Wednesday, September 16, 2026
Homeअन्तराष्ट्रियइन्डोनेसियामा बच्चा तस्करी प्रकरणः १९ दोषी ठहर, सिंगापुरमा अपनाइएका बालबालिकाको भविष्य अन्योलमा

इन्डोनेसियामा बच्चा तस्करी प्रकरणः १९ दोषी ठहर, सिंगापुरमा अपनाइएका बालबालिकाको भविष्य अन्योलमा

सिंगापुर । इन्डोनेसियाको एक अदालतले सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहका १९ सदस्यलाई दोषी ठहर गर्दै जेल सजाय सुनाएको छ। तर अदालतको फैसलापछि तस्करीमार्फत सिंगापुर पुर्‍याइएका बालबालिकाको भविष्यलाई लिएर नयाँ कानुनी र मानवीय बहस सुरु भएको छ।

बीबीसीका अनुसार उक्त गिरोहले कम्तीमा ३४ जना बालबालिकाको अवैध कारोबार गरेको थियो। तीमध्ये कम्तीमा १२ जनालाई सिंगापुर पठाएर धर्मपुत्र–धर्मपुत्रीका रूपमा अपनाउन लगाइएको खुलेको छ।

सिंगापुरमा ती बालबालिकालाई अपनाएका परिवारहरू अहिले गम्भीर मानसिक तनावमा छन्। ‘डेभिड’ (परिवर्तित नाम) का एक अभिभावकले भने, “यो मुद्दा सकिएपछि अब हाम्रो छोराको के हुन्छ? हामी झन्डै एक वर्षदेखि डर र चिन्तामै बाँचिरहेका छौँ।”

ती परिवारहरूको भनाइअनुसार उनीहरूले कानुनी प्रक्रिया पूरा गरेर नै बच्चा अपनाएको विश्वास गरेका थिए र यसमा बच्चा तस्करीको संलग्नता रहेको जानकारी उनीहरूलाई थिएन। उनीहरूले आफूहरू पनि तस्करी गिरोहबाट ठगिएको दाबी गर्दै सरकारी निकायले सुरुमै यस्तो अनियमितता पत्ता लगाउनुपर्ने बताएका छन्।

अनुसन्धानका क्रममा तस्करी गिरोहले बच्चाहरूको जन्मदर्ता बनाउँदा आफ्नै सदस्यहरूको नाम आमाबुबाका रूपमा उल्लेख गरी नक्कली कागजात तयार पारेको खुलासा भएको छ।

इन्डोनेसियाका बालअधिकारकर्मी तथा सरकारी अधिकारीहरूले सिद्धान्ततः ती बालबालिकालाई इन्डोनेसिया फर्काइनुपर्ने धारणा राखेका छन्। तर कानुनविद्हरूका अनुसार सिंगापुरमा एकपटक अदालतबाट धर्मपुत्र–धर्मपुत्रीका रूपमा अपनाउने आदेश जारी भएपछि त्यसलाई रद्द गर्ने प्रक्रिया अत्यन्त जटिल हुन्छ।

विज्ञहरूले यस्तो संवेदनशील विषयमा कानुनी पक्षसँगै बालबालिकाको मनोवैज्ञानिक अवस्था र सर्वोत्तम हितलाई प्राथमिकतामा राखेर निर्णय गर्नुपर्ने सुझाव दिएका छन्।

हालसम्म सिंगापुर र इन्डोनेसिया दुवै सरकारले बालबालिकाको भविष्यबारे कुनै अन्तिम निर्णय सार्वजनिक गरेका छैनन्। इन्डोनेसियाको विदेश मन्त्रालयले बालबालिकाको कानुनी हैसियत तथा उनीहरूका जैविक अभिभावकको पहिचानबारे थप अनुसन्धान आवश्यक रहेको जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका