नारायणगढ । चितवनमा चालु साउनमा दुई जनामा डेङ्गु र छ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ।
जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लाका स्थानीय दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो। कालिका नगरपालिकाकी एक महिला र इच्छाकामना गाउँपालिकाका एक पुरुषमा डेङ्गु देखिएको छ।
त्यस्तै, जिल्लाका स्थानीय छ जनामा स्क्रब टाइफस पुष्टि भएको छ। भरतपुर महानगरपालिकाका एक पुरुष र चार महिलासहित पाँच जना तथा रत्ननगर नगरपालिकाका एक पुरुषमा सङ्क्रमण देखिएको कार्यालयले जनाएको छ।
अन्य जिल्लाबाट उपचारका लागि चितवन आएका दुई जनामा डेङ्गु र २८ जनामा स्क्रब टाइफस पुष्टि भएको छ। यससँगै साउनमा चितवनमा अभिलेख भएका डेङ्गु सङ्क्रमितको सङ्ख्या चार र स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ३४ पुगेको छ।
जनस्वास्थ्य कार्यालयका अनुसार हालसम्म डेङ्गुका १७८ र स्क्रब टाइफसका २११ जनाको परीक्षण गरिएको छ। दुवै रोगका कारण हालसम्म चितवनमा कुनै व्यक्तिको मृत्यु नभएको भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए।
वर्षायाममा डेङ्गुको सङ्क्रमण बढ्न सक्ने भएकाले कार्यालयले ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको छ। जिल्लाका स्थानीय तहसँगको समन्वयमा अभियान सुरु गरिएको हो।
इच्छाकामना गाउँपालिकाबाट अभियान सुरु गरिएको र अन्य पालिकामा पनि अभियानसँगै सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको केसीले बताए। अभियानमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधिलगायत सहभागी छन्। उनीहरूले डेङ्गुबारे सचेतना फैलाउनुका साथै लामखुट्टेका लार्भा खोजी नष्ट गर्ने काम गरिरहेका छन्।
डेङ्गुको मुख्य सिजन भएकाले लामखुट्टेले फुल पार्न सक्ने स्थानमा पानी जम्न नदिन केसीले आग्रह गरेका छन्। घरआँगन तथा वरपरका झाडी, टायर, गमला र अन्य पानी जम्न सक्ने स्थानमा नियमित निगरानी गरी सफा राख्नुपर्ने उनको सुझाव छ।
स्क्रब टाइफस पनि यही समयमा बढी सक्रिय हुने भएकाले घरवरपर झाडी नराख्ने, सरसफाइ गर्ने तथा घाँस काट्दा, खेतबारी वा जङ्गलमा जाँदा सावधानी अपनाउन उनले आग्रह गरेका छन्। झाडी तथा घाँस काट्न जाँदा शरीर ढाक्ने कपडा लगाउन र किर्नाको टोकाइबाट जोगिन आवश्यक सावधानी अपनाउनुपर्ने उनले बताए।
वर्षायामसँगै डेङ्गु र स्क्रब टाइफसको जोखिम बढ्ने भएकाले ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा शरीरमा बिमिरा देखिएमा तत्काल स्वास्थ्य संस्थामा परीक्षण गराउन कार्यालयले आग्रह गरेको छ।
गत आवमा २१६ जनामा डेङ्गु, ६२१ जनामा स्क्रब टाइफस
जनस्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म चितवनका २१६ जनामा डेङ्गु र ६२१ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको थियो। अन्य जिल्लाबाट उपचारका लागि आएका बिरामीसमेत जोड्दा डेङ्गुका २७४ र स्क्रब टाइफसका ८९३ सङ्क्रमित अभिलेखमा रहेका थिए।
गत आवमा स्थानीय तहमध्ये डेङ्गु सङ्क्रमितको सङ्ख्या रत्ननगर नगरपालिकामा सबैभन्दा बढी ८७ जना थियो। भरतपुर महानगरपालिकामा ५६ र खैरहनी नगरपालिकामा ३५ जना सङ्क्रमित भएका थिए।
स्क्रब टाइफसका सङ्क्रमित पनि रत्ननगरमा सबैभन्दा बढी २४६ जना थिए। खैरहनी नगरपालिकामा ११७ र भरतपुर महानगरपालिकामा ९० जनामा सङ्क्रमण पुष्टि भएको थियो।
उक्त अवधिमा डेङ्गुका १० हजार ५२३ र स्क्रब टाइफसका ११ हजार ४१९ जनाको परीक्षण गरिएको थियो। गत आवमा पनि यी दुवै रोगका कारण चितवनमा कुनै व्यक्तिको मृत्यु नभएको कार्यालयले जनाएको छ।


