काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानमै अवस्थित छ।
हाल देशका हिमाली तथा पहाडी भू-भागमा सामान्य बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली तथा तराईमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। हिमाली तथा पहाडी भू-भागका केही स्थानका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि चट्याङसहित वर्षा हुन सक्नेछ।
महाशाखाका अनुसार विशेषगरी लुम्बिनी प्रदेशका पहाडी क्षेत्र तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थान तथा मधेस प्रदेशबाहेक अन्य प्रदेशका तराई क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले भारी वर्षा हुन सक्ने क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा नदी, खोलामा आउने आकस्मिक बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्न आग्रह गरेको छ।


