सर्लाही । धनुषामा यात्रुबाहक बस र अटोरिक्सा एकआपसमा ठोक्किँदा एउटै परिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ भने दुई बालबालिका गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार विराटनगरबाट धनगढीतर्फ जाँदै गरेको सु.प्र. ०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटोरिक्सालाई शनिबार साँझ ठक्कर दिएको हो। दुर्घटना धनुषाको गणेशमान चारनाथ नगरपालिका–१, वीरेन्द्र बजार नजिक पूर्व–पश्चिम राजमार्गमा भएको बताइएको छ।
दुर्घटनामा गणेशमान चारनाथ–१, भरतपुरका ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर र अटोरिक्सा चालक अन्दाजी ४० वर्षीय डम्बर राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते १४ वर्षीय शीतल मगर र ९ वर्षीय रोशन मगरलाई उपचारका लागि जनकपुरधामस्थित न्युरो अस्पतालमा भर्ना गरिएको छ।
दुर्घटनाको विस्तृत कारण पत्ता लगाउन प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।


