काठमाडौं । कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा मृत फेला परेका ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट निष्कर्ष निकालिएको छ। घटनामा अन्य व्यक्तिको संलग्नता नदेखिएको प्रहरीले जनाएको छ।
काठमाडौं महानगरपालिका–२६ नरदेवी स्थायी घर भई कीर्तिपुरस्थित ग्रिनउड भिल्लामा परिवारसँग बस्दै आएका श्रेष्ठ मंगलबार बिहान करिब ११:२० बजे आफूले चलाउँदै आएको बा.५ च ३०३८ नम्बरको कार लिएर ट्याङ्लाफाँटस्थित चाँदनी चोक पुगेका थिए।
प्रहरीका अनुसार उनले सडकबाट केही पर रहेको खाली जग्गामा कार पार्क गरेपछि कारभित्रै आगो लागेको थियो। घटनास्थल नजिक रहेका एक युवाले आगो देखेपछि कारको ढोका खोल्ने प्रयास गरेका थिए। तर चालकतर्फको ढोका खोल्दा आगोको तापका कारण उनको हातसमेत पोलेपछि उनी पछाडि हटेको दृश्य घटनास्थलको सिसिटिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त कीर्तिपुरको अनुसन्धानका आधारमा श्रेष्ठले आफैँ कारभित्र आगो लगाएको निष्कर्ष निकालिएको हो। काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेका अनुसार हालसम्मको अनुसन्धानमा घटनामा अन्य कसैको संलग्नता देखिएको छैन।
प्रहरीले आगो नियन्त्रणमा लिएपछि श्रेष्ठ चालक सिटमै मृत अवस्थामा फेला परेका थिए।
प्रारम्भिक अनुसन्धानअनुसार कोरोना महामारीपछि औषधि व्यवसायमा ठूलो घाटा व्यहोरेपछि श्रेष्ठ आर्थिक समस्यामा परेका थिए। पारिवारिक स्रोतका अनुसार उनी पछिल्लो समय ऋण र आर्थिक तनावका कारण मानसिक दबाबमा थिए। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले आर्थिक समस्याले उनी तनावमा रहेको र त्यसकै कारण आत्मदाह गरेको हुनसक्ने प्रारम्भिक निष्कर्ष रहेको बताए।
श्रेष्ठको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पठाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ.


