Saturday, August 15, 2026
Homeसामाचारग्वाझाओमा एनआरएनएको ११औँ एसिया प्यासिफिक सम्मेलन सुरु

ग्वाझाओमा एनआरएनएको ११औँ एसिया प्यासिफिक सम्मेलन सुरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ‘आरोहण २०२६’ चीनको ग्वाझाओमा औपचारिक रूपमा सुरु भएको छ।

‘हामीसँगै उठ्छौँ, अगाडि बढ्छौँ’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सम्मेलनमा प्रतिनिधिसभाका विपक्षी दलका नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीमप्रसाद आङ्देम्बेको प्रमुख आतिथ्यता रहेको छ।

ग्वाझाओस्थित क्राउन प्लाजा ग्वाझाओ सिटी सेन्टर होटलमा सुरु भएको सम्मेलनमा विभिन्न राजनीतिक दलका सचेतक तथा सांसद, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, चीनस्थित नेपाली कूटनीतिक नियोगका प्रमुख, एनआरएनएका संस्थापक तथा अग्रज नेतृत्वलगायतको सहभागिता रहेको छ।

सम्मेलनमा नेपाल र एसिया प्यासिफिक क्षेत्रमा रहेका गैरआवासीय नेपालीबीचको सम्बन्ध थप सुदृढ गर्ने, नेपालको आर्थिक विकासमा डायस्पोराको पूँजी, ज्ञान, सीप र अनुभव परिचालन गर्ने तथा एनआरएनएको संस्थागत भूमिकालाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ।

लगानीदेखि सुरक्षित वैदेशिक रोजगारीसम्म छलफल

सम्मेलनअन्तर्गत व्यापार, लगानी तथा लजिस्टिक क्षेत्रका अवसर, एसिया प्यासिफिक क्षेत्रका राष्ट्रिय समन्वय परिषद्को सुदृढीकरण, सुरक्षित वैदेशिक रोजगार तथा पुनःएकीकरण, नेपाली नागरिकताको निरन्तरता र गैरआवासीय नेपाली नागरिकतासम्बन्धी अधिकार, पर्यटन प्रवद्र्धन तथा महिला र युवा नेतृत्वलगायत विषयमा विभिन्न सत्र सञ्चालन हुनेछन्।

गैरआवासीय नेपाली नागरिकता तथा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको प्रभावकारी कार्यान्वयन, वैदेशिक रोजगारीमा रहेका नेपालीको अधिकार संरक्षण, सीमापार मानव बेचबिखन नियन्त्रण तथा नेपालमा लगानी र पर्यटन प्रवद्र्धनमा डायस्पोराको भूमिका सम्मेलनका महत्वपूर्ण विषयका रूपमा रहेका छन्।

महिला तथा युवा सत्रमा महिला उद्यमशीलता, नेतृत्व विकास तथा दोस्रो पुस्ताका नेपालीको पहिचान, सहभागिता र विश्वव्यापी सञ्जाल विस्तारबारे छलफल हुनेछ। साथै, एनआरएनएको संस्थागत पहिचान र ब्रान्डिङलाई थप सुदृढ गर्दै संघलाई नयाँ पुस्तासँग जोड्ने विषयमा पनि विशेष छलफल गरिनेछ।

१६ अगस्टमा ‘ग्वाझाओ घोषणापत्र’

सम्मेलनका विभिन्न प्लेनरी तथा विषयगत सत्र सम्पन्न भएपछि १६ अगस्टमा ‘ग्वाझाओ घोषणापत्र २०२६’ जारी गरिनेछ। घोषणापत्रमा सम्मेलनमा उठेका प्रमुख विषय, नीति तथा प्राथमिकताहरू समेटिनेछन्।

घोषणापत्रमार्फत नेपाल सरकार तथा सम्बन्धित सरोकारवालासमक्ष आवश्यक सुझाव तथा मागसमेत प्रस्तुत गरिने आयोजकले जनाएको छ।

सम्मेलनको अन्तिम दिन १७ अगस्टमा सहभागी प्रतिनिधिहरूका लागि चीनको गुआङ्डोङस्थित प्रसिद्ध गुलोङक्सिया प्राकृतिक क्षेत्रमा आधिकारिक अवलोकन भ्रमणको कार्यक्रम तय गरिएको छ।

एनआरएनएको ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ‘आरोहण २०२६’ले एसिया प्यासिफिक क्षेत्रमा रहेका नेपाली समुदायबीचको एकता र सहकार्यलाई थप मजबुत बनाउँदै नेपालको आर्थिक समृद्धि, लगानी, पर्यटन, ज्ञान तथा सीप हस्तान्तरण र सुरक्षित वैदेशिक रोजगारीका क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका