काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका लागि संस्थापनइतर समूहको चुनदेवीस्थित सम्पर्क कार्यालयमा छुट्टै कार्यकक्ष स्थापना गरिएको छ। कार्यकक्षको बाहिर र भित्र राखिएको नेमप्लेटमा ‘सभापति शेरबहादुर देउवा’ उल्लेख गरिएको छ।
पाँच महिनाको सिंगापुर बसाइपछि बिहीबार स्वदेश फर्किएका देउवालाई संस्थापनइतर समूहका नेता तथा कार्यकर्ताले विमानस्थलमा बाजागाजासहित स्वागत गरेका थिए। त्यसपछि उनलाई चुनदेवीस्थित सम्पर्क कार्यालयमा पुर्याइएको थियो। भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आक्रमणमा परेपछि देउवा उपचारका लागि सिंगापुर गएका थिए।
गत माघ १ गते सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा चयन भइसकेका छन्। निर्वाचन आयोग र अदालतले समेत थापाको नेतृत्वलाई मान्यता दिइसकेको अवस्था छ।
यद्यपि, कांग्रेसको संस्थापनइतर समूहले थापालाई सभापतिका रूपमा स्वीकार गरेको छैन। विशेष महाधिवेशनको निर्णयविरुद्ध परेको पुनरावलोकन निवेदनमा सर्वोच्च अदालतले हालै सुनुवाइको अनुमति दिएपछि कांग्रेसभित्रको नेतृत्व विवाद थप पेचिलो बनेको छ।
देउवाका लागि ‘सभापति’ उल्लेख गरिएको छुट्टै कार्यकक्ष स्थापना गरिनुलाई संस्थापनइतर समूहले उनको नेतृत्वलाई निरन्तरता दिएको संकेतका रूपमा हेरिएको छ। यससँगै कांग्रेसभित्र संस्थापन र संस्थापनइतर समूहबीचको शक्ति संघर्ष पुनः सतहमा आएको छ।


