काठमाडौँ । चीनतर्फबाट आएको भीषण बाढीका कारण त्रिशूली नदी र आसपासका क्षेत्रमा सडक तथा पुलको पूर्वाधारमा ठूलो क्षति पुगेको छ।
सडक विभागका अनुसार धादिङ, नुवाकोट र रसुवामा करिब ५५ किलोमिटर सडक र ३५ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। क्षतिको प्रारम्भिक अनुमान करिब ३० अर्ब रुपैयाँ बराबर रहेको विभागले जनाएको छ।
सरकारले अवरुद्ध राजमार्ग तथा रणनीतिक सडक तत्काल सञ्चालनमा ल्याउन आपत्कालीन पुनर्निर्माण र बेलिब्रिज व्यवस्थापनको काम तीव्र पारेको छ। क्षतिग्रस्त सडकमा नयाँ ट्रयाक खोल्ने तथा भत्किएका पुलका स्थानमा बेलिब्रिज जडान गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ।
देवीघाटमा बेलिब्रिज जडान हुँदै
नुवाकोटको विदुरस्थित देवीघाटमा बाढीले पुल बगाएपछि अवरुद्ध यातायात सञ्चालनमा ल्याउन नेपाली सेनाले बेलिब्रिज जडानको काम थालेको छ।
सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार पुलको सिभिल संरचना निर्माणको काम विभागले गरिरहेको छ भने बेलिब्रिज जडानको प्राविधिक काम नेपाली सेनाले सम्हालिरहेको छ।
देवीघाटस्थित तादी खोलामा ६० मिटर लामो एक्रो ब्रिज जडान सुरु गरिएको सेनाले जनाएको छ। भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीले करिब ५५ मिटर लामो पक्की पुल बगाएपछि त्यही पुलको अबुटमेन्टमा नयाँ एक्रो ब्रिज जडान गर्न लागिएको हो।
देवीघाटमा पुल तयार भएपछि रसुवातर्फको यातायात तथा आवागमन सहज हुने अपेक्षा गरिएको छ।
यस्तै त्रिशूली बजार र बेत्रावतीमा पनि तत्काल बेलिब्रिज जडान गर्ने तयारी गरिएको छ। ती स्थानमा करिब ४८ मिटर लामो पुल आवश्यक पर्ने देखिएको विभागले जनाएको छ।
क्षतिग्रस्त ३५ पुलमध्ये तत्काल तीन स्थानमा बेलिब्रिज जडान गरी गल्छी–त्रिशूली–स्याफ्रुबेँसी–रसुवागढी सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
स्याफ्रुबेँसीमा ७५ मिटरको बेलिब्रिज आवश्यक
रसुवाको स्याफ्रुबेँसीमा पुल बगाएपछि करिब ७५ मिटर लामो बेलिब्रिज आवश्यक पर्ने देखिएको छ। विभाग र नेपाली सेनासँग बेलिब्रिज उपलब्ध भए पनि तल्लो खण्डको सडक अवरुद्ध रहेकाले सामग्री सम्बन्धित स्थानसम्म पुर्याउन समस्या भएको छ।
बाटो खुलेलगत्तै बेलिब्रिजका सामग्री पुर्याएर जडान सुरु गरिने विभागका प्रवक्ता न्यौपानेले जानकारी दिए।
चीन सरकारले कोराला नाकामा बेलिब्रिजका सामग्रीसमेत उपलब्ध गराएको छ। ती सामग्री नेपाल ल्याएर आवश्यकताअनुसार रसुवागढी वा अन्य क्षतिग्रस्त स्थानमा जडान गर्ने तयारी गरिएको छ।
न्यौपानेका अनुसार अहिलेको मुख्य चुनौती बेलिब्रिज जडान गर्नुपर्ने स्थानसम्म सामग्री पुर्याउन सडक खुलाउनु हो। सडक सञ्चालनमा आएपछि क्षतिग्रस्त स्थानमा बेलिब्रिज जडानको कामले गति लिनेछ।
स्थानीयको अवरोधले अस्थायी सडक निर्माणमा ढिलाइ
बाढीले थुपारेको लेदो र गेग्रानका कारण पुरानो सडक तत्काल सञ्चालनमा ल्याउन कठिन भएको छ। कतिपय स्थानमा तीनदेखि चार मिटरसम्म लेदो र गेग्रान थुप्रिएकाले त्यसलाई हटाउन लामो समय लाग्ने विभागले जनाएको छ।
यसकारण तत्काल बेत्रावतीसम्म अस्थायी सडक निर्माण गरी यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ। तर विदुर नगरपालिका–१० मा स्थानीयको अवरोधका कारण काममा केही ढिलाइ भएको विभागका प्रवक्ता न्यौपानेले बताए।
विभागले वैकल्पिक रूपमा खेतको बाटो प्रयोग गरी तत्काल ट्रयाक खोल्ने प्रयास गरे पनि स्थानीयले मुआब्जा नपाएसम्म काम गर्न नदिने अडान राखेका छन्।
स्थानीयसँगको विवाद समाधान भए दुई दिनभित्रै बेत्रावतीसम्म सडक जोड्ने विभागको योजना छ। बेत्रावतीसम्म सडक पुगेपछि धुन्चेसम्मको यातायात पहुँचसमेत सहज हुने अपेक्षा गरिएको छ।
कृष्णभीरमा नयाँ ट्रयाक खोलिँदै
यता त्रिशूली नदीमा आएको बाढीले पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरको सडक कटान गरेपछि भित्तो काटेर नयाँ ट्रयाक खोल्ने काम भइरहेको छ।
नेपाल जियोटेक्निकल सोसाइटीको प्राविधिक परामर्शमा ५.५ देखि ८ मिटरसम्म चौडाइको नयाँ ट्रयाक खोल्ने तयारी गरिएको छ। भित्तो काटेर बाटो निकाल्ने क्रममा हालसम्म २५२ मिटर ट्रयाक खन्ने काम सम्पन्न भएको छ।
नयाँ अस्थायी ट्रयाक खुलेसँगै निर्माण उपकरण तथा मेसिन आवतजावत गर्न सक्ने अवस्था बनेको छ। केही दिनको थप मर्मतपछि सवारी सञ्चालनमा ल्याउने तयारी रहेको सडक विभागले जनाएको छ।
यसैगरी बाढीका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर खण्डमा पनि आज सवारी आवागमन पूर्ण रूपमा बन्द गरी मर्मत भइरहेको विभागले जनाएको छ।


