काठमाडौं । एलपी ग्यासको अभाव झेलिरहेका उपभोक्ताले काठमाडौंका विभिन्न स्थानबाट प्रत्यक्ष रूपमा ग्यास सिलिन्डर पाउन थालेपछि राहत महसुस गरेका छन्। नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा विभिन्न कम्पनीका ग्यास बिक्री वितरण गरिएको हो।
काठमाडौं महानगरपालिका–३२ जडीबुटीकी तारा तामाङ लामो समयदेखि ग्यासका लागि भौतारिँदै आएकी थिइन्। नजिकका बिक्रेताकहाँ पटकपटक नाम टिपाउन गए पनि सिलिन्डर पाउन नसकेकी उनले बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट भरिएको सिलिन्डर पाएपछि राहत महसुस गरेको बताइन्।
‘ग्यासका लागि धेरै भौतारिँदै हिँडियो। जडीबुटी आसपासका ग्यास बिक्रेताले नाम टिप्नसमेत मान्दैनथे,’ उनले भनिन्, ‘कम्तीमा यहाँ एक थान भरिएको सिलिन्डर पाउँदा पनि ठूलो राहत भएको छ।’
अनामनगरका रोजन मल्लले पनि केही समय लाइन बसेपछि ग्यास पाए। एकै स्थानमा विभिन्न कम्पनीका ग्यास बिक्रीको व्यवस्था गरिएकाले आफूजस्ता विद्यार्थीलाई सहज भएको उनले बताए।
त्यस्तै, रातोपुलबाट बबरमहल ग्यास लिन पुगेकी विनिता त्रिपाठीले एक सातादेखि अभाव झेल्दै आए पनि भरिएको सिलिन्डर पाएपछि केही समयका लागि राहत भएको बताइन्। उनले उपभोक्ताले आफ्नै नजिकका बिक्रेताबाट सहज रूपमा ग्यास पाउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरिन्।
बबरमहलमा नौ कम्पनीका ग्यास
बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ग्यास वितरण गरिएको छ।
नेपाल आयल निगमका उपप्रबन्धक रविलाल घिमिरेका अनुसार बिहान १० बजेदेखि विभिन्न कम्पनीका ग्यास नियमित रूपमा बिक्री वितरण गरिएको थियो। भरिएको सिलिन्डर लिन सर्वसाधारणको उल्लेख्य भीड लागेको र सुरक्षाकर्मीसँग समन्वय गरी वितरणलाई व्यवस्थित गरिएको उनले बताए।
पाँच स्थानबाट ग्यास वितरण
निगमका प्रबन्ध निर्देशक नागेन्द्र साहका अनुसार काठमाडौं उपत्यकाका पाँच स्थानबाट सर्वसाधारणलाई ग्यास उपलब्ध गराइएको छ। तोकिएका केन्द्रमा आउने उपभोक्तालाई सकेसम्म रित्तो हात नफर्काउने गरी भरिएको सिलिन्डर उपलब्ध गराउन ग्यास उद्योगीसँग समन्वय भइरहेको उनले बताए।
निगमका अनुसार टेकुस्थित निगम परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ र हिमाल ग्यास बिक्री वितरण गरिएको छ।
त्यस्तै यातायात कार्यालय परिसर, चाबहिलबाट नेपाल र एचपी, कीर्तिपुरको राधास्वामी परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीमाया, श्रीकृष्ण, साइबाबा र ओम तथा बसुन्धराको राधास्वामी परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, भानु र ओम ग्यास वितरण गरिएको निगमले जनाएको छ।
ग्यासको नियमित आपूर्ति सहज नहुँदा उपभोक्ता बिक्रेताकहाँ नाम टिपाएर लामो समय कुर्नुपर्ने अवस्था रहेको थियो। सरकारले विभिन्न स्थानमा प्रत्यक्ष बिक्रीको व्यवस्था गरेपछि तत्कालका लागि उपभोक्तालाई केही राहत मिलेको छ।


