काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को अन्तिम खेलमा सेनेगलले इराकलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै नकआउट चरणमा पुग्ने सम्भावना जीवित राखेको छ।
क्यानडाको टोरन्टोस्थित रंगशालामा शनिबार बिहान सम्पन्न खेलमा सुरुदेखि नै आक्रामक देखिएको सेनेगलले इराकमाथि एकपक्षीय प्रदर्शन गरेको हो।
सेनेगलका लागि पापे गुएले दुई गोल गरे भने हबिब डियारा, इस्माइला सार र इलमान न्डियाएले समान एक–एक गोल गरे।
खेलको चौथो मिनेटमै हबिब डियाराले गोल गर्दै सेनेगललाई अग्रता दिलाएका थिए। १३औँ मिनेटमा इराकका डिफेन्डर रेबिन सुलाकाले सिधै रातो कार्ड पाएपछि इराक १० खेलाडीमा सीमित भयो। पहिलो हाफ १–० मा सकिए पनि दोस्रो हाफमा सेनेगलले आक्रामक खेललाई निरन्तरता दिँदै थप चार गोल गर्यो।
इस्माइला सारले ५६औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए। त्यसपछि पापे गुएले ५९औँ र ७१औँ मिनेटमा लगातार दुई गोल गर्दै टोलीलाई ४–० को बलियो अवस्थामा पुर्याए। खेलको ८२औँ मिनेटमा इलमान न्डियाएले गोल गरेपछि सेनेगलले ५–० को प्रभावशाली जित सुनिश्चित गर्यो।
यस जितसँगै सेनेगलले तीन खेलबाट तीन अंक जोड्दै समूह ‘आई’ मा तेस्रो स्थान हासिल गरेको छ। ४८ टोली सहभागी फिफा विश्वकपको नयाँ ढाँचाअनुसार १२ समूहका तेस्रो स्थानमा रहने टोलीमध्ये उत्कृष्ट चार टोली पनि अन्तिम ३२ (नकआउट) चरणमा पुग्ने व्यवस्था छ।
सेनेगल हाल उत्कृष्ट तेस्रो स्थानका टोलीहरूको सूचीमा पाँचौँ स्थानमा रहेकाले अन्तिम ३२ मा स्थान बनाउन अब अन्य समूहका खेलहरूको नतिजामा निर्भर रहनुपर्नेछ।
यस समूहबाट फ्रान्स तीनै खेल जित्दै ९ अंकसहित समूह विजेता र नर्वे ६ अंकसहित उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरिसकेका छन्। इराक भने तीनवटै खेलमा पराजित हुँदै अंकविहीन अवस्थामा प्रतियोगिताबाट बाहिरिएको छ।


