देहरादून (भारत): भारतको देहरादूनमा शुक्रबारदेखि सुरु भएको इन्डो–नेपाल व्यापार महोत्सवमा नेपाली उत्पादनहरूप्रति उल्लेखनीय चासो देखिएको छ।
कञ्चनपुरका गणेशराज बोहोराले विजयसाल काठबाट बनेका भाँडाहरू प्रदर्शनीमा राख्दै आगन्तुकहरूलाई यसको फाइदाबारे जानकारी गराइरहनुभएको छ। “यी भाँडामा रातभर पानी राखेर बिहान खाली पेटमा पिउँदा मधुमेह, उच्च रक्तचाप, कोलेस्टेरोल नियन्त्रण गर्न मद्दत गर्छ,” उहाँले भन्नुभयो। व्यापारभन्दा बढी जनचेतना फैलाउनु आफ्नो प्राथमिकता भएको बताउँदै उहाँले आगन्तुकहरूलाई फोटो खिच्न र थप जानकारीका लागि युट्युब हेर्न पनि आग्रह गर्नुभयो।
यसअघि दुई महोत्सवमा राम्रो व्यापार गरेपछि उहाँ यसपटक १०२ वटा भाँडा ल्याउनुभएको छ। उद्घाटन नहुँदै नौ वटा बिक्री भइसकेको जानकारी दिँदै उहाँले पहिलो वर्ष १५० र दोस्रो वर्ष २३० वटा भाँडा बिक्री भएको अनुभव सुनाउनुभयो। तर, विजयसाल संरक्षित वनस्पति सूचीमा परेपछि काठ पाउन गाह्रो भएको गुनासो गर्दै उहाँले उत्पादन घटेको बताउनुभयो।
महोत्सवमा नेपाली हस्तकलाका उत्पादनहरूप्रति भारतीय उपभोक्ताको विशेष चासो देखिएको छ। नेपाली रुद्राक्ष र बोधिचित्तको माला, सल्यानको खुकुरी, पाल्पाको ढाका कपडा, सिन्की, मस्यौरा, भीर मौरीको मह, थाङ्का चित्रकलाजस्ता सामग्री स्टलहरूमा प्रदर्शित छन्।
चितवनकी अम्बी धितालले नेपाली उत्पादन, विशेष गरी मस्यौरा र तितौरा ल्याएको बताउँदै महोत्सवले नेपाली सामानको बजार विस्तारमा सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो। काठमाडौँकी रजनी चित्रकारले विगतका महोत्सवहरूमा राम्रो व्यापार भएकाले यसपटक पनि सहभागी भएको बताउनुभयो।
महोत्सवमा नेपाली मौरीपालन व्यवसायी उमा खत्रीले सीमाबाट सामान ओसारपसार सहज नहुँदा व्यापारमा चुनौती भएको बताउनुभयो। उहाँका अनुसार नेपाली उत्पादनको प्रवर्द्धनका लागि यस्तो महोत्सव उपयोगी भए पनि दुबै देशका सरकारले आयात-निर्यात प्रक्रियालाई सरल बनाउन आवश्यक छ।
काठमाडौँकी संगीता गुरुङले रोल्पा र रुकुममा उत्पादित भीर मौरीको मह, टिमुर, र कोदोको पिठो प्रदर्शनीमा राख्नुभएको छ। उहाँले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन महोत्सव महत्त्वपूर्ण रहेको बताउनुभयो।
भक्तपुरका लायन तामाङले रुद्राक्ष, बोधिचित्तका माला तथा ५० हजार रुपैयाँसम्म पर्ने थाङ्का चित्रकलाको प्रदर्शनी गर्नुभएको छ। “थाङ्का चित्रकलाले अन्तर्राष्ट्रिय पहिचान पाउन यस्तो महोत्सव महत्त्वपूर्ण छ,” उहाँले भन्नुभयो।
महोत्सवमा नेपालका ५० र भारतका १५० स्टल रहेका छन्। नेपाली उत्पादनहरूमाथि भारतीय उपभोक्ताहरूको बढ्दो चासोले नेपाल-भारत व्यापार प्रवर्द्धनमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।


