Monday, August 17, 2026
Homeस्वास्थ्य र जीवनशैलीललितपुरमा चिकित्सकसहितको निःशुल्क एम्बुलेन्स सेवा सुरु

ललितपुरमा चिकित्सकसहितको निःशुल्क एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरपालिकाले आपत्कालीन अवस्थाका बिरामीलाई घटनास्थलमै प्रारम्भिक उपचार उपलब्ध गराउने उद्देश्यले चिकित्सकसहितको निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ।

सोमबार आयोजित कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उक्त सेवाको शुभारम्भ गरेकी हुन्।

मन्त्री मेहताले चिकित्सकसहितको एम्बुलेन्स सेवा सुरु गरेर ललितपुर महानगरपालिकाले उदाहरणीय काम गरेको बताइन्। उनका अनुसार सामान्य एम्बुलेन्स सेवाभन्दा मेडिकल अफिसरसहितको सेवा प्रभावकारी र विशेष प्रकृतिको भएकाले यसले आकस्मिक उपचारमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

आकस्मिक उपचारमा ‘गोल्डेन टाइम’ महत्वपूर्ण हुने उल्लेख गर्दै मन्त्री मेहताले ट्राफिक जाम तथा अन्य कारणले अस्पताल पुग्न ढिलाइ हुँदा बिरामीको अवस्था गम्भीर बन्न सक्ने बताइन्। घटनास्थलमै स्वास्थ्यकर्मीले प्रारम्भिक उपचार उपलब्ध गराउन सके जटिल अवस्था रोक्न सहयोग पुग्ने उनको भनाइ छ। महानगरपालिकाको स्वास्थ्यसम्बन्धी पहलमा मन्त्रालयले आवश्यक सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाइन्।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. नविशमानसिंह प्रधानले चिकित्सकसहितको एम्बुलेन्स सेवा अस्पताल पुग्नुअघि प्रदान गरिने स्वास्थ्य सेवा अर्थात् ‘प्रि-हस्पिटल केयर’ सुधारका लागि महत्वपूर्ण पहल भएको बताए।

उनका अनुसार साउन महिनामा मात्रै महानगरसँगको सहकार्यमा सञ्चालित स्वास्थ्य केन्द्रबाट १० हजार ४१ जनाले स्वास्थ्य सेवा लिएका छन्। तीमध्ये करिब ३ हजार जनाले अल्ट्रासाउन्ड सेवा लिएका छन्।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले फिलिपिन्सको माकाती सहर भ्रमणका क्रममा चिकित्सकसहितको एम्बुलेन्स सेवा देखेपछि ललितपुरमा पनि यस्तो सेवा सञ्चालन गर्ने अवधारणा अघि बढाइएको जानकारी दिए।

उनका अनुसार नवौँ नगरसभाबाट प्रस्ताव पारित गरी बजेट व्यवस्थापन गरिएको थियो। आवश्यक तयारी तथा कार्यविधि निर्माणमा समय लागेकाले सेवा औपचारिक रूपमा सोमबारदेखि सुरु गरिएको हो।

महानगरपालिकाले एम्बुलेन्समा फोन आएको १५ मिनेटभित्र घटनास्थल पुग्ने लक्ष्य राखेको छ। बिरामीको इच्छाअनुसार उनीहरूले रोजेको अस्पतालसम्म पुर्‍याउने व्यवस्था पनि गरिएको छ।

सेवा सञ्चालनका लागि ललितपुर महानगरपालिका र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य भएको छ। एम्बुलेन्सका लागि चिकित्सक उपलब्ध गराउने तथा उनीहरूको सेवा–सुविधाको खर्च महानगरपालिकाले व्यहोर्ने समझदारी भएको छ।

महानगरप्रमुख महर्जनले सेवा सञ्चालनका क्रममा देखिने समस्या तथा त्रुटिलाई सुधार गर्दै सेवा थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका