Saturday, August 8, 2026
Homeस्वास्थ्य र जीवनशैलीसिभिल अस्पतालमा लामो लाइन र ढिलाइले बिरामी हैरान

सिभिल अस्पतालमा लामो लाइन र ढिलाइले बिरामी हैरान

काठमाडौं। नयाँ बानेश्वरस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा सेवा प्रवाह प्रभावकारी हुन नसक्दा बिरामीहरू लामो समय लाइनमा बस्न र केहीले सेवा नै नलिई फर्किनुपर्ने अवस्था रहेको गुनासो गरेका छन्।

उपचारका लागि बिहानै अस्पताल पुग्ने बिरामीहरूले ओपीडी टिकटका लागि लामो लाइन बस्नुपर्ने र चिकित्सकलाई देखाउन बिहान ९ बजेसम्म कुर्नुपर्ने बाध्यता रहेको बताएका छन्।

कीर्तिपुरबाट उपचारका लागि पुगेकी सविता थपलियाले बिहानै अस्पताल पुगे पनि टिकट र उपचारका लागि घण्टौँ कुर्नुपरेको बताइन्। यस्तै, सरकारी कर्मचारी नविन्द्र सिंह धामीले क्यूआरमार्फत भुक्तानी गर्न नसक्दा नगद अभावका कारण टिकट लिन नपाएको गुनासो गरे।

बिरामीहरूका अनुसार टिकट, चिकित्सकसँग परामर्श, रिपोर्ट जाँच, उपचार शुल्क भुक्तानी तथा औषधि प्राप्त गर्न पनि छुट्टाछुट्टै लाइनमा बस्नुपर्ने अवस्था छ। अस्पतालमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा महिलाका लागि छुट्टै लाइनको व्यवस्था नभएको उनीहरूको भनाइ छ।

अनलाइन टिकट प्रणाली रहेको भए पनि टिकट केही समयमै सकिने भएकाले त्यसबाट पनि सहज सेवा लिन नसकिएको बिरामीहरूले बताएका छन्। उनीहरूले टोकन प्रणाली लागू गरी लाइन व्यवस्थापन सुधार गर्न सुझाव दिएका छन्।

सरकारले जारी गरेको अस्पताल सेवा सुधार कार्यविधि, २०८२ मा अनलाइन बुकिङ, क्यूआरमार्फत भुक्तानी, उच्च गतिको इन्टरनेट, प्रभावकारी भिड व्यवस्थापन र समयमै सेवा प्रवाहको व्यवस्था गर्नुपर्ने उल्लेख भए पनि ती व्यवस्था पूर्ण रूपमा कार्यान्वयन नभएको देखिएको छ।

सिभिल अस्पतालका अनुसार दैनिक एक हजारदेखि एक हजार दुई सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन्। अस्पतालले बिहान ७ बजेदेखि ओपीडी टिकट वितरण सुरु हुने र बिहान ९ बजेदेखि चिकित्सकले ओपीडी सेवा दिने जनाएको छ।

अस्पतालकी शाखा अधिकृत रञ्जु रेग्मीले चिकित्सकहरू पहिले भर्ना भएका बिरामीको राउण्डमा जाने भएकाले त्यसपछि ओपीडी सेवा सुरु हुने बताइन्। उनले अस्पतालको क्षमताभन्दा सेवाग्राहीको चाप बढी रहेको स्वीकार गर्दै सेवा सुधारका लागि प्रशासनले आवश्यक प्रयास गरिरहेको र प्राप्त गुनासो सम्बोधन गर्दै आएको जानकारी दिइन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका