काठमाडौँ — नेपाल खुला विश्वविद्यालयको रिक्त उपकुलपति र कुलसचिव पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले दरखास्त आह्वान गरेको छ। समितिले आज सूचना प्रकाशित गर्दै योग्य र इच्छुक उम्मेदवारहरूलाई आवेदन दिन आग्रह गरेको हो।
नेपाल खुला विश्वविद्यालय ऐन, २०७३ को दफा १८ को उपदफा (१) बमोजिम उपकुलपति तथा सोही ऐनको दफा १९ को उपदफा (१) बमोजिम कुलसचिव नियुक्तिका लागि यो प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ।
सूचनाअनुसार छनोट प्रक्रिया ‘नेपाल खुला विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८२’ अनुसार सञ्चालन हुनेछ।
इच्छुक तथा योग्य उम्मेदवारहरूले २०८२ पुस ३० गते कार्यालय समयभित्र आवेदन पेस गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।



