काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित हुन रुलिङ गरेका छन्।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीमा भएको व्यवस्थाअनुसार प्रधानमन्त्रीलाई सांसदका प्रश्नको जवाफ दिन निर्देशन दिएका हुन्।
सांसदहरूले समसामयिक विषय तथा सरकारको कार्यशैलीबारे सदनमा उठाएका प्रश्नको जवाफ नआएको भन्दै ध्यानाकर्षण गराएपछि सभामुखले यस्तो रुलिङ गरेका हुन्।
सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम ५६ अनुसार प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा तथा नियम ५७, ५८ र ५९ बमोजिम सांसदहरूले राखेका जिज्ञासा र प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिएका छन्।
सभामुखले बैठकमा भने, ‘प्रतिनिधि सभा नियमावलीको नियम ५६, ५७, ५८ र ५९ मा भएको व्यवस्थाबमोजिम माननीय सांसदहरूले उठाउनुभएका प्रश्नहरूको जवाफ दिन म प्रधानमन्त्रीज्यूलाई रुलिङ गर्दछु।’
प्रतिनिधि सभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था छ भने नियम ५७ देखि ५९ सम्म प्रश्नको सूचना, मर्यादा तथा जवाफ दिने प्रक्रियासम्बन्धी व्यवस्था गरिएको छ।
पछिल्लो समय सदनमा सांसदहरूले उठाएका प्रश्नको सरकारका तर्फबाट समयमै जवाफ नआएको भन्दै सांसदहरूले नियमापत्ति जनाउँदै आएका थिए। सोही विषयलाई सम्बोधन गर्दै सभामुखले प्रधानमन्त्रीलाई सदनमा उपस्थित भएर जवाफ दिन निर्देशन दिएका हुन्।


