काठमाडौं । कम्बोडियाको विदेश तथा अन्तरराष्ट्रिय सहयोग मन्त्रालयकी स्थायी सचिव तथा प्रधानमन्त्रीकी निजी सल्लाहकार इट सोफियाले नेपालको आँखा उपचार सेवा र आँखा स्वास्थ्य शिक्षाको उच्च प्रशंसा गरेकी छन्।
थाइल्यान्डका लागि नेपाली राजदूत (कम्बोडियाका समेत) धनबहादुर ओलीसँग हालै भएको भेटवार्तामा उनले नेपालले कम्बोडियामा सञ्चालन गरेको निःशुल्क आँखा उपचार शिविरको सफलताप्रति आभार व्यक्त गर्दै नेपालको स्वास्थ्य सेवाको खुलेर प्रशंसा गरिन्।
थाइल्यान्डस्थित नेपाली राजदूतावासका अनुसार असार २० र २१ गते कम्बोडियाको कम्पोङ चाम प्रान्तमा सञ्चालन गरिएको निःशुल्क आँखा उपचार शिविरबाट ठूलो सङ्ख्यामा स्थानीय नागरिक लाभान्वित भएका थिए। नेपाल नेत्रज्योति सङ्घ, लुम्बिनी आँखा संस्थान तथा अनुसन्धान केन्द्र (रण अम्बिका शाह आँखा अस्पताल), कम्बोडियाका साझेदार संस्था तथा नेपाली राजदूतावासको संयुक्त प्रयासमा उक्त शिविर सम्पन्न भएको थियो।
भेटका क्रममा दुवै पक्षले आँखा स्वास्थ्यसहित जनस्वास्थ्य, शिक्षा, कृषि, पर्यटन तथा आपसी हितका अन्य क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा छलफल गरेका थिए। साथै दुई देशबीच आर्थिक तथा व्यापारिक सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा पनि विचार आदानप्रदान भएको थियो।
राजदूत ओलीले कम्बोडियाको आँखा स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धिका लागि नेपाल तालिम तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन तयार रहेको बताए। उनले कम्बोडियामा यस्ता सेवाको उच्च मागलाई ध्यानमा राख्दै निकट भविष्यमा अर्को निःशुल्क आँखा उपचार शिविर सञ्चालन गर्न पनि नेपाल इच्छुक रहेको जानकारी दिए।
भेटमा दुवै पक्षले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी र कम्बोडियाको विश्वप्रसिद्ध सांस्कृतिक तथा धार्मिक सम्पदा अङ्कोर वाटबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै बौद्ध तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका थिए।
नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरको प्राविधिक सहयोग र थाइल्यान्डस्थित नेपाली राजदूतावासको समन्वयमा सम्पन्न उक्त दुईदिने शिविरमा १,००२ जना कम्बोडियाली नागरिकले निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा प्राप्त गरेका थिए।
नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रका अनुसार शिविरमा सेवा लिनेमध्ये ६४१ जना महिला र ३६१ जना पुरुष थिए। आँखा परीक्षणपछि ३७३ जनालाई निःशुल्क औषधि, ४०७ जनालाई चश्मा तथा १९२ जनालाई औषधिसहित चश्मा वितरण गरिएको थियो।
शिविरका क्रममा ९३ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको थियो। उनीहरूलाई थप उपचारका लागि स्थानीय अस्पतालमा रेफर गरिएको डा. मिश्रले जानकारी दिए।
उक्त शिविरको संयुक्त रूपमा नेपाली राजदूत धनबहादुर ओली र कम्पोङ चाम प्रान्तका गभर्नर उन चान्दाले उद्घाटन गरेका थिए।


