काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्टहाउसमा मृत फेला परेकी २५ वर्षीया निशा सुनुवारको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार दैलेखका रमेश बुढालाई पक्राउ गरिएको हो। काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार प्रारम्भिक अनुसन्धानले आर्थिक विवादका कारण हत्या भएको देखाएको छ।
प्रहरीका अनुसार रमेश बुढा पोखराबाट घर फर्किने क्रममा असार ३१ गते नयाँ बसपार्क पुगेका थिए। त्यही क्रममा सडकमा निशासँग भेट भएपछि उनी गेस्टहाउस पुगेका थिए। अनुसन्धानका क्रममा रमेशले नुहाउन गएको बेला निशाले उनको झोलाबाट एक लाख रुपैयाँ लिएर फरार भएको दाबी गरेका छन्।
त्यसपछि रमेशले आफ्ना साथीसँग सम्पर्क गरी बसपार्क क्षेत्रमै अर्को होटलमा बसेका थिए। भोलिपल्ट उनले फेरि बसपार्क क्षेत्रमा निशालाई भेटे र होटलमा जान प्रस्ताव गरे। दुवै जना होटलको कोठामा पुगेपछि पैसाको विषयमा विवाद भएको प्रहरीको भनाइ छ।
अनुसन्धानअनुसार विवाद चर्किएपछि रमेशले आफ्नो कम्मरमा लगाएको पेटीले घाँटी कसेर निशाको हत्या गरेका थिए। त्यसपछि शवलाई होटलको पलङभित्र लुकाएर फरार भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनापछि रमेशका साथी दानबहादुर शाही पनि सोही कोठामा पुगेका थिए। हालसम्मको अनुसन्धानमा शाहीलाई हत्या भएको जानकारी नभएको देखिएको प्रहरीले जनाएको छ। उनीसँग सोधपुछका लागि नियन्त्रणमा लिइए पनि अहिलेसम्म हत्यामा उनको संलग्नता नदेखिएको एसएसपी घिमिरेले बताएका छन्।
साउन ३ गते गेस्टहाउसको कोठा सफा गर्ने क्रममा दुर्गन्ध आएपछि कर्मचारीले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि गरिएको अनुसन्धानका आधारमा प्रहरीले रमेश बुढालाई काठमाडौंको महाराजगञ्जस्थित साम्बाला होटल नजिकबाट पक्राउ गरेको हो।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।


