काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
प्रहरीले श्रेष्ठलाई म्याद थपका लागि सोमबार अदालतमा उपस्थित गराएको थियो । यसअघि अदालतले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । उक्त म्याद सकिएपछि अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले थप समय माग गरेको थियो । त्यसपछि अदालतले थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
यसैबीच, श्रेष्ठको गिरफ्तारी गैरकानुनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार नै सुनुवाइ हुँदैछ । उक्त रिटको पेसी न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा तोकिएको छ ।
श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गत बुधबार पक्राउ गरेको थियो । प्रहरीले उनीविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धान भइरहेको जनाएको छ ।


