मोरङ, २४ असार: मोरङ जिल्लालाई औपचारिक रूपमा पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालयले सोमबार आयोजित विशेष कार्यक्रममा उक्त घोषणा गरेको हो।
स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका १५९ वटा वडामा जन्मेपछि १५ महिनाभित्रका १६ हजार ५५१ र १६ देखि ५९ महिनासम्मका ४४ हजार ३४ जना बालबालिकालाई आवश्यक सबै खोप दिइएको छ। यसै आधारमा मोरङलाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषित गरिएको हो।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अजम्बर राईले खोप सुनिश्चितताका लागि निरन्तर अभियान आवश्यक रहेको बताउँदै सबै सरोकारवालालाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।
स्वास्थ्य कार्यालयका प्रमुख तथा समितिका सदस्य सचिव सागर प्रसाईं, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायतले निर्देशनालयको मापदण्डअनुसार आवश्यक सूचकहरू पूरा भइसकेको जानकारी दिँदै आगामी दिनमा पनि खोप अभियानलाई निरन्तरता दिइने बताए।
उनीहरूका अनुसार पूर्णखोप सुनिश्चितता कार्यक्रमले बालबालिकामा मृत्यु दर घटाउने, रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने र समग्र बालस्वास्थ्यमा सुधार ल्याउने अपेक्षा गरिएको छ।


