काठमाडौँका १९ सार्वजनिक स्थानमा नि:शुल्क वाइफाइ सेवा सुरु, मन्त्री खरेल आज निरीक्षणमा
काठमाडौँ । अब काठमाडौँका विभिन्न १९ सार्वजनिक स्थानमा नि:शुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र, विमानस्थल र अन्य सार्वजनिक स्थानमा नि:शुल्क वाइफाइ सेवा विस्तार गरिएको हो ।
मन्त्रालयका अनुसार पहिले नै वाइफाइ सेवा उपलब्ध स्थानहरूमा मर्मतसम्भार, गुणस्तर सुधार र क्षमता विस्तार गरिएको छ भने तीन निर्माणाधीनसहित आठ स्थानमा नयाँ जडान गरिएको छ ।
अब नयाँ बसपार्क, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, कीर्तिपुर अस्पताल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्षमता विस्तारसहित वाइफाइ सेवा सञ्चालनमा आएको छ । साथै, ठूलोभर्याङ र एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा क्षमता अभिवृद्धि भइरहेको छ भने भक्तपुरको राधेराधेस्थित कार्यालयमा नयाँ स्थापना हुँदैछ ।
सेवाको निरन्तरता र दिगोपनाका लागि सम्बन्धित संस्थाले सेवाप्रदायक कम्पनीसँग सम्झौता गरिसकेका छन् । नेपाल टेलिकम, वर्ल्डलिङ्क र भायनेट कम्पनीले संयुक्तरूपमा सेवा विस्तार गरेका हुन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले मन्त्री खरेलको सक्रियतामा सेवाप्रदायक कम्पनीहरूसँग समन्वय गरी वाइफाइ विस्तार गरेको हो । प्राधिकरणका अनुसार वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, टेकु अस्पताल, कान्ति बाल अस्पताल, गङ्गालाल हृदय केन्द्र, सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल, मातृशिशु अस्पताल, माथेमा उपचार केन्द्र र पशुपति क्षेत्रलगायतका स्थानमा इन्टरनेट गतिको क्षमता १० एमबिपिएसबाट बढाएर १५० एमबिपिएस र प्रति डिभाइस कोटा १०० एमबीबाट ५०० एमबी गरिएको छ ।
त्यसैगरी नेपाल टेलिकमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका ३५ विमानस्थलमा नि:शुल्क वाइफाइ विस्तार गर्ने योजना बनाएको छ । भक्तपुर क्यान्सर अस्पतालमा छ र कीर्तिपुर अस्पतालमा पाँच एक्सेस प्वाइन्टमार्फत नयाँ वाइफाइ सेवा सञ्चालनमा ल्याइएको छ ।
मन्त्री खरेलले पदभार ग्रहणको पहिलो निर्णयका रूपमा दुई महिनाभित्र उपत्यकाका सार्वजनिक स्थानमा नि:शुल्क वाइफाइ विस्तार गर्ने घोषणा गरेका थिए । मन्त्रालयका अनुसार अब उपत्यकाबाहेकका १० प्रमुख शहरमा पनि वाइफाइ सेवा विस्तारको तयारी भइरहेको छ ।
नि:शुल्क वाइफाइको सञ्चालन अवस्था अवलोकन गर्न मन्त्री खरेल नेतृत्वको टोली आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म नयाँ बसपार्क, त्रिवि शिक्षण अस्पताल, पशुपति क्षेत्र र त्रिभुवन विमानस्थलमा निरीक्षण गर्नेछ ।
सञ्चारमन्त्री खरेलको विशेष सक्रियतमा काठमाडौँका १९ स्थानमा नि:शुल्क वाइफाइ इन्टरनेट
सम्बन्धित समाचार


