Saturday, June 27, 2026
Homeसामाचारउद्योगमन्त्री भण्डारी र मोल्डोभाका परराष्ट्रमन्त्रीबीच भेटर्वार्ता

उद्योगमन्त्री भण्डारी र मोल्डोभाका परराष्ट्रमन्त्रीबीच भेटर्वार्ता

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र गणतन्त्र मोल्डोभाका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री मिहेल पपसोइ बीच भेटवार्ता सम्पन्न भएको छ।

मन्त्री भण्डारीका स्वकीय सचिवालयका अनुसार सन् १९९३ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र मोल्डोभाबीच मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गर्दै मन्त्री भण्डारीले दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

उहाँले कूटनीतिक सम्बन्ध स्थापनाको ३२ वर्षमा गणतन्त्र मोल्डोभाका उपप्रधानमन्त्रीको पहिलो आधिकारिक भ्रमण महत्त्वपूर्ण उपलब्धि भएको बताउँदै, यसले आपसी सहकार्य र आर्थिक वृद्धिको नयाँ सम्भावना अन्वेषण गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। साथै, उच्चस्तरीय भेटघाट र साझेदारीमार्फत दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउनुपर्नेमा जोड दिनुभयो।

व्यापार विस्तार र लगानी प्रवर्द्धनमा जोड
हाल नेपाल-मोल्डोभा व्यापार सीमित रहेकाले यसको विस्तार आवश्यक रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले व्यवसाय अनुकूल वातावरण निर्माण, व्यापार सञ्चालन सहजता, र महामारीपछिको आर्थिक पुनरुत्थान सुनिश्चित गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभयो।

उहाँले कृषि, उद्योग, पर्यटन, नवीकरणीय ऊर्जा, सूचना प्रविधि, र शिक्षा लगायतका क्षेत्रमा आपसी सहकार्यका सम्भावना रहेको बताउँदै, विद्यार्थी आदानप्रदान कार्यक्रमलाई प्रोत्साहित गर्नुपर्ने धारणा राख्नुभयो।

नेपालले कृषि उत्पादन, हस्तकला सामग्री, र तयारी पोशाक जस्ता उच्च गुणस्तरीय उत्पादनहरू निर्यात गर्ने अवसर खोजिरहेको बताउँदै, यी क्षेत्रमा मोल्डोभासँग सहकार्य गर्न इच्छुक रहेको मन्त्री भण्डारीले उल्लेख गर्नुभयो।

मोल्डोभाका उपप्रधानमन्त्रीको प्रतिक्रिया
गणतन्त्र मोल्डोभाका उपप्रधानमन्त्री पपोसोइले नेपाल र मोल्डोभाबीच धेरै आयाममा समानता रहेको बताउँदै, जलवायु परिवर्तन, कृषि औद्योगिकीकरण, यान्त्रिकीकरण, शैक्षिक तथा सांस्कृतिक आदानप्रदान जस्ता क्षेत्रमा साझेदारीको सम्भावना रहेको धारणा राख्नुभयो।

उहाँले नेपाली नागरिकका लागि मोल्डोभामा रोजगारीको सम्भावना रहेको उल्लेख गर्दै, यस विषयमा थप साझेदारीको पहल गर्न सकिने विचार व्यक्त गर्नुभयो। साथै, निर्यात प्रवर्द्धन र आर्थिक साझेदारीलाई विस्तार गर्न दुवै देशका सम्बन्धित मन्त्रालयहरूबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका