भक्तपुर । पार्किङमा रहेका सवारीसाधनबाट पेट्रोलियम पदार्थ चोरी गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
चाँगुनारायण नगरपालिका–३ झौखेलस्थित एक इँटाभट्टामा रोकिएको निसान ट्रकबाट डिजेल चोरी गर्दै गरेको अवस्थामा स्थानीयवासीले चार जनालाई समातेका थिए। पक्राउ परेकाहरूलाई स्थानीयले प्रहरीलाई बुझाएका हुन्।
भक्तपुर प्रहरीले पक्राउ परेकाको परिचय सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–११ घर भई हाल च्यामासिंह बस्ने ३२ वर्षीय बस चालक सरोज सुनार, बसका सहचालक चाँगुनारायण–७ बागेश्वरी बस्ने ३२ वर्षीय अमीर लामा, सूर्यविनायक नगरपालिका–७ बस्ने २७ वर्षीय सुमन तामाङ र काठमाडौँ थानकोट घर भई हाल च्यामासिंह बस्ने २७ वर्षीया पूर्णिमा महर्जन रहेका छन्।
बा४ख ४२८० नम्बरको बसमा आएका उनीहरूले करिब ४० लिटर डिजेल चोरी गर्ने क्रममा पक्राउ परेको प्रहरीले जनाएको छ। घटनाक्रममा केही स्थानीयले कुटपिट गर्दा तीन जना घाइते भएका थिए। उनीहरूको भक्तपुर अस्पतालमा उपचार गरी पछि प्रहरी हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ।
हाल पक्राउ परेकाहरूमाथि चोरीसम्बन्धी थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।


