Saturday, June 27, 2026
Homeराजनीतिपरराष्ट्रमन्त्री आरजु देउवा राणाको भारत भ्रमण: लोकतान्त्रिक प्रणाली र द्विपक्षीय सहयोगबारे छलफल

परराष्ट्रमन्त्री आरजु देउवा राणाको भारत भ्रमण: लोकतान्त्रिक प्रणाली र द्विपक्षीय सहयोगबारे छलफल

काठमाडौं । परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतले नेपालमा लोकतान्त्रिक प्रणालीकै चाहना राखेको बताएकी छन्।

भारत भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री राणाले भारतीय पक्षसँग राजनीतिक विषयमा विस्तृत छलफल नभए पनि लोकतान्त्रिक प्रणालीप्रति भारतको समर्थन रहेको अनुभूति भएको बताइन्। साथै, हाल नेपाल सरकारसँग भारतीय निकायहरू सम्पर्कमा रहे पनि सरकार परिवर्तन गर्ने कुनै आशय नदेखिएको स्पष्ट पारिन्।

भारत भ्रमणका क्रममा उनले भारतसहित अन्य देशका विदेशमन्त्रीहरूसँग द्विपक्षीय हित र आपसी चासोका विषयमा छलफल गरेको जानकारी दिइन्। नेपाल–भारतबीचका विभिन्न द्विपक्षीय संयन्त्रहरूको पछिल्लो प्रगतिबारे समिक्षा गर्दै यी संयन्त्रहरूलाई थप सक्रिय बनाउने र द्विपक्षीय सहयोगलाई मजबुत बनाउने विषयमा सहमति भएको उनको भनाइ छ।

नेपालमा देखिएको विद्युत अभाव समाधानका लागि पनि उनले कूटनीतिक पहल गरेको उल्लेख गरिन्। भारततर्फ आपूर्ति हुने विद्युतको परिमाण वृद्धि गर्न अनुरोध गरिएको जानकारी दिँदै उनले ऊर्जा क्षेत्रमा थप सहकार्यको आवश्यकता रहेको बताइन्।

त्यसैगरी, अमेरिकाका राष्ट्रिय सुरक्षा परिषदका वरिष्ठ निर्देशक महामहिम रिक्की गिलसँगको भेटमा नेपाललाई प्रदान गरिँदै आएको अमेरिकी सहयोगको निरन्तरता सुनिश्चित गर्न र विपिन जोशीको सकुशल रिहाइका लागि सहजीकरण गर्न आग्रह गरिएको उनले बताइन्।

युक्रेनी समकक्षीसँगको भेटमा युक्रेनमा युद्धबन्दीका रूपमा रहेका सात नेपाली नागरिकहरूको शीघ्र रिहाइ तथा स्वदेश फिर्तीका लागि आग्रह गरिएको र तत्कालै आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता प्राप्त भएको उनले जानकारी दिइन्।

उनले आफ्नो भ्रमणले भारतसहित विभिन्न मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ मजबुत र सुमधुर बनाउन सहयोग पुगेको निष्कर्ष व्यक्त गरिन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका