काठमाडौँ । वैदेशिक रोजगारीको प्रलोभनमा युवायुवतीलाई ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, विदेशमा पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभन देखाई रकम असुलेर सम्पर्कविहीन बनेपछि पीडितहरूले उजुरी दिएका थिए। अनुसन्धानपछि मनोज दाहाल (२८, इलाम) र कार्तिक कुमार चौधरी (२६, बारा)लाई उपत्यकाका फरक–फरक स्थानबाट भदौ १५ गते पक्राउ गरिएको हो।
मनोजले रसिया पठाउने भन्दै ८ लाख ५० हजार रुपैयाँ लिएको र चौधरीले सर्बिया पठाउने भन्दै १६ जनाबाट जम्मा ४२ लाख रुपैयाँ असुलेको प्रहरीको भनाइ छ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ। प्रहरीले वैदेशिक रोजगारीका नाममा हुने यस्ता ठगीमा संलग्नमाथि कडा कारबाही गर्ने र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता जनाएको छ।



