन, सिँचाइ तथा विद्युत् उत्पादनका लागि उपयोग गर्न सकिँदैन। बाँकी २.५ प्रतिशत पिउनयोग्य भए तापनि यसको वितरण असमान छ। अन्तर्राष्ट्रिय पानी व्यवस्थापन संस्थाका अनुसार प्रत्येक वर्ष एक जनालाई करिब नौ हजार घनमिटर पानी आवश्यक पर्छ। तर विश्वका करिब एक अर्ब मानिस सुरक्षित पानीको अभावमा जीवनयापन गर्न बाध्य छन्।

नेपालको सन्दर्भमा प्रति व्यक्ति जलस्रोत उपभोग क्षमता तीन हजार ६०० घनमिटर भए पनि हाल उपभोग दर केवल ३९३.५ घनमिटरमा सीमित छ। यसले प्रभावकारी जल व्यवस्थापनको आवश्यकतालाई झल्काउँछ।

जलवायु परिवर्तन र पानी संकट
औद्योगिकीकरण, तापमान वृद्धिजस्ता कारणले परम्परागत जलस्रोतहरू सुक्दै गएका छन्। हिमनदीको ह्रास र हिमताल फुट्ने जोखिम बढेको छ। मानवजनित अतिक्रमण, अनियन्त्रित भूमिगत जल उत्खनन तथा वर्षात्को पानीको उचित संरक्षण अभावले समस्या थप जटिल बन्दै गएको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वभर ४० देखि ६० प्रतिशत पानी चुहावट र दुरुपयोग हुने गरेको छ।

नेपालको रणनीति र प्रयास
नेपाल जलस्रोतमा धनी भए पनि उचित व्यवस्थापनको अभावका कारण धेरै नागरिकले सुरक्षित तथा पर्याप्त पानी पाउन सकेका छैनन्। सरकारद्वारा जल र ऊर्जाबीचको अन्तरसम्बन्धबारे जनचेतना अभिवृद्धि गर्ने, जल उपयोगसम्बन्धी नीतिगत बहस अघि बढाउने तथा सरोकारवालाहरूलाई एकजुट गर्ने उद्देश्यसहित साताव्यापी कार्यक्रम सञ्चालन भइरहेको छ।

नेपालका अधिकांश नदी हिमालय क्षेत्रबाट उत्पन्न भएका छन्। जलवायु परिवर्तनको असर गहिरिँदै गएको सन्दर्भमा हिमनदी संरक्षणलाई विशेष प्राथमिकता दिई कार्यान्वयनात्मक पहल आवश्यक देखिएको छ।

औद्योगीकरणबाट मात्रै अर्थतन्त्र सुधार गर्न सकिन्छः मन्त्री भण्डारी

0

काठमाडौं: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले रोजगारी सृजना गर्दै अर्थतन्त्र सुधार गर्न तीव्र औद्योगीकरण अपरिहार्य रहेको बताएका छन्।

नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले औद्योगिक क्षेत्रको सुधार गर्दै उद्योगी व्यवसायीलाई सहज रूपमा व्यवसाय सञ्चालन गर्न अनुकूल वातावरण तयार पार्नु सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गरे।

उनका अनुसार आर्थिक तथा सामाजिक विकासका लागि उद्योग र व्यवसाय अत्यन्त महत्वपूर्ण क्षेत्र हुन्। त्यसैले औद्योगिक विकासबिना समृद्ध अर्थतन्त्रको परिकल्पना गर्न नसकिने उनले बताए। समग्र औद्योगिक क्षेत्रको प्रवर्द्धन तथा नीतिगत सुधारमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने दिशामा सरकार अघि बढिरहेको उनले प्रस्ट्याए।

सरकारले स्वदेशी उत्पादन र उपभोग प्रवर्द्धन गर्न ‘मेक इन नेपाल’ अभियान सञ्चालन गरिरहेको जानकारी गराउँदै मन्त्री भण्डारीले ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगसम्बन्धी निर्देशिका २०८१’ कार्यान्वयनमा रहेको उल्लेख गरे। उनले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई प्रोत्साहन गर्दै आयात प्रतिस्थापन गर्ने नीति अबलम्बन गरिएको जानकारी दिए।

उनले औद्योगिक तथा व्यावसायिक वातावरण सुधार गर्न संघीय सरकारले आवश्यक कानुनी तथा नीतिगत सुधारसहित अध्यादेश जारी गरिसकेको बताउँदै यसले निजी क्षेत्रको आत्मविश्वासलाई बढाएको दाबी गरे।

इजरायली सुरक्षा प्रमुख रोनेन बार बर्खास्त, नेतान्याहूको निर्णयले विरोध चर्कियो

0

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले देशको सुरक्षा सेवा शिन बेट का प्रमुख रोनेन बारलाई बर्खास्त गरेका छन्। नेतान्याहूले अक्टोबर ७, २०२३ मा हमासको आक्रमणको पूर्वानुमान गर्न असफल भएको भन्दै उनलाई पदमुक्त गरेका हुन्।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले रोनेन बारलाई अवकाश लिनुअघि बर्खास्त गर्ने औपचारिक निर्णय अनुमोदन गरेको छ।

सन् २०२१ मा पाँच वर्षे कार्यकालका लागि शिन बेट प्रमुख नियुक्त भएका बारलाई गत आइतबार नेतान्याहूले एक भिडियो वक्तव्य मार्फत बर्खास्त गर्ने घोषणा गरेका थिए।

प्रधानमन्त्री नेतान्याहूले “निरन्तर अविश्वास” बढ्दै गएको भन्दै बारलाई हटाउने निर्णय गरेको बताएका छन्।

यो कदमसँगै इजरायलभित्र चर्को असन्तोष उत्पन्न भएको छ। यरुशलममा सरकारविरोधी प्रदर्शनहरू तीव्र बनेका छन्, जसमा हजारौं प्रदर्शनकारी सहभागी भएका छन्।

त्यस्तै, नेतान्याहूको यो निर्णयसँगै इजरायलको गाजामा जारी सैन्य कारबाहीको विरोधमा थप प्रदर्शनहरू भएका छन्।