काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणअन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले आज साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको वायुमास ओभलमा जारी खेल नेपाली समयअनुसार बिहान ७ः१५ बजेबाट सुरु भएको हो।
प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको नेपाल लगातार तेस्रो जित निकाल्दै सेमिफाइनलको यात्रा बलियो बनाउने लक्ष्यसहित मैदानमा उत्रिएको छ। नेपालले यसअघि खेलेका दुवै खेलमा प्रभावशाली प्रदर्शन गर्दै बहराइनलाई सात विकेट र आयोजक मलेसियालाई छ विकेटले पराजित गरेको थियो।
दुई खेलबाट चार अंक जोडेको नेपाल समूह ‘ए’को दोस्रो स्थानमा छ। साउदी अरेबियाले भने तीन खेलमध्ये एकमा जित र दुईमा हार व्यहोरेको छ।
नेपाल र साउदी अरेबियाबीच यसअघि दुईपटक प्रतिस्पर्धा भएकोमा नेपालले एक खेल जितेको थियो भने अर्को खेल वर्षाका कारण रद्द भएको थियो। विगतको प्रदर्शन र पछिल्लो लयका आधारमा नेपाल बलियो अवस्थामा देखिएको छ।
प्रतियोगितामा १० टोली सहभागी छन्। टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह ‘ए’मा बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन्। समूह ‘बी’मा संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, ओमान, कतार र सिङ्गापुर छन्।
समूह चरणको अन्तिम खेलमा नेपालले भदौ २३ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ। ५० ओभरको ढाँचामा हङकङविरुद्ध नेपालको प्रदर्शन भने मिश्रित छ। यसअघि भएका चार खेलमध्ये नेपालले एकमा जित र दुईमा हार व्यहोरेको छ।
दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताको विजेता टोलीले सन् २०२७ मा आयोजना हुने एसिया कपमा सिधै छनोट हुने अवसरसमेत पाउनेछ। यही लक्ष्यसहित नेपाली टोली प्रतियोगितामा सहभागी भएको हो।
सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्न नेपालका लागि आजको खेल महत्वपूर्ण मानिएको छ। साउदी अरेबियाविरुद्ध जित निकाल्न सके नेपाल अन्तिम खेलअघि नै बलियो अवस्थामा पुग्नेछ। हार वा कमजोर नतिजा आएमा भने नेपालले अन्तिम खेलको नतिजासँगै रनरेटको समीकरणमा समेत निर्भर रहनुपर्ने अवस्था आउन सक्छ।


